नेपालले अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भाग लिन थालेको दुई दशक पूरा भइसकेको छ। यस अवधिमा कुनै पनि नेपाली सुन्दरीले उपाधि घर भित्र्याउन सकेका छैनन्।
सन् १९९७ देखि ‘मिस वर्ल्ड’ स्पर्धामा भाग लिँदै आएका नेपाली सुन्दरीहरू रित्तो हात घर फर्किने चलन नै बनिसकेको छ। प्रतिस्पर्धाका लागि घरबाट बिदा मागेर हिँड्ने बेला उनीहरू जति उत्साही देखिन्छन्, फर्किएपछि उत्ति नै हतोत्साही। प्रायः सबैको एउटै गुनासो हुने गर्छ– ‘देशले केही सहयोग गर्दैन। फल्ना देशको सरकारले यस्तो गर्यो, उस्तो गर्यो।’
उनीहरूको आरोप आफ्नो ठाउँमा जायज होला। तर, देशको अवस्थालाई मूल्याङ्कन गर्दा उनीहरूलाई एउटा प्रश्न गर्न मन लाग्छ, के नेपाली सुन्दरीहरू अन्तर्राष्ट्रिय ‘एरिना’मा उभिनुअघि त्यही किसिमको पूर्ण तयारी गरेर जाने गर्छन्?
यो खालि ‘मिस वर्ल्ड’को कुरा मात्र होइन। हाल ‘मिस युनिभर्स’मा नेपालबाट सहभागी पूर्व मिस नेपाल तथा फस्ट रनरअप नग्मा श्रेष्ठको हकमा पनि यही प्रश्न तेर्सिनु स्वाभाविक हो।
पूर्व मिस नेपाल इशानी श्रेष्ठले ‘मिस वर्ल्ड’को एउटा ‘सेग्मेन्ट’ ‘ब्युटी विथ अ पर्पस’मा अवार्ड जितेकी थिइन्। ‘मिस वर्ल्ड’मा उनले हात पारेको यो सफलता नै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सबैभन्दा ठूलो उपलब्धि हो।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ ‘टप स्टेज’मा नपुगे पनि ‘मिस वर्ल्ड’मा उनले राम्रै चर्चा बटुलेकी थिइन्। उनको चर्चा त्यतिकै चुलिएको होइन। उनलाई पनि न सरकारले सहयोग गरेको थियो, न आयोजकले नै। तर, लण्डनमा हुर्केकी सृष्टिले ‘मिस वर्ल्ड’मा भाग लिन जानुअघि आफूलाई त्यहीअनुरुप ढालेकी थिइन्।
नेपाली सुन्दरीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उपाधि जित्न नसक्नुका धेरै कारण छन्। ती मध्ये केही कारणहरू यतिबेला निकै सान्दार्भिक हुन आउँछ।
पहिले–पहिले सुन्दरी प्रतियोगिता जित्न सुन्दरता भएमात्र पुग्थ्यो। तर, यति बेला समय र सन्दर्भ बदलिएको छ। अहिले सुन्दरी बन्न ‘ब्युटी विथ ब्रेन’ अनिवार्य सर्त झैँ बनिसकेको छ।
त्यसैले सुन्दरी प्रतियोगिता जित्न सुन्दर अनुहार भएर मात्र पुग्दैन। उसमा कतिको सुझबुझ छ, त्यसको पनि हेक्का राखिने गरिन्छ।
पछिल्लो समय ‘मिस वर्ल्ड’मा भारत, जमैका, युके लगायतका सुन्दरीहरूले पटक–पटक ताज जितेका छन्। यसले के प्रस्ट्याएको छ भने, आफ्ना अग्रजहरूबाट यी देशका सुन्दरीहरूले प्रस्तुति र अनुभव सुन्न र सिक्ने मौका पाएका छन्।
यिनीहरूले अवार्ड जित्नुको कारण यतिले मात्र निर्धारण पक्कै गरेको होइन। विश्व सुन्दरी बन्न यो प्रतियोगितामा सोधिने अन्तिम प्रश्न मात्र पनि मुख्य कारण होइन।
