राजविराज– विष्णुपुर गाउँपालिका ७ की २२ वर्षीया महिलालाई बलात्कार गरी भारतीय क्षेत्रमा लुक्न पुगेका आरोपित इसराइल मियाँलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ।
विष्णुपुर गाउँपालिका ७ का मियाँलाई भारतीय प्रहरीको सहयोगमा अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट पक्राउ गरी आइतबार बिहान नेपाल ल्याइएको हो। उनी घटना भएको दिन फागुन ११ गतेदेखि नै फरार थिए।
जिल्ला प्रहरी कार्यालयका सई जयप्रकाश साहको नेतृत्वमा गएको प्रहरी टोलीले भारतीय प्रहरीको सहयोगमा रातभरि गाउँमा खानतलासी गरी मियाँलाई पक्राउ गरेको एसपी मुकेशकुमार सिंहले बताए। आइतबार बिहानै दिल्ली जाने योजनामा रहेका मियाँलाई भारतीय प्रहरीकै मिहिनेतको कारण पक्राउ गर्न सकिएको उनले बताए।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीसहित ४ वटा बलात्कार घटनाका ६ जना आरोपितलाई सार्वजनिक गरेको छ। जसमध्ये शम्भुनाथ ५ का गेनाइ राम, ३ का एटलान्टिक चौधरी, अजय चौधरी, विष्णुपुर गाउँपालिका ७ का जिवछ राम, सिरहा भगवानपुर गाउँपालिका १ का वैजनाथ दास र बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका ५ का खेमराज वैस्य छन्।
पक्राउ परेका अन्य ५ आरोपितमध्ये केही घटनास्थलमै र केही घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। हालै शम्भुनाथ, छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा भएका बलात्कारका घटनामा उनीहरुको संलग्नता रहेको प्रहरी उपरीक्षक सिंहको भनाइ छ।
प्रहरी कार्यालयले फागुन महिनामा मात्रै बलात्कारका ८ वटा घटनामा ८ जनालाई पक्राउ गरेको र ६ जना अझै फरार रहेको जनाएको छ। घटनामा ५ जना बालिका पीडित भएका छन् भने एक बालक सोही आरोपमा प्रहरी नियन्त्रणमा छन्। पक्राउ परेका सबैलाई जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सिंहले वताए।
पत्रकार सम्मेलनमा लागूऔषध कारोबारमा संलग्न रहेका धनुषा जिल्ला जनकपुर नगरपालिका १३ का मिथिलेश ठाकुर र मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेका विष्णुपुर गाउँपालिका ४ का प्रमेश्वर यादवलाई पनि सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।