एक साताअघि जिम्बावेमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समापनसँगै मार्च २५, २०१८ देखि नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट मान्यता प्राप्त गर्न सफल भएको छ। यस ऐतिहासिक उपलब्धिसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न संस्था तथा सुप्रसिद्ध क्रिकेटरबाट बधाई तथा शुभकामना प्राप्त गरिरहेको छ। सँगसँगै नेपालले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सफल हुन्छ कि हुँदैन भन्ने चिन्ता पनि त्यत्तिकै छ।
निलम्बनमा रहेको नेपाल क्रिकेट संघ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारहरुको समेत अभाव भएको परिप्रेक्ष्यमा यो उपलब्धि जोगाउन नेपालले निकै कठिन मेहनत गर्नुपर्ने देखिन्छ। प्राप्त उपलब्धिको सन्दर्भमा अब क्रिकेटको सम्भाव्यता र यसको विकासको लागि कूटनीतिक पहलको आवश्यकता छ।
क्रिकेटलाई प्राथमिकता किन?
आजको विश्वमा खेलकुदलाई केवल मनोरन्जनको माध्यमका रुपमा व्याख्या गर्नु बिलकुल असान्दर्भिक हुन्छ। खेल क्षेत्र मनोरन्जनमा मात्र सीमित नभई उद्योगको रुपमा विकास भइरहेको छ र विकासको क्रम तीव्र रुपमा रहेको छ। युरोप, दक्षिण अमेरिका, अफ्रिकामा फुटबलले ठूलो उद्योगको रुप लिएको छ। त्यहाँका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताले क्लब र खेलाडीको आर्थिक उन्नति मात्र नभई समग्र देशको आर्थिक अवस्थामा प्रभाव पार्ने क्षमता राख्दछन्। यसैगरी अमेरिकामा बेसबल र बास्केटबल ठूलो उद्योगको रुपमा रहेका छन्। यसैगरी क्रिकेटमा टेस्ट मान्यता प्राप्त राष्ट्रहरुमा (विशेषगरी भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका) समेत यसले ठूलो उद्योगको रुप लिइसकेको छ। व्यावसायिक स्तरमा निरन्तर भइरहने यी खेलकुदले ती राष्ट्रमा खेलकुदलाई करिअरको रुपमा विकास गर्ने संस्कार विकास गराइसकेको छ। ठूलाठूला प्रायोजन, असीमित र प्रभावकारी विज्ञापन र खर्बौं डलरको कारोबार तथा खेलसँगै जोडिएर आउने पर्यटन विकासले ती देशको समग्र विकासमा खेलकुदले सकारात्मक प्रभाव पारेको छ।
नेपालको सन्दर्भमा फाट्टफुट्ट एसियाली स्तरमा प्राप्त गरेका केही सफलताबाहेक दक्षिण एसियाली स्तरमा समेत नेपाल खेलकुद क्षेत्रमा पछाडि नै छ। निकै लोकप्रिय रहेको फुटबलमा पनि दक्षिण एसियाभन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन। विश्वकप र एसियाली स्तरका प्रतियोगिताका छनोट खेलमा सहभागितामा नै सीमित छ।
तुलनात्मक रुपमा नेपालले क्रिकेटमा भने छोटो समयमै लोकप्रियता हासिल गरी सोही अनुरुपको सफलतासमेत प्राप्त गरिरहेको छ।
क्रिकेटमा नेपाल सरकारले दीर्घकालीन रुपमा सहयोग उपलब्ध गराइरहनुपर्ने अवस्था रहने देखिँदैन। तर विश्व स्तरका प्रतिस्पर्धा र टेस्ट मान्यता प्राप्त गर्दाको अवस्थासम्म नेपाल सरकारको प्रत्यक्ष सहभागिता र सक्रियताको आवश्यकता रहिरहनेछ। एकपटक टेस्ट मान्यता प्राप्त गरिसकेपछि नेपाल क्रिकेट संघ नै भौतिक पूर्वाधारहरुको विकास र क्रिकेटको प्रणालीगत विकास र सुधार गर्नको लागि सबल हुने अपेक्षा राख्न सकिन्छ। क्रिकेटको विकासले नेपाललाई खेलकुदको माध्यमबाट विश्वस्तरमा चिनाउनुका साथै पर्यटन क्षेत्रको विस्तार लगायतका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक विकासमा योगदान पुर्याउनेछ।
क्रिकेट कूटनीतिको अनिवार्यता
