राजविराज– कच्ची धावन मार्गका कारण अवरुद्ध रहेको सप्तरीको राजविराज विमानस्थल पाँच दशकपछि पुनः सञ्चालनमा आउने पक्का भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एक हप्ताभित्र विमान सञ्चालन गर्न सक्ने गरी तयारी भइरहेको छ।
१ हजार ५ सय मिटर लम्बाइ र ३० मिटर चौडा पक्की धावन मार्ग, ९० मिटर लम्बाइ र ६० मिटर चौडा एप्रोन तथा १ सय ५ मिटर लम्वाई र २० मिटर चौडा ट्याक्सी वे तयारी अवस्थामा छ। विमानस्थल निर्माणको काम कान्छाराम, रमण र देव एण्ड शायर जेभीले भ्याट बाहेक २६ करोडमा ठेक्का लिएको थियो।
रन वे, ट्याक्सी वे र एप्रोनको पिचिङ कार्य सकिएको आयोजना प्रमुख रामएकवाल महतोले बताए। ढल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ। ‘विमान सञ्चालन गर्ने हो भने दुई दिनभित्र हामी तयार गर्न सक्छौ,’ उनले भने, ‘तर, एक हप्ताभित्र सम्पूर्ण काम फिनिसिङ गरी हस्तान्तरण गर्ने योजना छ।’
रन वेमा मार्किङ गर्ने र टावर स्थापना गर्ने काम मात्रै बाँकी रहेकाले लगभग काम सकिएको महतोले बताए। तर, रन वेबाहिर रहेका करिब एक दर्जन इँटाभट्टाका चिम्नीका कारण पूर्वतर्फबाट विमान उडान र अवतरण जोखिमपूर्ण रहेको उनको भनाइ छ। भट्टा मालिकलाई आफूले मौखिक रुपमा चिम्नी हटाउन आग्रह गरे पनि स्थानीय सरकार र प्रशासनले यस विषयमा गम्भीर भएर लाग्नुपर्ने महतोले बताए।
कच्ची धावनमार्गका कारण नियमित विमान नचलेपछि ५७ वर्षदेखि यो विमानस्थल अलपत्र अवस्थामा थियो। २०७३ साल असोजदेखि सुरु भएको निर्माण कार्य हाल आएर सम्पन्न भएको छ। २०७४ को मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भए पनि विभिन्न कारणले समयमा काम सम्पन्न गर्न नसकिएको निर्माण कम्पनीले जनाएको छ।
जेठभित्रै विमान स्थलको पिचिङ सम्पन्न गर्ने लक्ष्य राखिए पनि लगातारको वर्षा, हावाहुरी, विभिन्न समयका आन्दोलन र अत्यधिक चिसोका कारण निर्माण कम्पनीले अपेक्षा अनुसार काम गर्न नसकेकाले केहि ढिलो भएको महतोले जानकारी दिए।
‘बाढी र हावाहुरीका कारण कतिपय समयमा काम गर्नै सकिएन,’ उनले थपे, ‘नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियानका क्रममा प्रहरीको गोली लागि गत फागुन २३ गते ५ जनाको ज्यान गएपछि भएका बन्द हडतालले पनि काम प्रभावित भएकाले सम्झौताभित्र काम पूरा भएन।’
उनका अनुसार प्राधिकरण र निर्माण कम्पनीका विचमा कामको स्वीकृति, डकुमेन्ट तयारीमा समेत केही समय लागेकाले सोचे जस्तो गतिमा काम हुन नसकेको हो।
तत्कालीन यातायात मन्त्री गणेशमान सिंहले २०१६ सालमा राजविराज विमानस्थलको उद्घाटन गरेका थिए। कच्ची धावनमार्ग भएका कारण विमान स्थलमा नियमित सेवा उपलब्ध हुन सकिरहेको थिएन। यस विमानस्थलवाट २०५२ बैसाखबाट नियमित उडान भएको छैन। त्यसअघि सोमबार र बिहीबार गरी हप्ताको दुई पटक काठमाडौं उडान हुँदै आएको थियो। दुईदिने उडान पनि बन्द भएपछि तत्कालीन सगरमाथा अञ्चलका नागरिक २२ वर्षदेखि विमान चढ्न विराटनगर र जनकपुर जाने गरेका छन्।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले विकास निर्माणका दृष्टिकोणले चौतर्फी महत्वको राजविराज विमानस्थल सञ्चालनमा आउनु गौरवको विषय भएको बताए।
राजविराज नगरपालिकाबाट ४ किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा (साबिक इटहरी विष्णुपुर गाविस) मा रहेको राजविराज विमानस्थलको निर्माणका लागि स्थानीय रुद्रनारायाण सिंहले ५५ बिघा जग्गा उपलब्ध गराएका थिए। सुरुको नाम राजविराज विमानस्थललाई सरकारले परिवर्तन गरी हाल गजेन्द्रनारायण सिंह विमानस्थल बनाएको छ।
विमानस्थलमा कार्यालय प्रमुख, कार्यालय सहयोगी र दुई चौकीदार गरी चार जना कर्मचारीको दरबन्दी छ। प्रमुख र कार्यालय सहयोगी विराटनगर विमानस्थलमा काजमा छन् भने दुई चौकीदार विमानस्थलमै कार्यरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।