काठमाडौं– २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ वैशाखमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भनेर सपना बाँड्दा उनलाई धेरैले उडाए। २८ वर्षअघि काठमाडौं उपत्यकालाई पानी पु¥याउने सन्त नेता भट्टराईले देखेको सपना मंगलबार सुरुङ खन्ने कार्य ‘ब्रेक थ्रु’ भएसँगै साकार हुने चरणमा पुगेको छ।
मेलम्ची खानेपानी सुरुङको अन्तिम खण्ड ग्याल्थुम–सिन्धु ७.५ मंगलबार पूरा भएको मेलम्ची खानेपानी विकास समिति आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार (आज) औपचारिक रुपमा सुरुङ सम्पन्न भएको घोषणा गर्ने कार्यक्रम छ। खानेपानी मन्त्री विना मगरले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सुरुङ खन्ने कामको अन्तिम खण्ड पूरा भएसँगै दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बाचा पूरा हुने दाबी गरिन्।
मन्त्री मगरले सुरुङको प्राविधिक, पानी शुद्धीकरण लगायतका काम सम्पन्न गर्दैै दशैंअघि नै काठमाडौंबासीको धारमा पानी आउने बताइन्।
मेलम्ची नदीको बाँध निर्माणदेखि सुन्दरीजलसम्म कूल २७ दशमलव ५ किलोमिटर पूर्ण क्षमताको सुरुङ निर्माण मंगबार सकिएको हो। मुख्य सुरुङ सिन्धु, ग्याल्थुम र आम्बाथान निर्माण सम्पन्न भइसकेको छ। मेलम्ची निर्माणमा २७ अर्ब ७६ करोड रुपैयाँ लागनी भएको मेलम्ची खानेपानी विकास आयोजनका प्रमुख देवकोटाले जानकारी दिए। जसमा कूल लागतमध्ये ८० प्रतिशत एसियाली विकास बैंक र २० प्रतिशत नेपाल सरकारकोे लगानी छ।
पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ । अहिले काठमाडौंको माग ४० करोड लिटरको हाराहारीमा छ। त्यसको पूर्तिका लागि याङ्ग्री र लार्केबाट दोस्रो परियोजना छिटै सञ्चालन गर्ने तयारीमा आयोजना जुटेको छ।
समयमै काम सम्पन्न भएको भए सन् २०१७ अर्थात् अहिलेसम्म याङ्ग्र्री र लार्के खोलाको ५१ करोड लिटर पानी समेत काठमाडौं आइसक्थ्यो। तर, भुकम्प र सुरुङ निर्माणको जिम्मेवारी पाएका ठेकेदारहरुको पटकपटकको विवादका कारण निर्माण कार्य लम्बिँदै गएको थियो। अहिले भएको प्रगतिका आधारमा सन् २०२२ सम्म याङ्ग्री र लार्केको पानी पनि काठमाडौं ल्याइपुर्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ।
मेलम्ची आयोजना प्रमुख देवकोटाले दुई वटा परियोजनाको विस्तृत अध्ययन सकिएको र केही समयमा यसका लागि एसियाली विकास बैंक (एडिबी) सँग सम्झौता हुने बताए।
मेलम्ची थालनी
मेलम्ची खानेपानीको योजनाभन्दा अघि पनि यहाँ पञ्चायतकालकै पद्धती र काठमाडौं उपत्यका खानेपाली लिमिटेड (केयुकेएल) को वितरण प्रणाली थियो। काठमाडौंमा बढ्दै गएको खानेपानी समस्या समाधान गर्न पहिलो पटक सन् १९८८ मा ‘बिन्नी एन्ड पार्टनर्स यूके’ले मेलम्चीको अध्ययन गरेको पाइन्छ। उक्त अध्ययनमा काठमाडौंको खानेपानी समस्या हल गर्न २० वटा आयोजनाको प्रस्ताव गरिएको थियो। त्यसमा मेलम्ची कम लागतमा छिटो उपत्यकामा पानी भित्र्याउन सकिने मध्ये प्रमुख देखिएको थियो।
