काठमाडौं– पैसाको बलमा राजनीतिमा लागेर चुनाव जितेका ४ नम्बर प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले १५ मार्चमा उनी विरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो।
उनी भागेर अन्य देशमा लुक्न सक्ने भएकाले रेडकर्नर नोटिस जारी गरिएको एक उच्च प्रहरी अधिकारीले बताए। मनाङे हाल विदेशमा रहेको प्रहरी आशंका छ।
१३ वर्षअघिको घटना
१३ वर्षअघिको एक ग्याङफाइटको मुद्दामा मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी भएको हो।
पानीपोखरीस्थित चाइनिज चुफाङ रेस्टुरेन्ट आफ्ना प्रतिद्वन्दी गुन्डा नाइके चक्रे मिलनलाई मनाङेले हत्याको प्रयास गरेका थिए। जुन मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको हो।
मनाङेले दरबारमार्गको उडल्यान्ड होटलमा बसेर चक्रेलाई त्यही चाइनिज रेस्टुरेन्टमा आक्रमण गर्ने योजना बनाएका थिए। मनाङेसहित काभ्रेली समूहका गणेश लामा, रमेश सुनुवार, विष्णु लामा, उमेश लामा लगायत बसेर आक्रमणको योजना बनाएका थिए। सोही अनुसार खुँडासहित उनीहरु उक्त रेस्टुरेन्टमा पुगेर चक्रेलाई आक्रमण गर्न सफल भए।
आक्रमणमा चक्रेको देब्रे हात दुई टुक्रा भएको थियो। जुन पछि त्रिवि शिक्षण अस्पतालमा जोडियो। सोही घटनाका कारण चक्रेको एउटा हात सानो छ।
१३ वर्षअघिको सोही ग्याङफाइट अहिले मनाङेका लागि ठूलो आपत बनेको हो। सोही आक्रमणको मुद्दामा गत माघ २ गते सर्वोच्च अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय हुने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको थियो।
घटना लगत्तै प्रहरीले मनाङे लगायतको समूह विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलायो। जसमा जिल्ला अदालतले २ वर्ष कैद सजाय सुनायो भने तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाई अरुलाई सफाइ दियो। जिल्ला अदालतको फैसला अनुसार मनाङे २ वर्ष जेल बसिसकेका छन्। अब उनी थप ३ वर्ष जेल बस्नुपर्ने हुन्छ।
राजनीतिक छहारीमा आफ्नो विगत लुकाउने प्रयास गर्दै मनाङेले अनेक हत्कण्डा अपनाई मनाङको प्रदेशसभामा चुनाव जिते। चुनाव जितेलगत्तै उनको मुद्दाको फैसला भएको थियो। जसकारण उनले सपथ पनि लिन पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।