शनिबार, अक्टोबर १०
बालबालिकाको जीवन समृद्ध होस् र उनीहरूको समय पनि अर्थपूर्ण रूपमा व्यतीत होस् भनी सबै बालबालिका, त्यसमा पनि अवसर नपाएका बालबालिकामा पर्याप्त मात्रामा रूचिको विकास हुनु आवश्यक हुन्छ। हालसम्म मैले उनीहरूको वरिपरिको वातावरणलाई सुन्दर बनाएर त्यसप्रति उनीहरूको रूचिलाई बढावा दिने प्रयास गरेकी छु। पुस्तकालय घन्टीमा उनीहरू पढ्नमै रमाउन् र फरेस्ट्री क्लबको माध्यमबाट उनीहरूको प्राकृतिक वातावरणबारे थप जानकारी हासिल गरुन् भन्ने मेरो सोचाइ छ। यस समुदायको अर्को सम्पन्न स्रोत भनेको रेड इन्डियनहरूको लोकगाथा पनि हो। मैले यस्तो प्रकारको जीवन्त सङ्ग्रहालयलाई बालबालिकाका लागि खुला पनि गरेकी छु।
आज मैले क्याथराइन, फ्य्राङ्क, रुथ र सोफियालाई लिएर गएँ। हामी चट्टान गुफातिर गयौँ। कुनै बेला रेड इन्डियनहरू पैदल हिँड्ने गरेको नदीको किनारै किनार अगाडि बढ््यौँ। मैले रेड इन्डियन हिँड्ने गरेको पुरानो बाटो, चिफ तामेनन्द, स्क्वा बस्ती, र काउन्सिल ट्रीबारे उनीहरूसँग कुराकानी गरें। कुनै बेला यस स्थानका आदिवासीका रूपमा रहेका मिन्सी कविलाबारे पनि छलफल गर्यौँ।
सोमबार, अक्टोबर १२
आज बिदाको दिन बिहानै मैले समूह ‘ए’ का बाँकी (राल्फ, अन्ना, ओल्गा र डोरिस) लाई लिएर रेड इन्डियनको गाउँतिरको यात्रामा निस्किएँ। पहिलो समूहको तुलनामा यिनीहरू अलिक शान्त मिजासका थिए। ओल्गाका लागि यस्तो यात्रा आफैँमा पहिलो अनुभव रहेछ। यति छोटो पनि यात्रा गरेकी रहिनछन्। हाम्रो कुराकानी प्रकृति र रेड इन्डियनबारे भयो। मैले फरेस्ट्री क्लबलाई हाम्रो पृथ्वीको यस भागको निर्माणसम्बन्धी कथा सुनाएपछि, राल्फले फोसिलको खोजीमा विशेष रुचि लिएको छ।
नदीको बाटो जाँदै गर्दा राल्फले चट्टानको तहहरूमा देखिने गरेको फोल्ड देखाएर यसबारे सोध्यो। मैले बालबालिकाले सोचेका कुरा बताउन प्रोत्साहित गरेँ र त्यस क्षेत्रको भौगर्भिक विकासबारे उनीहरूमा पनि जानकारी भएको पत्ता लगाएँ।
बेलुकी फरेस्ट्री क्लबका २० जना पिकनिक खान गयौँ। रातीको खाना खाइसकेपछिको सरसफाइमा बालबालिकाको साथ सहयोग प्राप्त भयो। हामीले फोहोर पनि जलायौँ। राल्फ र फ्य्राङ्कले ठूलो मुढा ल्याएर आगोमा हालिदिए। हामीले त्यसको वरिपरि बसेर रमाइलो गर्यौँ। हामी केहीबेर शान्त रह्यौँ। सल्लाको वनको सुगन्ध पनि लियौँ। झरनाको झरझर आवाजको आनन्द पनि लियौँ।
माध्यमिक कक्षाकी एक बालिकाले हामीलाई धेरै रमाइला कथाहरू सुनाइन्। त्यसपछि मैले उक्त समूहलाई रेड इन्डियनको पौराणिक कथा र स्कनी उन्डी कथाहरू सुनाएँ। उनीहरूका लागि योभन्दा गजब त के हुन सक्थ्यो होला र ! मलाई रेड इन्डियनहरूको कथा भन्न निकै रमाइलो लाग्थ्यो र म यसमा निपुण पनि थिएँ।