शुरुमा मेलम्ची खानेपानी निर्माणमा विश्व बैंकले चासो देखाएको थियो। अरुण तेस्रो जलविद्युत आयोजनाको अवसानसँगै खानेपानीबाट विश्व बैंक पनि पछाडि हटेको थियो। त्यसपछि यो आयोजनाको नेतृत्व एडिबीले गर्न थालेको थियो। जसलाई ३७ अर्ब लागतमा निर्माण सक्ने गरी ०५८ बाट काम थालिएको थियो। आयोजना ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न अवरोधले १६ वर्ष बितिसक्दा बल्ल सुरुङ खन्ने काम सकिएर पानी आउने निश्चित भएको छ।
फर्किए दाता
०६१ माघ १९ देखि देशमा प्रत्यक्ष शासन थालेका पूर्व राजा ज्ञानेन्द्र शाह पनि मेलम्ची आयोजनाको निर्माण भन्दा बाधकका रुपमा देखिए। उनले आयोजनाको काम समयमै सम्पन्न गर्नेतर्फ नभई ढिलाइ गर्नेतर्फ आफ्ना कदम अघि बढाए। पूर्व राजा ज्ञानेन्द्रले आयोजनामा भ्रष्टाचारको अभियोगमा दलका नेतालाई कारबाही गर्ने योजना बनाएर ०६१ फागुन ५ मा शाही आयोग गठन गरे। आयोगले आयोजनाका पदाधिकारीसँग ०६२ वैशाख मा बयान लियो।
त्यसका आधारमा वैशाख १३ को मध्यरात पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई गिरफ्तार गरियो। २८ सेप्टेम्बर २००१ मा छनोट भएर आयोजनाको सुरुङ प्रवेश मार्गको काम हेनिल कोनेको जेभीले लिएको थियो। उसले ३१ मार्च २००३ मा प्रवेशमार्ग बनाइसक्नुपर्ने थियो । ठेक्का लिएको ५ सय २० दिनमा काम सक्ने सम्झौता भए पनि ८ अक्टोबर २००२ मा मात्र उसलाई ‘एड्भान्स पेमेन्ट’ दिइएको थियो। हेनिलले आयोजनाको लागतभन्दा ४४ प्रतिशत कम मूल्यमा ठेक्का लिएको थियो।
शाही आयोगले हेनिलले काम छाडेपछि आयोजनामा घाटा भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवा र तत्कालीन भौतिक योजनामन्त्री प्रकाशमान सिंहलगायत ६ जनासँग जनही ३६ करोडको बिगो कायम गरेर मुद्दा हालेको थियो। आयोजनाले लामा कन्स्ट्रक्सनलाई अनियमित तरिकाले ठेक्का दिएको अभियोग थियो।
आयोगको कदमपछि धेरैजसो काम प्रभावित भएको बताउँदै नर्वेको सहयोग नियोग ‘नोराड’ र ‘सिडा’ले आयोजनाबाट बाहिरिने घोषणा गर्यो । ०६१ चैत १८ मा नोराडपछि स्विडेन सरकारले सिडाले लगानी गरेको २५ लाख अमेरिकी डलरको सहयोग फिर्ता गर्यो।
नोराड र सिडाले सहयोग फिर्ता लिएपछि आयोजनालाई ५३ लाख अमेरिकी डलर व्यवस्थापनको चुनौती थपियो। यसअघि नै कार्यान्वयन ढिला भएको र सरकारले अन्यत्र लगानी गर्न आग्रह गरेको कारण देखाएर विश्व बैंकले ८० लाख अमेरिकी डलर सहयोग नदिने घोषणा गरेको थियो।
यस्तै, सडक निर्माणमा परामर्शदाताको काम गर्दै आएको नरप्लान्ट एयसले समयमा चासो नदिँदा काम प्रभावित भएको थियो। सम्झौता अनुसार काम पूरा नभएपछि १० मे २००४ मा उसले एकलौटी रूपमा ठेक्का तोडेको थियो।
चिनियाँ कम्पनी ‘चाइना रेल्वे’ले कामै गरेन
