रोल्पा- बैसाख २ गतेदेखि देशव्यापी भर्ना अभियान सुरु भएको छ। विद्यार्थीहरु भर्नासँगै नयाँ कक्षा प्रवेशको तयारीमा छन्। बाबुआमा राम्रा विद्यालय खोजीमा भौंतारिइरहेका बेला रोल्पाको एक विद्यालयका विद्यार्थी भने पुरक परीक्षामा व्यस्त देखिएका छन्।
जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माविका विद्यार्थीले पुरक परीक्षा दिएका हुन्। एसइई तथा उच्च शिक्षामा पुरक परीक्षा दिने प्रचलन भए पनि नर्सरीदेखि कक्षा ९ सम्म पुरक परीक्षाको व्यवस्था नौलो हो। खस्कँदो शैक्षिक सुधारका लागि भन्दै सामुदायको अग्रसरतामा जिल्लामा सामुदायिक विद्यालयले पहिलो पटक यस्तो प्रयासको थालनी गरेको हो। जिल्लाको जेठो विद्यालयको रुपमा रहेको सो विद्यालयले ग्रेस अंक दिएर कक्षा उत्तीर्ण गराउने परम्पराको अन्त्य गर्दै यसै वर्षबाट शिशु कक्षादेखि ९ कक्षासम्म पुरक परीक्षाको व्यवस्था गरेको हो। भारी मात्रामा ग्रेस अंक दिएर कक्षा चढाउने परम्पराले शिक्षाको गुणस्तर कायम हुन नसकेको विद्यालयको दाबी छ।
निरन्तर मूल्यांकन, प्रयोगात्मक र वार्षिक परीक्षाको कुल अंकमा 'डी' भन्दा कम अंक ल्याउने विद्यार्थीलाई मौका परीक्षाको रुपमा पुरक परीक्षाको व्यवस्था गरेको बालकल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए। सबै कक्षाको अन्तिम नतिजा प्रकाशनपछि डी ग्रेडभन्दा कम ल्याउनेको अभिभावकसँग छलफल गर्दा पुरक परीक्षाको लागि एक पटक मौका दिनुपर्ने सुझाव पछि यस्तो व्यवस्था गरेको उनले बताए।
विद्यालयले अघिल्ला वर्ष ५० अंक सम्म ग्रेस दिने गरेको थियो। ५० अंक ग्रेस दिँदा अयोग्य विद्यार्थी समेत कक्षा चढ्दै जाँदा समग्र शैक्षिक सुधारमा असर गरेको विद्यालयले जनाएको छ। ग्रेस अंक दिएर कक्षा चढाउने परम्पराले विद्यार्थीमाथि नै अन्याय भएको महसुस गरी नयाँ प्रणालीको सुरुवात गरेको प्रअ पोख्रेल बताउँछन्।
'तल्ला कक्षाको परीक्षा मूल्यांकनमा कडाइ गरे माथिल्लो तहमा समेत यसको सकारात्मक प्रभाव हुने देखियो,' विद्यालय व्यवस्थापन समितिका सदस्य जितबहादुर डाँगीले भने, 'शिक्षकको कृपाले कक्षा चढ्ने प्रवृत्ति बढ्दै जाँदा विद्यार्थीमा मेहनत गर्ने बानी घट्दै जान थालेका कारण नलेखेर पास नहुने परम्पराको सुरुवात गर्न थालेका हौं।'
तल्ला कक्षामा पनि पुरक परीक्षाको व्यवस्थाले शैक्षिक सुधारमा मद्दत पुग्ने सो विद्यालयका अभिभावक कुलबहादुर डाँगीको दाबी छ। 'भारी मात्रामा ग्रेस दिएर कक्षा चढाउने विगतको परम्पराले विद्यार्थीलाई न्याय गरेको थिएन,' डाँगीले भने, 'पुरक प्रणालीसँगै मेहनत गरे मात्रै सफल भइन्छ भन्ने मान्यता स्थापित गर्छ।'
अघिल्लो वर्ष ६ वटा विषयमा अनुत्तिर्ण आफ्नो छोरा ग्रेस अंक पाएर पास भएको एक अभिभावकले बताए। ग्रेस मार्क दिने चलनले नपढे पनि पास भइन्छ भन्ने मान्यता स्थापित गर्दा शैक्षिक अवस्था ओरालो लागको ती अभिभावकको बुझाइ छ। जिल्लामा पहिलो पटक ग्रेस मार्क दिएर पास गराउने परम्पराको अन्त्य गर्दै मौका परीक्षाको व्यवस्था गरेर विद्यालयले विद्यार्थी माथि न्याय गरेको उनी बताउँछन्।
नगर तथा गाउँपालिका स्तरीय परिक्षामा भने ९० अंक ग्रेस
