पोखरा- विगतमा ढिकीजाँतोमा अनुभव गरेका पोखरा लेखनाथ महानगरपालिका–२१, बाँझीपोखरीका भण्डारी दम्पतीका लागि आधुनिक कुटानी पिसानी मेसिनको प्रयोग यतिखेर दैनिकी बनेको छ।
सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको ६ दशक यात्रा पार गरेकी उनकी श्रीमती इन्द्रकलाले एक वर्षअघि ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी गर्ने मिल आफ्ना लागि त सहज भएको छ नै छिमेकी पनि त्यसबाट लाभान्वित भएका छन्।
चार छोरा र दुई छोरीका अभिभावक भण्डारी दम्पती छोराछोरी सेवा, पेसा र व्यवसायका क्रममा घरभन्दा बाहिर रहे पनि बुढ्यौली जीवनलाई पनि क्रियाशील बनाएर सबैका लागि अनुकरणीय बनेका छन्।
'सुरुमा त आफ्नै घरको लागि मात्र भनेर यो धान कुट्ने तथा मकै, कोदो पिस्ने मेसिन किनेका हौँ,' रविलालले भने, 'अहिले भने घर वरपरका छिमेकी पनि धान, मकै र कोदो लिएर आउने गरेका छन्।'
विगतमा रातको २ बजेदेखि घरमा आवश्यक पर्ने चामल तथा पिठोका लागि ढिकीजाँतोको प्रयोग गर्ने गरेकी इन्द्रकलालाई आधुनिक मेसिनको प्रयोग गर्न पाउँदा अचम्म लागेको छ।
'मेसिनको प्रयोग नहुँदासम्म घरमा नै कुटानी पिसानी गर्नुपर्ने बाध्यता थियो भने गाउँमा मेसिन आएपछि पनि बोकेर टाढाटाढा पुर्याउनुपर्थ्यो,' उनले भनिन्, 'अहिलेका पुस्ताका लागि भने हाम्रो देखाइ र भोगाइ एकादेशको कथा जस्तै भएको छ।'
आधुनिक मेसिनले एक घन्टामा तीन मुरीसम्म धान कुट्ने गरेको छ।
चीनमा निर्मित सो मेसिन आवश्यकताअनुसार जता पनि सार्न सकिने बताउँदै भण्डारी दम्पतीले धान कुटेको प्रतिपाथी रु तीन एवं मकै र कोटो पिसेको प्रतिपाथी रु पाँच लिने गरेका छन्।
घरको नजिकै धन्सारमा राखिएको उक्त कुटानी पिसानी मेसिनबाट आर्थिक रुपमा फाइदा नभए पनि गाउँलेले समेत सुविधा पाएकोमा इन्द्रकला भने दंग छिन्।
ढिकीजाँतोको विकल्पमा मेसिनको प्रयोग गरेका भण्डारी दम्पतीले घरमा खेतबारी जोत्नका लागि हाते ट्र्याक्टर पनि खरिद गरेका छन्। हाते ट्र्याक्टरको प्रयोग भने उनीहरुका जेठो छोरा वसन्तले गर्दै आएका छन्।
भण्डारीका अनुसार उक्त ट्र्याक्टर जिल्ला कृषि विकास कार्यालयको रु ४० हजार अनुदानसहित रु एक लाख १० हजारमा खरिद गरिएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।