कुनै पनि देशका प्रतियोगी सुन्दरी प्रतियोगिताको लागि आयोजना हुने देशको विमानस्थलमा उत्रिएदेखि नै उनीहरूको विषयमा ‘जजमेन्ट’ सुरु हुन्छ। यसको हेक्का थोरै सुन्दरीले मात्र राखेका हुन्छन्।
नेपालमा ‘मिस वर्ल्ड’ प्रतियोगितामा जजहरूले साना–साना कुरामा निकै हेक्का राख्ने गरेको हुन्छ भनेर कसैले सिकाएको मैले देखेको छैन। र, प्रतियोगीलाई यही अनुरुप ‘ग्रुमिङ’ गर्ने चलन पनि छैन।
विदेशमा स्कुलदेखि नै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा लगाइने गरिन्छ। तर, हामी कहाँ यसको ठूलो समस्या छ। हाम्रा स्कुलहरूले मर्नेगरी फी त डामेका हुन्छन्। तर, उनीहरूले पाठशालादेखि नै अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई अभ्यस्त गराउँदैनन्।
यसको असर पनि सुन्दरी प्रतियोगितामा परेको देखिन्छ। ‘मिस वर्ल्ड’मा विभिन्न क्रियाकलाप जस्तै: स्विमिड, भलिबल, बास्केटबल, टेलबटेनिस लगायत जति धेरै विधामा आफूलाई अब्बल साबित गर्न सक्यो, उपाधि जित्ने वा फाइनल चरणमा पुग्ने मौका पनि यसैले जुराउने गर्दछ।
यसबाहेक सबैसँग मिल्न सक्ने खुबी, कोरियोग्राफर, पत्रकार, आयोजक लगायतका विशिष्ट ‘गेस्ट लेक्चर’को नजरमा पर्न बौद्धिकता प्रदर्शन गर्नुपर्ने हुन्छ। आयोजकले गरिब देश भनेर प्रतियोगितामा भाग लिएका सुन्दरीमाथि विभेद गर्दैनन्।
नेपालको सन्दर्भमा सबैभन्दा दुःख लाग्ने कुरा ‘मिस नेपाल’ बनेपछि आर्थिक होस् वा प्राविधिक, उनीहरूले एक्लै ठूलो प्रतियोगितामा भाग लिन जानुपर्ने बाध्यता छ।
नेपालमा सुन्दरी प्रतियोगिता आयोजना गर्दा प्रायोजक नपाइने होइन। तर, प्रायोजकले दिने रकम सबै आयोजकले एक वर्षसम्म लिने चलन छ। अवस्था यतिसम्म दयनीय छ कि विजेतालाई उपहार स्वरुप गाडी, स्कुटी वा अन्य कुनै सामग्री दिन्छु भन्दा पनि आयोजकले नगद मात्रै स्वीकार गर्छन्। यसको सोझो असर ‘मिस नेपाल’ बन्ने सुन्दरीहरूमा पर्ने गर्छ। ‘मिस वर्ल्ड’मा भाग लिन आवश्यक अधिकांश रुपैयाँ प्रतियोगी स्वमंले बेहोर्नुपर्ने बाध्यता छ।
सुरुदेखि दबाब झेलेर ‘मिस वर्ल्ड’ मा भाग लिँदा प्रतियोगीमा मानसिक तनाव देखिने गरिएको छ। हामीकहाँ ‘मिस नेपाल’ बन्नुअघि होइन, बनिसकेपछि फिटनेस क्लास, क्लब, डान्स, ग्रुमिङ लगायतको तयारी सुरु हुन्छ।
कुनै पनि प्रतिभाशाली व्यक्तिले लक्ष्यमा पुग्ने चाहना राख्छ भने उसले सानैदेखि तयारी थालेको हुन्छ। रातारात परिवर्तन सहज छैन। भाग्यलाई दोष दिने वा भाग्यको भर पर्ने हाम्रो परम्परा परित्याग नगरेसम्म यस्ता प्रतियोगितामा सहभागी हुनु भनेको ‘आकाशको फल’ पर्खेसरह हो।
त्यसैले नेपाली सुन्दरीलाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा उतार्दा कसरी तयारी गर्ने? भन्ने विषयमा सम्बन्धित पक्षले बृहत् बहस गरेर एउटा योजना तयार पार्ने बेला आइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।