मेलम्चीको दाता राष्ट्र नर्वे र स्विडेनले आफ्नो देशका कम्पनीले सुरुङ मार्ग निर्माण गर्न १ अर्ब २५ करोड अमेरिकी डलर खर्च लाग्ने देखाएका थिए। शाही आयोगले गरेको हस्तक्षेपपछि यी दुवै दाताले मेलम्ची आयोजनाबाट हात झिकेका थिए। त्यसपछि सरकारले सुरुङ निर्माणको कामका लागि खुला प्रतिस्पर्धामा नयाँ कम्पनी छान्यो। आयोजनाको मुख्य काम साढे २७ किलोमिटर सुरुङ मार्गको जिम्मा दिन पहिलो पटक चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसिसी) सँग सम्झौता भयो। आयोजना शुरु भएको १५ वर्षपछि मात्र सुरुङ निर्माणको काम थालिएको थियो।
०६५ फागुन ८ मा भएको सम्झौता अनुसार काम गर्न नसकेपछि ०६९ भदौ २७ मा ठेक्का तोडियो। ४ अर्ब २८ करोडमा निर्माण सम्पन्न गर्ने गरी सिआरसिसीले ४ वर्षमा ५ दशमलव ९२ किलोमिटर सुरुङ निर्माण गरेको थियो। ०७० भदौ १७ भित्र सक्नेगरी लिएको उक्त कामका लागि कम्पनीले ५२ करोड रूपैयाँ भुक्तानी लिएको थियो। उसले ठेक्का तोडेपछि सरकारले पुनः टेन्डर गर्यो।
सुरुङ निर्माणका लागि इटाली कम्पनी कोअपेराटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र भारतको दि राभेनालाई छनोट गरिएको थियो। ३१ असार ०७१ मा सरकारले सुरुङ निर्माणको नयाँ सम्झौता गर्यो। पुसबाट सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथान गरी ६ वटा विन्दुबाट सुरुङ खन्न थालियो। मेलम्ची खानेपानी विकास समितिका अनुसार भुकम्प र नाकाबन्दीका कारण इन्धन अभाव भई झन्डै १० महिना सुरुङ खन्ने काम अवरुद्ध भएको थियो।
सुन्दरीजलदेखि सिन्धु खण्डको ९ दशमलव ४ किलोमिटर सुरुङको काम पहिलो चरणमा सकिएको थियो।
पानी प्रशोधन तर्फ
सरकारले काठमाडौंमा पानी वितरणका लागि सुन्दरीजलमा दैनिक साढे ८ करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्र परीक्षण सम्पन्न गरिसकेको छ।
पानी प्रशोधन केन्द्रको भाग–२ मा थप साढे ८ करोड लिटर क्षमताको केन्द्र निर्माण शुरु गरी हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ। सन् २०१८ को अन्त्यसम्म यसको निर्माण सम्पन्न हुने मेलम्ची आयोजनाका प्रमुख देवकोटा बताउँछन्। मेलम्चीको पानी करिब १७ करोड लिटर एकै पटक आउने भएकाले त्यसलाई वैकल्पिक व्यवस्था अनुसार शुद्धीकरण गरेर वितरण गरिनेछ।
सुरुङ प्रयोगमा ल्याउन ३ महिना
आयोजना प्रमुख देवकोटाले सुरुङ सम्पन्न भएको ३ महिनामा फिनिसिङ सम्पन्न हुने बताए। अब सुरुङ सफाइ, पानी परीक्षण र अन्य कार्यमा सबै प्राविधिक तथा इन्जिनियर लाग्ने उनले बताए।
‘अगष्टसम्म सुरुङमा मेलम्चीको पानी प्रवेश हुनेछ,’ देवकोटाले भने, ‘उक्त पानी सुन्दरीजल हुँदै काठमाडौंबासीको धारामा आउनेछ।’
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मेलम्ची खोलाको १७ करोड लिटर पानी आउनेछ। पहिलो चरणको १७ करोड लिटर पानीले काठमाडौंबासीलाई दैनिक ४ घन्टा पानी वितरण गर्ने मन्त्रालयको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।