काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउन भूमिका निर्वाह गर्ने बताएका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा एमाले सचिवसमेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सार्क लगायत क्षेत्रीय संगठनमा मुलुकका तर्फबाट भूमिका सशक्त रहने बताए।
‘नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु, त्यस्तै विमस्टेक लगायतका क्षेत्रिय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु,’ उनले भने।
परराष्ट्रमन्त्री ज्ञवालीले यसै वर्ष नेपालमा भारत र चीनबाट केही उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने बताए। ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चिनीयाँ राष्ट्रपति सि जिनपिङ पनि आउनुहुन्छ, त्यसैगरी नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्,’ उनले भने, ‘सन् २०१८ मा द्विपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, यो हिसाबले सन् २०१८ नेपालको लागि महत्वपूर्ण हुनेछ।’
हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै नेपाल आउने उनको भनाइ थियो।
त्यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने ज्ञवालीले सुनाए । उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।