राजविराज- ६५ वर्षको बुढ्यौली शरीर, मध्यजाडोमा पनि जिउमा गतिला कपडा छैनन्। बास छ झिक्राले बारेको टहरोमा। घेराबारा गतिलो नरहेको र छानो समेत छाउने सामर्थ्य नहुँदा रातभरिको सिरेटोले कक्रेरै रात कटाउनुपर्ने बाध्यता।
सप्तरीको वेल्ही चपेना गाविस वडा नं. ५ मलेकपुरका कमल मरिक र उनकी पत्नी अरुलिया मरिकलाई आफ्नै जिन्दगी यतिबेला बोझ बनेको छ।
हुलाकी सडकको उत्तरपट्टि अवस्थित १० घर मरिक परिवारमध्ये सबैभन्दा विपन्न अवस्था यिनै दम्पत्तीको छ, त्यहाँ पुग्ने जो कोहीले सहजै अनुमान गर्न सक्छ।

यसपालिको जाडो कसरी कटाउने भन्ने चिन्ताले पिरोलिएका मरिक दम्पत्तीले सकीनसकी बाँसका ठुटा गाडेर त्यसमाथि भाटा तेर्स्याएर सुत्ने ओछ्यान त बनाएका छन् तर चारैतिर बार्नका लागि खर, डोरी, बाँस, भाटा अनि घर छाउने कामदारको पारिश्रमिकको जोहो गर्न नसक्दा आकाशमुनि नै सुत्नुपर्ने बाध्यतामा छन् उनीहरु।
‘छिमेकीसित बाँस मागेर टहरो त जसोतसो बनायौं,’ केही दिनदेखि लगातार बिरामी रहँदै आएका कमलले भने, ‘तर, छाउने सामर्थ्य नहुँदा खुला आकाशमै रात कटाउनुपरेको छ।’
सानो टुक्रो ऐलानी जग्गा पनि दुई छोरालाई अंश स्वरुप छुट्याइदिएपछि कमल दम्पत्ती छुट्टै बस्दै आएका छन्। छोराबुहारीको घरसँगै टाँसेर टहरो बनाएका भए पनि खर्च अभावले अधुरै छ। बाँसका ढकी, छिटी, पंखा, नाङ्लो लगायतका सामग्री बनाउने गरे पनि त्यसको आम्दानीले बिहान बेलुकाको छाक टार्नसमेत धौधौ छ उनीहरुलाई।

दुई छोरा दिलीप र विनोद पनि आफ्नै परिवारको गुजारका लागि यस्तै काममा व्यस्त रहनुपरेकाले उनीहरुको रेखदेख समेत हुन सकेको छैन। ‘घरखर्च धान्न नसकेर एउटा छोरोलाई मावली पठाइदिएकी छु,’ कमलकी जेठी बुहारी लीलाले भनिन्, ‘हाम्रो पनि अवस्था जर्जर छ, सासू ससुरालाई केले स्याहार्नु?’
कान्छो विनोदको परिवार पनि बाँसकै सामग्री बनाएर जेनतेन गुजारा गरिरहेको उनले नै जानकारी दिइन्। कुनै पनि निकायले विपन्नहरुका लागि नसोचिदिँदा आफू जस्ता दुखियाहरुको बिचल्ली भइरहेको उनले गुनासो गरिन्।

गाउँमा विपन्न दलितका लागि सरकारले नि:शुल्क घर बनाउँछ भन्ने कुरा आफूले सुने पनि निमुखाका लागि आकाशको फलझैं भएको पीडा गर्छिन् कमल पत्नी अरुलिया। ‘हामीलाई छानोमुनी बस्न पाए पनि कस्तो न होला भन्ने सपना छ,’ च्यातिएका सारीले छोपेको छाना देखाउँदै उनले थपिन्, ‘सरकारी घर पनि हामीजस्ता निमुखाका लागि भएन, यसपालिकै ठण्डीले लैजान बेर छैन।’
वडा नं. ५ का अध्यक्ष लक्ष्मीनारायण ठाकुरले साबिकको मलेकपुर गाविसका सचिवले जनता आवास कार्यक्रम अन्तर्गत पाएका तीन वटा घर पनि गाउँको अन्य टोलमा सिफारिस गरेका कारण मरिक परिवारले नपाएको जानकारी दिए।

भोको पेट र नांगो आङ लिएर खुल्ला आकाशमुनि बसेका आफूजस्ता भूमिहीनहरुलाई यही बेला ‘चर्पी कहिले बनाउँछौ?’ भन्दै ग्वारग्वार्ती आउनेहरुको लर्कोले हैरान पारेको अरुलियाले दुखेसो गरिन्।
‘बिहान बेर्लुका हातमुख जोर्न पनि ठेगान नभएका हामी जस्ता भूमिहीनले कहाँ र केले बनाउनु चर्पी?’ उनी प्रश्न गर्छिन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।