नयाँ दिल्ली (एजेन्सी)- पञ्जाबी गीतदेखि बलिउडसम्मको सफर पक्कै पनि कसैको लागि सजिलो हुँदैन। तर, पञ्जाबको होशियारपुरका हरिदेश सिंहले त्यो असम्भव जस्तै लाग्ने सपना पूरा गरेर देखाए। हरिदेश नै आजका चर्चित र्यापर, गायक तथा संगीतकार हनी सिंह हुन्।
हनी सिंहले संगीत क्षेत्रमा आएपछि आफ्नो नाम परिवर्तन गरेका थिए। उनै गायक आज ३४औं जन्मदिन मनाउँदै छन्। यो सन्दर्भमा उनीबारेका पाँच रोचक तथ्य प्रस्तुत छ, जसबारे उनका धेरै प्रशंसकलाई थाहा नहुन सक्छ:
- हनी सिंह पञ्जाबी गीत गाउनु अगाडि अंग्रेजी गीत गाउने गर्थे। सन् २००६ मा उनले संगीत गरेको गीत पहिलो पटक बिबिसी वर्ल्ड चार्ट्सको सूचीमा परेको थियो। त्यो गीत थियो 'खडके ग्लासी', जसलाई पञ्जाबी गायक अशोक मस्तीले गाएका थिए।
- हनी सिंह पहिलो यस्ता गायक भए, जसलाई बलिउडमा एउटा गीत गाउन ७० लाख भारुको प्रस्ताव गरिएको थियो। उनले बलिउडमा आफ्नो पहिलो गीत नसिरूद्दिन शाह अभिनीत फिल्म 'मस्तान' का लागि गाएका थिए।
- हनी सिंहको एल्बम 'इन्टरनेसनल विलेजर' अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पञ्जावी एल्बम मानिन्छ।
- 'यो यो हनी सिंह'को नामबारे पनि धेरैको मनमा प्रश्न उठ्ने गर्छ, आखिर यो नाम कसरी र कहाँबाट आयो? खासमा उनको यो नाम उनले आफ्नो एक अफ्रिकी-अमेरिकी साथीबाट पाएका थिए। 'यो यो' को अर्थ हुन्छ, तपाईंको आफ्नै। यसरी उनले प्रशंसकहरुको प्यारो बन्नेगरी उक्त नाम राखे।
- हनी सिंहको गीत 'ब्राउन रंग' अहिलेसम्मकै सबैभन्दा महँगो पञ्जावी भिडियो हो। उक्त भिडियो निर्माण गर्न करिब एक लाख डलर खर्च भएको बताइन्छ। भिडियो अमेरिकाको लस एन्जल्सका फिल्मकर्मीहरुले निर्देशन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।