काठमाडौं– ‘नयाँ पुस्ताको कवितालाई पढ्नुपर्यो भने सबैभन्दा पहिले अनुहारको भीडको नाम आउनेछ,’ कवि एवं गीतकार श्रवण मुकारुङले एक अन्तरक्रिया कार्यक्रममा भने।
साठीका दशकपछि कस्ता कविता लेखिएका छन् भनेर खोजियो भने अनुहारको भीड नै पहिले खोजिने कुरामा कुनै सन्देह नरहेको उनले बताए।
गत शनिबार १७ कविहरूको संयुक्त कविता संग्रह ‘अनुहारको भीड’ सार्वजनिक भयो। जो ६० को उतरार्द्ध र ७० को सुरुवातदेखि कविता लेखिरहेका नयाँपुस्ता समेत हुन्।
महेन्द्र पुलिस क्लबको सभाहलमा शुक्रबार आयोजित उक्त संग्रहको अन्तरसंवाद कार्यक्रममा कवि मुकारुङले नयाँ पुस्ताले यसरी संग्रह निकालेर ठूलै साहस गरकोमा खुसी व्यक्त गरे।
१७ कविलाई ‘सत्र भाइ’ को संज्ञा दिँदै कवि मुकारुङले यिनै ‘सत्र भाइ’बाट भोलि प्रतिष्पर्धा भएर कवितामा फिल्टर हुने बताए।
कार्यक्रमका अर्का वक्ता कवि एवं गीतकार विप्लव प्रतीकले एउटा युगको कविता भन्नलाई हजारौं कवि जन्मनुपर्ने बताए। ‘संग्रहभित्रका सबै कविता पढेँ। अनुहारको भीड पढेपछि हरेकको आ–आफ्नो अनुभूति, आ–आफ्नो भोगाइबाट उनीहरूले आफ्नै युगको कथा भनेका छन्,’ कवि प्रतीकले भने, ‘यी कविता ७० को दशकका प्रतिनिधि कविता हुन् पनि र हैनन् पनि।’
कविता लेख्न लामो यात्रा तय गर्नुपर्ने हुँदा आफू पनि सोही यात्राबाट संघर्ष गर्दै आएको कवि प्रतीकको भनाइ छ।
कार्यक्रमको अर्की वक्ता समालोचक एवं निबन्धकार कुमारी लामाले यस संग्रहभित्रका अधिकांश कविता जीवनको गहिरो चिन्तनमा केन्द्रित भएको बताइन्।
‘जीवन चिन्तन प्रखर ढंगबाट आएको छ। तर, समाजसँग कम संवाद गरिएको हो कि?’ समालोचक लामाले भनिन्, ‘यद्यपि, यी कविताहरू जीवनका साना तिना कुरामा अल्झिएका भने पक्कै छैनन्।’
उनले अहिलेका कविहरूले नारामात्र लेखिरहेका छैनन् भन्दै कवितामा सौन्दर्यचेत र कला पक्ष सशक्त ढंगले देखा परेको बताइन्।
संग्रहका सम्पादक एवं संग्रहभित्रका कवि नवीन प्यासीले यसमा आफूहरूले आफ्नै परिचय खोजेको बताए।
‘हामीले जनयुद्ध र राजनीतिक संक्रमण भोगनौं। हामीसँग लेख्ने म्याटर छैन,’ उनले भने, ‘त्यसैले हामीले समाजका क्रिया प्रक्रियाको बीचमा आफ्नो अस्तित्व खोजेका छौँ।’
कार्यक्रमको सहजीकरण कवि नरेन्द्र कुमार नगरकोटीले गरेका थिए।
संग्रहलाई इण्डिगो इन्कले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।