काठमाडौं– फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न ६ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिबेला पार्टी संगठन सुदृढीकरणको अभियानमा लागेको छ।
दुई वर्षअघि (विसं २०७४ वैशाख ७ गते) पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ।
पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ।
संविधान संशोधनलगायत मुद्दामा संघर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै। बरु सरकारमा सामेल भएर पनि टिकेन।
नेतृत्वको महत्वकांक्षी र परिपक्व एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो। दुई वर्षको अवधिमा पार्टी जहाँको त्यहीँ रह्यो। पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे। पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैं रुमलिएको छ। नेता कार्यकर्तामा सन्त्रास पैदा भएको छ।
गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन। पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ।
पछिल्लो उदाहरणको रुपमा यही बैसाख ७, ८ र ९ गतेका लागि पार्टीको घोषित महाधिवेशन स्थगनलाई लिन सकिन्छ। महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो।
पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो। उक्त निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ।
अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
सोमबारको बैठकमा राजपा अध्यक्ष मण्डलका ६ जना सदस्यको बोल्ने क्रम सकिएको छ। राजपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, नेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशनको पक्षमा छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिन्छन्।
महाधिवेशन सम्बन्धमा राजपाले दुई–दुई विकल्प प्रस्तुत गरेको छ। जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महिनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महिनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ।
त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारबाही कसरी प्रभावकारी बनाउनेसम्बन्धी प्रस्ताव छ।
बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न नसकेको राजपाले एकताको महाधिवेशनसँगै अन्य मधेश केन्द्रित राजनीतिक शक्तिसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ।
पदाधिकारी समितिको बैठकमा उक्त विषयले प्रवेश पाए पनि राजपाभित्रै बेइमेल रहेकाले उक्त प्रक्रियाले सार्थकता पाउने या नपाउने भन्ने अन्योलनै छ। संघीय समाजवादी फोरम नेपालसँग एकीकरणका लागि दुई चरणमा पत्राचार आदन–प्रदान भइसकेको छ।
तथापी पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन।
यतिखेर राजपा महाधिवेशनको सङ्घारमा उभिएको छ। केही महिनाअघि वर्तमान सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको राजपाले पुनः फर्किने वा एजेण्डामा केन्द्रित हुने भन्नेबारे अलमलमै छ।
अर्कोतर्फ आफ्ना मुद्दामा विचार मिल्ने शक्तिसँग गठबन्धन गरी संघर्षमा जाने बताएको राजपा आफैंभित्रको तालमेल मिलाउन सकेको छैन।
विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकले निर्णय लिनेछ। बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारबाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले बताए।
महाधिवेशन नहुञ्जेल राजपामा हरेक दुई महिनाभित्र संयोजक तोकिने प्रावधान रहेको छ। राजपाका १७ जना प्रतिनिधिसभा र दुई जना राष्ट्रियसभामा गरी जम्मा १९ सांसद छन्।
तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) र शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी मिलेर राजपा गठन भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।