उत्तराखन्ड– भारतको उत्तराखन्डस्थित गंगा नदीबाट एक जंगली हात्तीलाई नाटकीय तबरबाट उद्धार गरिएको छ। बिहीबार बिहान ऋषिकेशस्थित राजाजी बाघ आरक्षको नजिकै गंगा नदीको बाँधमा एक जंगली हात्ती फसेको एक वन निरीक्षकले देखेका थिए।
सो हात्तीलाई पौडिन सहयोग मिलोस् भन्दै नदीको पानीलाई अर्कोतर्फ मोडिएको थियो। सो हात्ती हिमालयन आरक्षको रहेको बताइएको छ। आरक्षमा ३ सय ५० को संख्यामा हात्ती तथा अन्य जंगली जनावरहरु रहेको बताइन्छ। सो आरक्षमा जलविद्युत आयोजनासमेत सञ्चालनमा ल्याइएको छ।
आरक्षका अधिकारीहरुले जंगली हात्तीहरु बढी आक्रामक हुने र एक अर्काको आक्रमणबाट बच्न नदीतर्फ भाग्ने गरेको बताए।
आरक्षका एक अधिकारीले भने,‘हात्तीले नदीको कडा धार भएको क्षेत्रमा नुहाउन खोज्दा विरभद्र बाँध(ब्यारेज)नजिकै फसेको थियो।’ उनले बाँधमा पानीको दबाब बढी भएकोले क्रेनको सहयोगमा हात्तीलाई उद्धार गर्न नसकिएको बताए। उनले भने,‘पानीको सतह घटाउनु बाहेक हात्तीलाई बचाउने अन्य कुनै उपाय थिएन।’
बाघ आरक्षका निर्देशक सनातन सोन्करले उद्धार टोलीले सराहनीय काम गरेको बताएका बिबिसीले लेखेको छ।
‘पानीको मात्रा बढी भएकोले हात्तीले धेरै नै संघर्ष गर्नुपरेको थियो। त्यसकारण हामीले तत्कालै हात्तीलाई बचाउने निर्णय गरेका थियौँ।’, निर्देशक सोन्करले भने,‘पानीलाई अर्कोतर्फ मोडिदिएपछि केहि मिनेटमै नदीमा पानीको मात्रा घट्यो र हात्तीलाई बचाउन सफल भयौँ।’
उनले उद्धार गरिएको हात्तीको सुरक्षाका लागि उसको गतिविधीको लगातार निगरानी गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।