श्रीमान्-श्रीमतीको सम्बन्धमाथि नेपालमा कमै फिल्म बनेका छन्। ०३४ सालमा प्रताप सुब्बाले कथाकार गुरूप्रसाद मैनालीको 'परालको आगो' शीर्षकको कथामा आधारित सोही नामको फिल्म बनाए। दम्पतीबीचको झगडालाई क्षणभरमै निभ्ने परालगको आगोसँग तुलना गरेर लेखिएको कथालाई फिल्मले न्याय गर्यो।
शुक्रबारदेखि हलहरुमा श्रीमान्-श्रीमतीकै सम्बन्धमाथि बनेको फिल्म 'झ्यानाकुटी' रिलिज भयो। अभिनेत्री निशा अधिकारी निर्मित दुई घन्टा २० मिनेट लामो फिल्म दर्शकमाझ नमीठो फिल्मका रूपमा आएको छ।
फिल्ममा मालती (वेनिशा हमाल) र बुधे (सौगात मल्ल) श्रीमान-श्रीमती हुन्। मालतीलाई मासु असाध्यै मनपर्छ। बुधे भने रक्सीको नशामा रमाउँछ। रक्सीका लागि तीन महिनाकी सुत्केरी श्रीमतीले खान ल्याएको मासु बेच्न समेत ऊ पछि पर्दैन। बुधेको यस्तै स्वभावबाट आजित मालती एकदिन यस्तै सानो झगडामा दूधे बच्चा छाडेर हिँडछे। त्यसपछि सुरू हुने मोड नै फिल्मको कथा हो।
गाउँले परिवेशमा जोईपोइको सम्बन्धको कथा भन्ने फिल्म कथाको उठानदेखि नै चिप्लिँदै जान्छ। फिल्म गतिलो गरी पर्दामा बग्न सक्दैन।
पात्रहरुबीचको द्वन्द्वलाई नेपाली समाजको परिवेश अनुरूप भन्न नसक्नु नै फिल्मको कमजोरी हो। फिल्मले ग्रामीण सामाजिक संरचना र मनोविज्ञानप्रतिको अल्पज्ञान पर्दामा छताछुल्ल पारेको छ।
श्रीमान्-श्रीमतीको झगडापछि उनीहरुबीचको सम्बन्धमा खेल्न घुसाइएका पात्र अपरिपक्व र कृत्रिम लाग्छन्। विशेषगरी मालती गायब भएपछि 'बुधेसँगै बिहे गर्छु' भनेर देखा परेकी 'भाञ्जी' पात्र अस्वाभाविक लाग्छिन्। निर्देशकले जुन शैलीमा त्यो पात्रको प्रवेश गराएका छन्, त्यसले फिल्मलाई आलोकाँचो बनाएको छ।
अर्कातिर, फिल्ममा बुधेसँग जसरी पनि 'भाञ्जी'को विवाह गराउन अग्रसर हुने 'मामा' (जीवन भट्टराई) को उपस्थिति पनि अप्राकृतिक लाग्छ। 'मामा' र 'भाञ्जी' दुवै पात्र फिल्मको पटकथा अनुसार 'मिसकास्ट' भएको महसुस हुन्छ।
फिल्मको मूल मर्मबाट पटकथा ठाउँठाउँमा चिप्लिएको छ। श्रीमान्-श्रीमतीको कथा पस्किन केन्द्रित फिल्म दर्शक हँसाउन राखिएको भद्दा र द्विअर्थी संवादका कारण दूषित भएको छ। जबर्जस्ती हँसाउनेतिर अलमलिँदा फिल्मले लय गुमाउन पुग्छ।
सम्बन्धमा थुप्रै मानवीय संवेदनालाई क्यास गर्ने ठाउँ हुँदाहुँदै हल्कापनमा रुमलिँदा दर्शक हाँस्ने ठाउँमा पनि हाँस्न सक्दैनन्। संवेदनाले दर्शकलाई समात्न सकिने थुप्रै ठाउँमा फिल्म चुकेको छ।
पहिलो हाफपछि फिल्मले लय समात्ला कि भनेर अपेक्षा गर्दा पनि त्यसको छनक दिन निर्देशक सिमोस सुनुवारले सकेको देखिँदैन। उनी 'मालती' र 'बुधे' बाहेकका पात्रहरूलाई पात्र अनुसारको मनोविज्ञान र विश्वसनीय व्यक्तित्व प्रदान गर्न असफल छन्। अन्य पात्रहरूको अभिनय धरातलमा नदेखिँदा निर्देशकको काम पर्दामा देखिन्न। फिल्ममा ग्रामीण परिवेशको झल्को दिनै उनी चुकेका छन्।
अभिनयको कोणबाट सौगात र वेनिशाले आफ्नो चरित्रलाई पर्दामा स्वाभाविक बनाएका छन्। पात्रमा जीवन्त रुपमा खुलेकी वेनिशाको अभिनयले दर्शकको मन जित्छ। सौगातले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन्।
फिल्मको छायांकन अब्बल भए पनि सम्पादन भने त्यति कसिलो लाग्दैन। तर, संगीतमा खोट लगाउने ठाउँ छैन। 'भो मलाई चाहिँदैन अर्की'ले दर्शकलाई छुन्छ।
समग्रमा निर्देशक आफ्नो कथाप्रति इमानदार हुन नसक्दा फिल्मले आफूले देखाउन र भन्न खोजेको कुरा भन्न सकेको छैन। 'झ्यानाकुटी'ले दर्शकको अपेक्षालाई कुठाराघात गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।