ललितपुर - खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन। हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी।
उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा लिए। कुनै पनि चलचित्रमा आकाशबाट अभिनय नगरेका हुसेनले वास्तविक जीवनमै पहिलोपटक उडेर अविस्मरणीय क्षण सङ्गाले। “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भने।
उड्ने बेलामा केही सेकेण्ड कुद्नु पर्छ । कुद्दा अनि आकारमा अप एण्ड डाउन तथा स्वीप हुँदा अलि डरजस्तो लागे पनि त्यसको आनन्द छुट्टै रहेको भन्दै हुसेनले एक किसिमको प्यारासुटसँगको खेलको अनूभूति गराएको सुनाए। अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा चराझैँ उडेर नयाँ अनुभव लिए। आलेले भने, ' सुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो ।”
डेढ दशक अघि पोखराको सराङकोटबाट सुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ। देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि मजा लिन अब पोखरा धाउनुपर्दैन।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताउछन् । काठमाडौँबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताए।
तीन करोड लगानी
विगतका बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ हाल तीन करोड लगानीमा पुनः यही डिसेम्बर अन्तिमबाट सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ।
काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको छ। यसका निर्देशक नीरज पन्तले दृष्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा व्यवसाय सन्तोषजनक हुन नसकेको बताए।
सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थालेका थिए। सन् २०११ देखि १४ सम्म राम्रो चलेको थियो। भूकम्पछि भने खासै चल्न नसकेको पन्तले बताए। कोरियाली च्याङ जिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु तीन करोड बढीको लगानीमा यही अहिले पुनः सञ्चालनमा ल्याइएको हो।
यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्ने छ। छ वटा ग्लाइडर छ। गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट सुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ। पोखराभन्दा उच्च स्थानबाट यहाँ उडान हुन्छ।
काठमाडौँबाट १५ किलोमिटर गोदावरी वनभोजस्थलमा गाडीको सहज यात्रापछि करीब झण्डै पाँच किलोमिटर जङ्गलको कच्ची बाटो उकालो लागेपछि आउँछ चापाखर्क । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ। हावाको बेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिन सक्छ भने कहिले नहुन पनि सक्छ ।
उडानका लागि सरकारले निश्चित क्षेत्र तोकेको छ। त्योभन्दा बाहिर जान पाउँदैन । अहिले प्रारम्भिक चरणमा दैनिक दुईदेखि पाँच वटासम्म उडान भर्दै आएको छ। कुनै दिन २० सम्म उडान भरेको अनुभव सञ्चालकको छ।
प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौँ आउने जाने यातायातसम्म जोडेर आठ हजार रुपैयाँ शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी र छ हजार ५०० रुपैयाँ मा उडान गरिरहेको छ। विदेशीलाई भने ११ हजार ३०० शुल्क लाग्छ।
यहाँको मुख्य विशेषता भनेको डाँडाकाँडा, हरियाली वन र सुन्दर उपत्यकालाई नियाल्न सकिन्छ । स्वच्छ हावापानी, रोमाञ्चक दृष्यावलोकनसँगै मौसम खुल्दा लाङटाङ हिमशृङ्खलासँगै गणेश, गौरीशङ्करलगायत हिमाल देख्न सकिन्छ।
नगरकोटबाट देखिने सबै हिमाल देखिने र सुन्दर उपत्यकासमेत नियाल्न पाउने भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्दाको मजा छुट्टै छ । उपत्यका नजिकै शङ्करापुरमा पनि अहिले प्याराग्लाइडिङ सञ्चालनमा छ। नेपालमा करीब २०० पाइलट छन् भने ६५ प्याराग्लाइडिङ कम्पनी छ।
थर्मल (तातो हावा) पायो भने घुमेरमाथि पनि चढ्न सकिन्छ। बुधबार दिनभर हावा उल्टो बहेकाले चार वटा फ्लाइट हुन सकेन । आज चार फ्याइटको बुक भएको छ। हावाको बहावसँग खेल्ने भएकाले हावा राम्रो भयो भने दुई हजार ५०० मिटर माथिसम्म जान सकिन्छ।
आठ वर्षदेखि उडान भर्दै आउनुभएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।