राजविराज– मदिरा र लागुऔषध व्यवसाय फस्टाएपछि सप्तरीको प्रसिद्ध शक्तिपीठ सखडेश्वरी भगवती मन्दिर र आसपासका क्षेत्रमा असुरक्षा बढेको छ। छिन्नमस्ता गाउँपालिका ३ मा रहेको मन्दिर आसपासमा निर्बाध रुपमा मदिरा र लागुऔषधको बिक्री-वितरण हुने गरेको छ। विद्यालय, मन्दिर लगायतका सार्वजनिक महत्वका स्थलमा मदिरा बिक्रीवितरण गर्न नपाउने व्यवस्था भए पनि मन्दिर आसपासमा २ दर्जनभन्दा बढी मदिरा पसल सञ्चालनमा छन्।
अनुमति लिई/नलिई बग्रेल्ती खुलेका पसलबाहेक किराना पसलमा पनि मदिरा बिक्रीवितरण हुन थालेको स्थानीयले बताए। उनीहरुका अनुसार भारतको विहार राज्यमा मदिरा निषेध गरिएपछि सोही क्षेत्रका मानिसलाई लक्षित गरी मदिरा पसल खुल्ने क्रम बढेको हो। तर, त्यसको असर भने आफनै गाउँ–समाज र मन्दिरमा पूजापाठका लागि आउने भक्तजनमा परेको छ।
नेपाल–भारतको खुल्ला सिमानाका कारण पछिल्लो समय भारतीय क्षेत्रबाट मदिरा सेवनका लागि नेपाल आउने र नेपालबाट लागुऔषध प्रयोगका लागि भारत जाने प्रवृत्ति बढेको हो। यही प्रवृत्तिका कारण चोरी, तस्करी, हत्या, हिंसा लगायतका आपराधिक घटना बढेको स्थानीय बताउँछन्।

केही दिनअघि मात्रै मन्दिर प्रांगणबाट दुई जनाको नगद चोरी भएको थियो। मन्दिर दर्शनका लागि आएका एक भारतीय नागरिकको १० हजार भारु र अर्का नेपाली नागरिकको ७ हजार रुपैयाँ पाकेटमारले निकालेको मन्दिरका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिए। मन्दिर र मन्दिर प्रांगणभित्र पछिल्लो समय पकेटमारी र चोरीका घट्ना बढेको उनले बताए। ‘सानातिना चोरीका घटना निरन्तर भइरहेका छन्,’ ठाकुरले भने, 'घटनाको प्रकृति हेर्दा यसमा मदिरा र लागुऔषध प्रयोगकर्ताकै संलग्नता देखिन्छ।’
इलाका प्रहरी कार्यालय सखडाका सई सुरेश यादवले मन्दिर आसपासमा मदिराका पसल भए पनि धेरैजसो पसल अनुमति लिएरै खुलेकाले तत्काल हटाउन र नियन्त्रण गर्न नसकिएको बताए। नयाँ ऐनको मस्यौदामा सार्वजनिक स्थलभन्दा ३ किलोमिटरको दुरीभित्र मदिरा पसल सञ्चालन गर्न नपाउने व्यस्था रहेकाले त्यसपछि भने मदिरा नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ।
के गर्दैछ स्थानीय सरकार?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सुर्ती, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धिको जिम्मा स्थानीय तहलाई दिएको छ। तर, स्थानीय तहमै देखिएको अलमलका कारण छिन्नमस्ता गाउँपालिकाले हालसम्म पनि यसको नियन्त्रणमा ध्यान पुर्याउन सकेको छैन।
आन्तरिक कलह, असहमति र अलमलका कारण छिन्नमस्ता गाउँपालिकाको गाउँसभा समेत हुन सकेको छैन। सोच अनुसार काम गर्न नसक्दा आफूलाई जनप्रतिनिधि भन्न पनि लाज लाग्न थालेको वडाध्यक्षहरु वताउँछन्। ‘जुन उद्देश्यले चुनाव जितेर आइयो, त्यो अनुसार एक प्रतिशत पनि काम गर्न सकिएको छैन,’ वडा नं ३ का अध्यक्ष दिपेन्द्र यादव भन्छन्, ‘आँखाअगाडि असुरक्षा, अव्यवस्था र अराजकता बढेर गएको छ, हामी केही गर्न सक्दैनौं।’

आफ्नो वडामा मात्रै २ सय १६ वटा मदिरा पसल सञ्चालनमा रहेको अध्यक्ष यादवले जानकारी दिए। ‘मदिराकै कारण चोरी, तस्करी र महिला हिंसाका घटना बढेका छन्,’ उनले थपे, ‘न्यायिक समितिमा आउने ८० प्रतिशत उजुरी मदिरा सेवनका कारण हुने कुटपिटसँग सम्बन्धित छन्।’
सुरक्षाका लागि सिसी क्यामेरा
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरी भने पदाधिकारीको असमझदारीका कारण कुनै पनि गतिविधि गर्न नसकिएको बताउँछन्। ‘मदिराको नियन्त्रण र व्यवस्थापनका लागि कार्यविधि चाहिन्छ, गाउँसभा नै नभएकाले कार्यविधि ल्याउन सकिएको छैन,’ उनले भने, ‘फागुनभित्रै गाउँसभा सम्पन्न गराउने प्रयास गरिरहेका छौं, कार्यविधि बनाएर त्यसलाई नियन्त्रण गर्ने योजनामा छौं।’
मन्दिर र भक्तजनको सुरक्षाका लागि गाउँपालिकाले सिसी क्यामेरा जडान गर्ने योजना बनाएको उनले जानकारी दिए।
सदरमुकाम राजविराजबाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमा नजिकै रहेको छिन्नमस्ता भगवती मन्दिर मुलुकका प्रसिद्ध शक्तिपीठहरु मध्ये एक हो। भगवतीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ। मन्दिरमा नेपालका अतिरिक्त भारतको दिल्ली, कलकत्ता लगायतका स्थानबाट समेत दर्शनार्थीहरु दर्शन तथा पूजापाठका लागि आउने गरेका छन्। मनोकामना पूरा भएपछि बलि दिन आउनेहरुको पनि यस मन्दिरमा बर्सेनि भिड लाग्ने गरेको छ। यस मन्दिरमा बोका, भेडा, परेवा, हाँस, माछा लगायतको बलि दिने गरिन्छ।
मन्दिरको इतिहास
करिब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाको रूपमा थियो। त्यहाँ स्थानीय बासिन्दा च्याखुरी नानी र चुनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट संकलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए। तर विसं १९९० सालको भूकम्पमा भत्किएकाले त्यस बेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाएका थिए। त्यसपछि २०२८ सालमा तत्कालीन भारतीय रेलमन्त्री ललित नारायण मिश्रले पक्की मन्दिरको साथै तीनकोठे धर्मशाला पनि बनाउन लगाएका थिए।

यसैगरी, २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणको लागि ५ लाख रुपैयाँ सहयोग गर्दै भगवतीको प्यागोडा शैलीको भव्य मन्दिरको निर्माण गराएको पीठाधीश ठाकुर बताउँछन्।
प्राचीन इतिहास र किंवदन्तिअनुसार, सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आइपुगेका थिए। उनले सिम्रौनगढ (बारा) मा राजधानी कायम गरे। यिनै नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भएका थिए। उनी नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आए।
त्यसबेला जंगलले ढाकिएको यस स्थानमा जंगल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उनले आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखे भन्ने भनाइ छ। देवीको शिर नभएकोले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।