खेलकुद र कूटनीति कुनै नयाँ विषय होइन। अमेरिका र चीनको कूटनीतिक सम्बन्धमा सुधार ल्याउन अमेरिकाबाट चीनमा टेबलटेनिस खेल्नको लागि टोली पठाइएको थियो। इतिहासमा उक्त घटनालाई अझै पनि 'पिङ्ग पोङ्ग डिप्लोम्याट्स' को रुपमा स्मरण गरिन्छ। आयरल्यान्ड र स्कटल्यान्डको क्रिकेटको स्तर उकास्न इंग्ल्यान्डले प्रत्यक्ष रुपमा सहयोग गरिरहेको छ। यसैगरी बंगलादेश र अफगानिस्तानको क्रिकेट विकासमा समेत भारत र पाकिस्तानको प्रत्यक्ष, अप्रत्यक्ष सहयोग रहिआएको छ। नेपालभन्दा पछि क्रिकेट खेल्न सुरु गरेको अफगानिस्तान अहिले टेस्ट क्रिकेट मान्यता प्राप्त गर्न सफल भइसकेको छ।
नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाई टेस्ट मान्यताको लागि पृष्ठभूमि तयार गर्न कूटनीतिक पहलको अनिवार्यता आवश्यक छ। नेपालको क्रिकेट संघ निलम्बनमा रहेको अवस्थामा संस्थागत पहलको टड्कारो अभाव देखिएको छ। संघको सक्रियतामा मात्र पनि उच्चस्तरका क्रिकेट प्रतियोगितामा सहभागिता सम्भव रहेको छैन। विगतमा नेपाल अभ्यास खेलको लागि भारतमा जाँदा सामान्य स्तरका क्लबहरुसँग खेलेर फर्किएको थियो। भू-राजनीतिमा यति धेरै निकटता हुँदा पनि क्रिकेटको सम्बन्धमा नेपालले भारतबाट कुनै पनि उल्लेख्य सहयोग प्राप्त गर्न सकेको छैन। पाकिस्तानले बरु मैत्रीपूर्ण खेलमा आफ्नो अन्तर्राष्ट्रिय टोलीलाई नै नेपालसँग खेलाएको थियो। अहिलेको अवस्थामा क्रिकेट कूटनीति नेपाल र भारत दुवै देशको लागि उपयोगी सिद्ध हुनेछ। नेपालमा संविधान जारी भएपश्चात् बिग्रिएको नेपाल-भारत सम्बन्धलाई सुधार्ने र नेपालमा बढ्दै गएको भारतप्रतिको नकारात्मक भावनालाई सुधार्न क्रिकेट प्रभावकारी माध्यम हुन सक्दछ ।
नेपालका प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा नि:सन्देह रुपमा क्रिकेट सहयोगलाई पनि एउटा मुद्दाको रुपमा छलफल गर्नु उपयुक्त हुन्छ। भारतले विशेषगरी क्रिकेट रंगशाला लगायतका भौतिक पूर्वाधारको निर्माण, नियमित रुपमा नेपालसँग द्विपक्षीय सिरिजहरुको आयोजना तथा उच्चस्तरका टिमसँग नेपाललाई अभ्यासको अवसर/प्रशिक्षण र अन्य प्राविधिक सहयोग गरी नेपालको क्रिकेटलाई विकासमा सहयोग गर्न सक्दछ। भारतसँगको सम्बन्धले नेपाली क्रिकेटलाई व्यावसायिक बनाउनसमेत उल्लेख्य योगदान गर्न सक्दछ।
सन्दीप लामिछाने आइपिएलमा छनोट भए जस्तै नेपालका अन्य प्रतिभालाई समेत भविष्यमा यस्ता प्रतियोगितामा सहभागी हुने बाटो खुल्नेछ। यसका अलावा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को सबैभन्दा महत्वपूर्ण सदस्यको रुपमा भारत रहेको छ। नेपाललाई भविष्यमा टेस्ट मान्यता दिलाउनको लागि निर्णय प्रक्रियामा भारतको महत्वपूर्ण भूमिका रहन्छ। तसर्थ प्रधानमन्त्रीको आसन्न भ्रमणमा क्रिकेट विकासमा सहयोगको लागि पहल गर्नु अत्यन्त जरुरी छ।
भारतका अलावा पाकिस्तान, बंगलादेश, श्रीलंकासमेत नेपालको क्रिकेट विकासको लागि सहयोग गर्न तत्पर हुनेछन्। तर सामान्य स्तरका पहलबाट यो सम्भव छैन। उच्च स्तरका कूटनीतिक भेटघाटहरुबाट मात्र उच्च स्तरको क्रिकेटमा सहभागिता र सहयोग प्राप्त गर्न सकिन्छ। अन्यथा ४ वर्षको उपलब्धि यसै खेर जाने पक्का छ। ४ वर्षका लागि प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई सदुपयोग गरी आयरल्यान्ड, अफगानिस्तान जस्तो टेस्ट मान्यता प्राप्त राष्ट्रझैं बन्ने वा पपुवा न्युगिनी, हङकङ वा केन्या जस्तो अवस्थामा रहने भन्ने मुख्य जिम्मेवारी अब नेपाल सरकारकै काँधमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।