काठमाडौं– हामी माझबाट २०७४ साल त बिदा भइसकेको छ तर गत वर्षका केही घटनाले यो साल पनि आफ्नो प्रभाव जमाइराख्ने देखिएको छ। जसरी सन् २०१६ का केही अन्तर्राष्ट्रिय घटनाक्रमले २०१७ मा प्रभाव र उपस्थिति जमायो।
गत वर्ष सबैभन्दा चर्चाको शिखरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै रहे। उनलाई पछ्याउँदै चिनियाँ राष्ट्रपति सि जिनपिङ माओ बराबरको दर्जा पाउँदै अर्को कार्यकालको राष्ट्रपति बन्न पाउने खबरले विश्व ततायो। उत्तर कोरिया र अमेरिकाबीच यो वर्ष हुने वार्ताले पनि २०७४ लाई विशेष बनायो भने कूटनीतिमा भारत र चीनबीचको दोक्लामको विषयले पनि चासो एवं चर्चा पायो।
न्युज मेकर ट्रम्प
सत्ता सम्हालेदेखि नै विवाद र चर्चामा आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको अन्तिमतिर रसियासँगको सम्बन्धलाई लिएर चर्चामा रहे। सिरियामा भएको रासायनिक हतियार प्रयोगको विषयमा ट्रम्पले अमेरिकाले रसियाली जवाफी कारबाही सहेर नबस्ने भन्दै अमेरिका र रसियाबीचको सम्बन्ध शीतयुद्धयताकै न्युन बिन्दुमा पुगेको ट्विट् गरेका थिए। साथै, वर्षको मध्यतिर उनले 'डिभीबाट रद्दीको टोकरीमा फालिएका मानिसहरु अमेरिका आइरहेको' भन्दै टिप्पणी समेत गरेका थिए। यसका अलवा आफ्नो क्याबिनेटमा व्यापक हेरफेर गरेर उनी समाचारको केन्द्रसमेत बने।
अमेरिकी चुनावमा रसियन घुसपैठ
डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि रसियाले यसमा घुसपैठ गरेको आरोप र यस सम्बन्धी लेखिएको किताब र अनुसन्धानले पनि २०७४ मा निरन्तरता पायो। यो विषयमा छलफल र अनुसन्धान बाँकी रहेकाले २०७५ मा पनि यो विषयले चर्चा र निरन्तरता पाउने देखिन्छ।
सिरिया संकट
राष्ट्रपति बसर अल–असदको राजीनामाको माग गर्दै सन् २०११ मा सुरु भएको सिरियाली गृहयुद्धले विभिन्न मोडहरु लिँदै ‘सिरियाली संकट’ले भयावह रुप लिएको छ। सिरियाभित्रको समस्यामा शक्ति राष्ट्रहरुको प्रवेशले पनि यसले व्यापकता पाएको मान्ने धेरै छन्।
वर्ष २०७४ मा रुस तथा इरानको सहयोगमा सिरियाली सेनाले विद्रोही विरुद्धको आक्रमणलाई तीव्रता दिएपछि लाखौँ मानिस त्यसको चपेटामा परे। हजारौँले ज्यान गुमाएँ। कैयौँ घाइते भए। त्यसमाथि लाखौँ मानिस घर छोडेर अन्य स्थान तथा छिमेकी देशमा शरणार्थी जीवन बिताइरहेका छन्।
यसैबीच आक्रमणका क्रममा रासायनिक हतियारको प्रयोग गर्ने गरेको तथ्य खुलेपछि यसपटक सिरियामा थप संकट चुलिएको छ। यसअघि सिरियाले आफूले रासायनिक हतियार प्रयोग नगरेको बताउँदै आएको भए पनि गत साता मात्रै पूर्वी गुटामा ७० जनाभन्दा बढीको मृत्यु हुनेगरी गराइएको आक्रमणमा भने अमेरिका लगायत पश्चिमा राष्ट्रहरुको ध्यान लगातार परिरह्यो।
अमेरिका, बेलायत, फ्रान्सले सिरियाले आफ्नै देशका नागरिकलाई रासायनिक ग्यासको प्रयोग गरेर मारेको दाबी गर्दै त्यस्ता रासायनिक हतियारको उत्पादन, प्रसार र उपयोगलाई बन्देज लगाउन सिरियामा भएका रासायनिक हतियार भण्डारण गरिएका अखडामाथि आजैबाट आक्रमण सुरु गरेको छ।
गत मार्च ४ मा बेलायतमा पूर्वरसियन गुप्तचर सेरगेई स्क्रिपाल र उनकी छोरी युलियामाथि विष सेवन गराएर हत्या गर्ने प्रयासमा रुसको सहभागितालाई लिएर रसियासँग विश्वका अन्य शक्ति राष्ट्रहरुको सम्बन्ध चिसिएको छ। यी दुवै घटनामा रासायनिक हतियारको प्रयोग हुनु तथा सिरिया युद्धमा रसियाले प्रत्यक्ष सहयोग गरिरहेको अवस्थामा अमेरिका, बेलायत लगायत पश्चिमा राष्ट्रहरुले रुसलाई एक्ल्याउने प्रयासस्वरुप सिरियामाथि आक्रमण थालेको मान्न सकिन्छ। यसका अलावा गुप्तचर हत्याप्रयासले आजबाट सुरु भएको सिरियामाथिको आक्रमणका लागि बाटो बनाएको भनेर पनि धेरैले बुझेका छन्।
