काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दलीय सहमतिकै आधारमा पारित गर्ने प्रयास भइरहेको बताएका छन्।
सभामुख महराले दलहरुबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई संसद् बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको पनि बताए। बुधबार संसद् बैठकपछि संघीय संसद् भवन परिसरमा पत्रकारलाई प्रतिक्रिया दिँदै सभामुख महराले सकेसम्म सहमतिमै नियमावली बनाउन प्रयास गर्ने बताए।
बुधबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने भन्दै राखेको अडानको विपक्षमा प्रमुख प्रतिपक्ष कांग्रेस उभिएपछि नियमावलीमा विवाद भएको थियो।
एमालेका नेता भानुभक्त ढकालले पनि सहमतिमै अगाडि बढाउन प्रतिनिधिसभा नियमावलीको मस्यौदा बुधबार कार्यसूचीबाट हटाउने निर्णय गरिएको बताए।
कांग्रेसले अभियोग पुष्टि भएको फैसला अदालतले नगरेसम्म सांसदहरुलाई निलम्बन गर्न नहुने भन्दै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गराएको छ। त्यस्तै, उसले विषयगत समितिको संख्या घटाउन पनि माग गरेको छ।
मस्यौदा समितिमा १० वटा विषयगत समिति बनाउने प्रस्ताव गरिएकोमा कांगेसले असहमति जनाउँदै यसमा पनि संशोधन प्रस्ताव दर्ता गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।