दक्षिण कोरिया- भगवान् बुद्धबारे भइरहेका भ्रम निवारण गर्न कोरियामा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा बनेको बुद्धको प्रतिमा यहाँको प्रसिद्ध गुम्बामा स्थापना गरिँदै छ।
कोरियाको ख्यंगी प्रान्तमा रहेको युनेस्कोको विश्व सम्पदामा सूचीमा सूचीकृत ऐतिहासिक वाउछङ्सा बौद्ध गुम्बामा नेपालमा हातले कुँदेर बनाइएको बुद्धको मूर्ति स्थापना गर्न लागिएको हो। यहाँ क्रियाशिल नेपाली सम्पर्क समिति (एनसिसी) कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा विभिन्न संघसंस्थाहरुको अगुवाइमा यसको तयारी थालिएको छ। १३ सदस्यीय सचिवालय समिति गठन गरी रकम संकलनदेखि अन्य काम अगाडि बढाइएको एनसिसी संयोजक अञ्जु केसीले जानकारी दिइन्। उक्त मूर्ति कोरियासम्म ल्याउनका लागि अनुमानित ४ करोड वन खर्च लाग्ने आँकलन अनुरुप आर्थिक संकलन अभियान चलाइएको उनको भनाइ छ। हालसम्म ३ करोड २२ लाख वन संकलन भइसकेको उनले जानकारी दिइन्।
मूर्ति आगामी मे महिनामा बुद्ध जयन्तीको अवसरमा कोरियाको राजधानी सिओलमा गरिने विशाल र्यालीसँगै नगर परिक्रमा गरी स्थापना गरिने कार्यक्रम रहको छ। मूर्तिको ८ फिट उचाइ रहने र तामाको लेपन रहने बताइएको छ।
मूर्तिसँगै बुद्ध नेपालमा जन्मेको विषयमा कोरियन र अंग्रेजी भाषामा लेखिनुका साथै नेपालको राष्ट्रिय झण्डा पनि राखिने केसीले बताइन्। मूर्ति स्थापना गर्न लागिएको बाउछङ्सा गुम्बामा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य बौद्धमार्गी पर्यटकहरु आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।