अन्ततः लगातारको संकट तथा युद्धको चपेटामा फसेको सिरिया र सिरियाली नागरिकहरु शक्ति राष्ट्रहरुको बदला साँध्ने प्रायोजनबाट उम्किएको धेरैले हेर्न चाहेका छन्।
जेरुसेलम विवादमा एक्लिएको अमेरिका
अमेरिकी राष्ट्रपति ट्रम्पले ६ डिसेम्बर २०१७ (२० मंसिर, २०७४) मा जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने घोषणा गरे। जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा स्वीकार गर्नु वास्तविकतालाई स्वीकार गरेको उनको दाबी थियो। यसलाई इजरायलले स्वागत गरे पनि विश्वभरि विरोध भयो र यसको विपक्षमा अमेरिकाका हितैषी देश पनि उभिए।
यो विषयमा संयुक्त राष्ट्रसंघ महासभामा भएको मतदानमा अमेरिकाको निर्णयको पक्षमा ९ देश थिए भने विपक्षमा १ सय २८ देश देखिए। आफ्नो विपक्षमा बहुमत आएपछि अमेरिकाले आफ्नो विपक्षमा मतदान गरेका देशलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेको थियो साथै उसले पेरिसमा भएको वातावरण सम्झौता पनि रद्दको घोषणा गरेको थियो।
मुगाबे शासनको अन्त्य
यो वर्ष जिम्बावेमा ३७ वर्षसम्म शासन गरेका रोबर्ट मुगाबे पदच्युत भए। सन् १९८० मा सत्तामा आएका मुगाबेलाई सेनाले नजरबन्दमा राखेपछि उनको अवस्थाबारे सर्वत्र चासो र चिन्ता बढेको थियो। तर, उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि भने हल्ला साम्य भएको थियो।
३७ वर्ष शासन गरेका मुगाबे आफ्नी पत्नीलाई उत्तराधिकारी बनाउने खेलमा लागेपछि उनकै पार्टीका केही प्रभावशाली नेताले सेनाको मद्दतबाट उनलाई पदच्युत गराएका थिए। पछि मुगाबे आफैंले बर्खास्त गरेका उपराष्ट्रपतिलाई सत्ता सुम्पिए।
रोहिंग्या मुसलमानको विस्थापन
म्यानमारमा चलिरहेको जातीय द्वन्द्व र रोहिंग्यामाथि भइरहेको अत्याचारका घटनाले २०७४ मा ठूलो स्थान पायो। हरेक समयजसो समाचारमा आइरहेने रोहिंग्या संकटले यो वर्ष विश्व जगतको ध्यान खिच्यो।
राखिन प्रान्तमा भड्किएको हिंसाका कारण लाखौं रोहिंग्या मुसलमान मुख्यगरी बंगलादेशसहित छिमेकी राष्ट्रमा शरण लिन बाध्य भए। हजारौंले त्यहीँ ज्यान गुमाए। रोहिंग्याप्रति भएको यस्तो व्यवहारका कारण शान्ति पुरस्कार पाएकी आङसाङ सुकी पनि विवादमा तानिइन्।
सिपिसी महाधिवेशन र सिको बढ्दो प्रभाव
२०७४ मा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय महाधिवेशन विशेष रह्यो। १९औं महाधिवेशनले थप पाँच वर्षका लागि राष्ट्रपति सि जिनपिङलाई सत्ता निरन्तरता दिन स्वीकृति दियो। महाधिवेशनले उनको विचारधारालाई पनि संविधानमा सामेल गरायो। शक्तिशाली बन्दै गएका सिलाई चिनियाँ नेता माओसँग तुलना गरेरसमेत हेर्न थालिएको छ।
दोक्लाम विवाद
भारत, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्र दोक्लाम सन् २०७४ को केन्द्रमा नै रह्यो। उक्त विवाद भारत र चीनबीच आपसी समझदारीबाट शान्तिपूर्ण तरिकाले टुंगिएको थियो। दुई देशबीचको तनाव केही हदसम्म साम्य भए पनि पूर्ण रुपमा समाधान भने भइसकेको छैन। भारत र चीनबीच दोक्लाममा मुठभेड हुन सक्ने अनुमानले विश्व राजनीति तातेको थियो।
खाडी संकट
साउदी अरबसहित युएई, बहराइन, इजिप्ट लगायतका राष्ट्रले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गर्दै नाकाबन्दीको घोषणा गरेपछि मध्यपूर्वमा संकट निम्तियो। आतंकवादलाई प्रायोजन गरेको आरोपमा ती राष्ट्रले कतारमाथि व्यापार र यात्रा प्रतिबन्ध लगाए। तर, यसैबीच अन्य देशबाट एक्लिएको कतारलाई इरानले सहयोगको हात बढाएको थियो।
-विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।