जिल्लाको सो विद्यालयले ग्रेस दिएर उत्तिर्ण गराउने परम्पराको अन्त्य गर्न लागे पनि स्थानीय तह स्तरीय परीक्षा सञ्चालन गराउँदै आएका गाउँ तथा नगर शिक्षा समितिले भने ग्रेस दिने परम्परालाई निरन्तरता दिएका छन्। जिल्ला सदमुकाममा अवस्थित रोल्पा नगरपालिकाले कक्षा ८ को परीक्षामा ६० अंक ग्रेसको प्रावधान लागू गरेको छ।
नगरभित्रका विद्यालयबाट ७ सय ९७ सहभागी उक्त परीक्षामा अधिकांश ग्रेस मार्कको आधारमा कक्षा चढेका हुन्। थवाङ गाउँपालिकाले विद्यार्थीको मूल्यांकन गर्ने सबै जिम्मा सम्बन्धित विद्यालयलाई दियो। जसको कारण थियो विद्यालयको आवश्यकता अनुसार विद्यार्थीलाई कक्षा चढाउने काम गरोस्। जिल्लाका अन्य स्थानीय तहले समेत न्यूनतम ५० देखि अधिकतम ९० अंकसम्म ग्रेस दिएर कक्षा चढाएका छन्। 'ग्रेस नदिँदा सबै विद्यार्थी अनुत्तीर्ण हुन्छन त्यस कारण ग्रेस दिनुको विकल्प छैन,' सुनछहरी गाउँपालिकाका शिक्षा संयोजक नारायण गिरीले भने।
जिल्लाबाट ८ हजार बढी विद्यार्थी कक्षा ८ को परीक्षामा सहभागी थिए। जसमध्ये ए प्लस ल्याउने विद्यार्थीको संख्या १ मात्र देखिएको छ। सदरमुकाममा रहेको बालकल्याण माविका १ विद्यार्थीले मात्र ए प्लस ग्रेड ल्याउन सफल भएको बताइन्छ। कक्षा ८ को परीक्षमा आफ्नो विद्यालयका एक विद्यार्थीले मात्रै ए प्लस ल्याउन सफल भएको बालकल्याण माविका प्रधानाध्यापक मधुसुदन पोख्रेलको दाबी छ। जिल्लाभरबाट १२ जना मात्र ए ग्रेडमा पास भएका छन्।
धेरै विद्यालयको नतिजा शून्य आउने भएपछि ग्रेस मार्क थपेर कक्षा चढाउने निर्णय भएको सम्बन्धित गाउँ तथा नगर शिक्षा समितिका प्रतिनिधिहरुको भनाइ छ। 'सरकारी मात्र हैन निजी विद्यालयको समेत नतिजा अत्यासलाग्दो छ,' नगर शिक्षा समितिका सदस्य खिमवहादुर घर्तीले भने, 'नतिजा अत्यासलाग्दो देखिएसँगै अभिभावकहरुमा भने चिन्ता थपिएको छ।'
ठूलो आर्थिक व्ययभारसहित निजी विद्यालय अध्यापन गराएका अभिभावकहरुले नतिजा राम्रो नआउनुको कारण विद्यालयसँग मागिरहेका छन्। 'नजिता अन्यन्तै निराशाजनक भयो,' अभिभावक कमला रिजालले भनिन, 'अघिल्लो वर्ष शैक्षिक सुधारका ठूलठूला भाषण दिने विद्यालयले समेत शैक्षिक सुधार गर्न सकेनन्।'
रोल्पा नगरपालिका शिक्षा शाखा प्रमुख राजेश धितालका अनुसार अघिल्लो वर्षको तुलनामा नतिजा राम्रो भए पनि सुधार गर्नुपर्ने धेरै छ। 'सबै स्थानीय तह शैक्षिक सुधारका लागि निकै संवेदनशील देखिए पनि अपेक्षाकृत सुधारको संकेत देखिएन,' धितालले भने।
कक्षा ८ को नतिजाले जिल्लाको शैक्षिक अवस्था निकै कमजोर रहेको देखाउने शिक्षा पत्रकार दिनेश सुवेदीको भनाइ छ। शैक्षिक सुधारका लागि स्थानीय सरकारहरु मन वचन र कर्मले नलाग्दासम्म भाषणले मात्रै सुधार सम्भव नहुने उनी बताउँछन्।
स्थानीय तहका शिक्षा शाखाहरु बेवारिसे वन्नु , शिक्षामा पर्यायाप्त लगानी नहुनु जस्ता कारणले जिल्लाको शैक्षिक अवस्था कमजोर बन्दै गएको जानकारहरु बताउँछन्। विद्यालय शिक्षक, कर्मचारी नियुक्ति राजनीतिक आधारमा हुनु, विद्यालय व्यवस्थापन समितिलाई राजनैतिक भर्ती केन्द्र बनाउने जस्ता कार्यले समेत जिल्लाको शैक्षिक विकास उँभो लाग्न नसकेको उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।