काठमाडौं- निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोग पदाधिकारीको बैठकले राष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नागरिकताको प्रमाणपत्रका आधारमा मतदान गर्न दिने निर्णय गरेको हो।
राष्ट्रपतिको निर्वाचन फागुन २९ अर्थात् भोलि हुँदैछ। राष्ट्रपति पदमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईबीच प्रतिस्पर्धा हुँदैछ। वर्तमान राष्ट्रपति भण्डारीलाई सरकारको नेतृत्वकर्ता दल एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम लगायतका दलले समर्थन गर्ने भएका छन्।
निर्वाचनमा राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका सांसदले मतदान गर्न पाउनेछन्।
अहिलेको सत्ता समीकरण अनुसार वर्तमान राष्ट्रपति भण्डारी दुई तिहाइभन्दा बढी मतसहित सो पदमा दोहरिने निश्चित देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।