मैले भनेँ, ‘बालबालिका हो, मेरा कुरा सुन, म तिमीहरूलाई दलदले भूमिका बोक्सिनीलाई मारेर यिनीहरूलाई घाँसको पहाड बनाउने नायक स्कुनी उन्डीको बहादुरीबारे बताउँछु।’
त्यसपछि हामी सबै प्रकारका गीत, क्याम्प गीत, राउन्ड गीत, काउब्वाय गीत र पुराना लोकप्रिय गीत अनि धेरै प्रकारका लोकप्रिय लय गायौँ। यति गरिसकेपछि हामी सबैको घर जाने समय भयो। श्री थम्सन महोदय आफ्नो ठूलो ट्रकमा आए र सबै बालबालिकालाई भेला पारी आफ्नो घरतिर लिएर गए।
मङ्गलबार, अक्टोबर १३
कुराकानीको हरेक मोडमा मैले ‘पिकनिक जाऔँ’ भनेको मात्रै सुनेँ। हरेकले एक आपसलाई प्रेम गरे। आ–आफ्नै तरिकाले अगाडि बढिसकेपछि हामीले निकै प्रगतिसमेत गरेका थियौँ।
मध्यम श्रेणीका बालबालिकाले आफ्ना इतिहासका पुस्तकमा अर्को एकाइ सुरु गरेका छन्। हामीले समस्याको अर्थमाथि छलफल गर्यौँ। यस एकाइमा आदिवासीमध्ये प्रमुख तीनवटाबारे जानकारी दिइएको थियो। प्रमुख समस्या समाधानका लागि तीनवटा विस्तृत प्रश्न पनि त्यहाँ थिए। यी प्रश्नको जवाफ दिइसकेपछि उनीहरू समस्या समाधानार्थ कथाको सारांश लेख्नका लागि उत्तरको उपयोग गर्थे। दिइएको कामको रूपमा प्रश्नको जवाफ लेख्ने विशेष प्रश्नको सम्बन्धमा भन्दा पनि समस्या समाधानका रूपमा मैले बालबालिकालाई सहयोग गरिरहेकी थिएँ। बालबालिकाका लागि यो मेरातर्फबाट दोस्रो कदम थियो।
बुधबार, अक्टोबर १४
कामबाट वरिपरि हेर्दा सिटहरू खाली देखेँ। हामीले बिहान बनाएको योजनाअनुसार नै विद्यालय भवनअगाडि अडिएर सुन्तलाको टोकरीको काठबाट बालबालिकाले खेलौना घर बनाइरहेका थिए। साना बालिकाहरूले आफ्ना गुडियाका लागि कपडा बनाउँदै थिए। केही ठूला बालबालिका आफ्ना खस्रा कपडा प्रयोग गरेर मनोरञ्जनका साधनका लागि विज्ञापनको पोस्टर बनाउने काममा जुटेका थिए। अरू आ–आफ्ना डेस्कमा अङ्कगणित, हिज्जे र पठनका लागि व्यस्त थिए।
स्वास्थ्य शिक्षा निकै राम्रो छ। हामीले दैनिकभन्दा पनि साप्ताहिक मूल्याङ्कन गर्यौँ। हार्नेहरूलाई तयारीका लागि एक हप्ताको समय हुन्थ्यो। हिजो बेस–बल हार्ने समूहले आज लङबल जित्यो। त्यसले गर्दा केवल एक अङ्कको मात्रै फरक पर्थ्यो।
बिहीबार, अक्टोबर १५
दिनहरू कति व्यस्त हुन्थे भने हामीले खेलको अभ्यासको लागि थोरै मात्र समय दिन भ्याउँदथ्यौँ। बालबालिका खुसीसाथ दिउँसोे यसमा संलग्न हुने गर्थे। तयारी कमजोर खालको हुन्थ्यो। बालबालिकाले रेड इन्डियनको नाच निकै रमाइलो मान्दथे। यस्तो जीवन्त दृश्यप्रति उनी निकै रमाइलो मानेर हाँस्ने गर्थे। त्यस्तो बेला हामी रोकिएर पर्खंदै, एकोहोरो हेर्ने गर्दथ्यौँ। मनोरञ्जनात्मक रातमा के हुने हो भन्ने कुराप्रति मलाई डर रहिरहन्थ्यो।
(अमेरिकी शिक्षाविद् जुलिया वेबर गर्डनको पुस्तकको नेपाली अनुवाद 'ग्रामीण स्कुलमा चार वर्ष' पुस्तकको अंश। यो पुस्तक इन्डिगो इन्कले छापेको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।