काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एसोसिएट टिमलाई ४ वर्षका लागि प्रदान गर्ने अस्थायी एकदिवसीय मान्यताको टुंगो लागेको छ। जिम्बावेमा भइरहेको आइसिसी विश्वकप छनोटमार्तफ ४ एसोसिएट टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउने पक्का भएको हो।
सुपर –६ मा पुगेका युएई र स्कटल्यान्डले एकदिवसीय मान्यता फेरि पाएका हुन्। आइसिसीले डब्लुसिएल च्याम्पियनसिपको विजेता नेदरल्यान्ड्सलाई एकदिवसीय मान्यता दिने निर्णय गरेको थियो। बिहीबार पपुवा न्युगिनीलाई पराजित ६ विकेटले पराजित गरेसँगै नेपाल एकदिवसीय मान्यता पाउने कान्छो टिम बन्यो। नेदरल्यान्ड्स र नेपाल एकदिवसीय मान्यता पाउने नयाँ टिम बन्दा हङकङ र पपुवा न्युगिनीको मान्यता भने गुमेको छ।
हाल एकदिवसीय मान्यता पाउने टिम १६ वटा छन्। जसमा १२ टिमलाई स्थायी एकदिवसीय मान्यता छ भने नेपालसहित ४ टिमलाई अस्थायी एकदिवसीय मान्यता छ।
स्थायी मान्यताप्राप्त एकदिवसीय टिम
अस्ट्रेलिया – १९७१
इंग्ल्यान्ड– १९७१
न्युजिल्यान्ड– १९७३
पाकिस्तान– १९७३
वेस्ट इन्डिजन– १९७३
भारत– १९७४
श्रीलंका– १९८२
दक्षिण अफ्रिका– १०९१
जिम्बावे– १९९३
बंगलादेश– १९९७
अफगानिस्तान– २०१७
आयरल्यान्ड– २०१७
अस्थायी एकदिवसीय मान्यता पाउने टिम
स्कटल्यान्ड – २००६ देखि २०२२ सम्म
युएई – २०१४ देखि २०२२ सम्म
नेदरल्यान्ड्स – २०१८ देखि २०२२ सम्म
नेपाल – २०१८ देखि २०२२ सम्म
जसले गुमाए एकदिवसीय मान्यता
केन्या –१९९७ देखि २०१४ सम्म
क्यानडा– २००६ देखि २०१४ सम्म
नेदरल्यान्ड्स– २००६ देखि २०१४ सम्म (२०१८ मा फेरि प्राप्त)
बर्मुडा– २००६ देखि २००९ सम्म
हङकङ– २०१४ देखि २०१८ सम्म
पपुवा न्युगिनी– २०१४ देखि २०१८ सम्म
विशेष एकदिवसीय प्रदान गरिएका टिम जसको मान्यता गुइसकेको छ
इस्ट अफ्रिका – १९७५ को विश्वकपका लागि
नामिबिया– २००३ को विश्वकपका लागि
अमेरिका– २००४ को च्याम्पियन्स ट्रफिका लागि
आइसिसीले सन् २००५ देखि ६ वटा एसोसिएट टिमलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिन थालेको थियो। हाल भने आइसिसीले ४ वटा टिमलाई मात्र एसोसिएट मान्यत दिने निर्णय गरेको हो।आइसिसीले अस्थायी मान्यता ४ वर्षको लागि दिने गरेको छ। अस्थायी मान्यता दिने आधार एकदिवसीय विश्वकप छनोटलाई मान्दै आइएको छ। तर, यदाकदा आइसिसीका प्रतियोगितामा उत्कृष्ट खेल्ने टिमलाई पनि अस्थायी मान्यता दिने गरिएको छ।
स्कटल्यान्डले सन् २००६ देखि अस्थायी एकदिवसीय टिमको मान्यता पाएको थियो। युएई, हङकङ र पपुवा न्युगिनीले भने सन् २०१४ मा एकदिवसीय मान्यता पाएका हुन्। यो मान्यता विश्वकप छनोट प्रतियोगितासम्मका लागि हुने गरेको छ।
यसअघि अस्थायी मान्यता पाएका अफगानिस्तान र आयरल्यान्ड भने स्थायी सदस्यमा बढुवा भइसकेका छन्। अफगानिस्तानले सन् २००९ तथा आयरल्यान्डले सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएका थिए।
केन्याले सन् १९९७ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। सन् २०१४ को विश्वकप छनोटमा खराब प्रदर्शनपछि केन्याको मान्यता खोसिएको थियो। क्यानडाले पनि सन् २००६ देखि २०१४ सम्म एकदिवसीय मान्यता पाएको थियो। बर्मुडाले सन् २००६ देखि सन् २००९ सम्म ३ वर्ष अस्थायी एकदिवसीय टिमको मान्यता पायो। सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएको नेदरल्यान्ड्सको मान्यता सन् २०१४ मा खोसियो। यद्पयी नेदरल्यान्ड्सले फेरि एकदिवसीय मान्यता प्राप्त गरेको छ।
एकदिवसीय मान्यताको फाइदा के?
एकदिवसीय मान्यता पाएसँगै अब नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढ्नेछ। आइसिसीले आयोजना गर्ने इन्टरकेन्टिनेल्टल कपमानेपालको पनि स्थान हुनेछ। पहिलो श्रेणी क्रिकेट मान्यता रहेको प्रतियोगिताको विजेतालाई आइसिसीले टेस्ट टिमको समेत मान्यत दिनेछ। यस्तै नेपालले अन्य एकदिवसीय मान्यता प्राप्त टिमसँग एकदिवसीय सिरिज खेल्न पाउनेछ। त्यसका लागि सम्बन्धित देशका क्रिकेट बोर्डले सम्झौता गर्नु पर्नेछ भने आइसिसीले मान्यता दिनु पर्नेछ।
हाल नेपालको क्रिकेट हेर्ने निकाय नभएकाले नेपालले निकेट भविष्यमा सिरिज खेल्ने सम्भावना न्यून छ। आन्तरिक विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) लाई आइसिसीले २०७३ वैशाखमा निलम्बन गरेको थियो।
एकदिवसीय खेलको आधारमा अब आइसिसीले नेपाललाई वरियतामा पनि समावेश गर्नेछ।
एकदिवसीय मान्यतासँगै आइसिसीले प्रदान गर्ने अनुदानमा पनि वृद्धि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।