काठमाडौं– सन्तान गुमाउँदाको असली पीडा आमाभन्दा अरु कसले पो महसुस गर्न सक्ला र?
८६ वर्षीया रामकुमारी श्रेष्ठलाई त्यही पीडामा दिन कटाउनु परेको छ।
उ बेलाको समय त्यस्तै थियो-जसका धेरै सन्तान, गाउँका सम्पतिवाला उनै। बुढापाकाले आशिष दिन्थे- छोराछोरीले डाँडाकाँडै ढाकुन्।
रामकुमारीले पनि ‘भगवानको प्रसाद’ भन्दै जन्माएकी थिइन्, ११ सन्तान।
४ छोरा थिए, ३ छोरी।
प्राकृतिक मृत्यु भएको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो-यो संसारको रितै यस्तै।
तर, उनका दुई छोरा उनीबाट जबरजस्ती छिनिएका थिए। हत्या भएको उनीहरूको।
ओखलढुंगा, पोकलीकी रामकुमारीका दुई छोरा देशमा चलेको सशस्त्र युद्धका सिकार भए। १६ वर्षअघि काँइलो छोरा गुमाएकी रामकुमारीले त्यसको चार वर्षपछि माइलो छोरा गुमाउनुपर्यो।
१० असार २०५५ मा उनका काँइला छोरा उज्जनकुमार श्रेष्ठको हत्या भयो। पूर्व माओवादी सांसद बालकृष्ण ढुंगेल र उनका राजनीतिक सहयात्री पुष्कर गौतमले हत्या गरेको शंका उज्जनको परिवारलाई थियो।
पछि अदालतले यही कुरा प्रमाणित पनि गर्यो।
भाइका निम्ति न्याय माग्न अदालतको ढोकामा पुगेपछि दाइ गणेशको पनि हत्या भयो, ६ मंसिर ०५९ मा।
उज्जनको हत्यामा दोषी प्रमाणित भएपछि ढुंगेल र गौतमले अदालतबाट जन्मकैदको सजाय पाए। ढुंगेल ६ महिना मात्र जेल बसेर राजनीतिक पहुँच र शक्तिका आडमा बाहिर निस्किए।
उज्जनको हत्यामा रामकुमारीले अपुरो न्याय पाइन्, गणेशको अझै मुद्दा चलिरहेको छ, जनकुपर उच्च अदालतमा। अधकल्चो न्यायले उनलाई सन्तोष होइन, बेचैनी दिइरहेको छ। छोराको अपुरो न्यायमा तड्पिरहेकी छन् रामकुमारी।
उनी आफ्ना छोराहरूको कुनै गल्ती भएको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो भन्ने ठान्छिन्। ‘कुनै गल्ति गरेर मारेको भए मेरोे छोराले गल्ती गरेको थियो भन्नुहुन्थ्यो,’ उनको दुखेसो छ, ‘काँइलालाई बाटैमा मार्यो, माइलो छोरालाई खेतमा धान उठाउँदा उठाउँदै मारिदिए। यो भन्दा ठूलो अत्याचार के हुन्छ?’
छोराहरूको सम्झनाले पच्छ्याइरहन्छ उनलाई। अहिले १६ वर्ष भयो, छोरा गुमाएको। बाँचुञ्जेल छोरा गुमाउँदाको पीडाले नछाड्ने सुनाउँछिन् उनी।
‘आफ्ना छोराछोरीको सम्झना त आइहाल्छ नि,’ खस्नै आँटेको आँसु रोक्ने प्रयास गर्दै उनले भनिन्, ‘बाँचुञ्जेल सम्झना आइरहन्छ। मरेपछि मात्रै सम्झना हराउँछ होला।’
गाउँमा खेतीपाती, सनोतिनो व्यापार थियो श्रेष्ठ परिवारको। सकेसम्म गाउँलेलाई सहयोगै गर्थे उनीहरू। उनीहरूलाई गाउँलेले पनि राम्रै मान्थे।
तर, छोराको हत्यापछि काठमाडौं आएकी रामकुमारी १६ वर्षमा एक पटक पनि गाउँ फिरेकी छैनन्। फर्केर जान पनि मन लाग्दैन उनलाई। ‘जहिले त्यो घटना भयो त्यसपछि मलाई निद्रा पनि लागेन्, भोक पनि लागेन,’ उनी सम्झिन्छिन्, ‘मलाई बोकेर काठमाडौँ ल्याइएको थियो। त्यहाँदेखिन म फर्केर गएकी छैन। मलाई त्यो ठाउँमै फर्केर जान मन लाग्दैन।’
छोराका हत्याराले अदालतले तोकेको सजाय नपाउँदा घाउमा नुनचुक छर्केझैं भएको छ उनलाई। ‘एउटा निस्कियो, अर्को अझै जेलमा छ,’ उनी सुनाउँछिन्, ‘नियम पूरा गरिदिएन। जन्म कैदको सजाय थियो बीचमै छुटाए। उनीहरूले अदालतले भने बमोजिम पुर्याएनन्।’
पूरा न्याय पाइयोस् भन्ने उनको चाहाना छ। तर, त्यसो होला भन्ने आशा–भरोसा भने छैन। ‘बोलेको कुरा नपु¥याउने’ सरकारले आफूलाई पुरा न्याय देला भन्ने भरोसा नै नभएको बताउँछिन् उनी। भन्छिन्, ‘सरकारै बलियो छैन, के गर्नु? बोलेको कुरा पुर्याउँदैन सरकारले।’
छट्पटाइरहेका बुहारी
छोरा गुमाएको पीडामा जति रामकुमारी डुबेकी छन्, त्यतिकै पीडामा छन् उनका बुहारीहरू पनि।
उज्जनकी श्रीमती हुन् लक्ष्मी श्रेष्ठ। उनी १८ वर्षकी छँदा उज्जनसँग विहे भयो। पतिको हत्या हुँदा उनी सिन्धुलीमा (माइती) थिइन्।
त्यतिबेला ससुरा बुवा बिरामी भएको भनेर उनलाई घर बोलाइएको थियो। जब उज्जनको हत्या भन्ने कुरा थाहा पाइन्– उनी ममार्हत बनिन्।
उज्जनको माइला दाजु गणेशकी श्रीमती हुन् लक्ष्मीदेवी। अहिले ५३ वर्षकी भइन्।
विगत १६ वर्षदेखि श्रीमान् गुमाउँदाको पीडामा पिल्सिरहेकी छन् उनी।
आफ्ना प्रिय पति मारिदिएपछि जिन्दगीप्रतिको भरोसा उनीबाट उडेको थियो। तर, दुई छोराको खुसीको लागि पनि पीडा लुकाएर हाँस्न परिरहेको छ।
उनी आफूले मात्रै नभई सबैले न्याय पाऊन् भन्ने कामना गर्छिन्। भन्छिन्, ‘हामीले मात्रै होइन सबैले न्याय पाइदिए हुन्थ्यो।’
पति गणेशको हत्या हुँदा लक्ष्मीदेवी काठमाडौंमा थिइन्। बिरामी भएर उनी उपचारका लागि यहाँ आएकी थिइन्। श्रीमानको हत्या भएको उनले पाँच दिनपछि मात्रै थाहा पाइन्।
भाइको न्यायका निम्ति लड्दा लड्दै गणेशको पनि हत्या भएको थियो। जनकपुर उच्च अदालतमा पतिको न्यायका लागि अझै मुद्दा लडिरहेकी छिन् उनी।
पति वियोगको पीडा त छ छँदै थियो, अर्को पीडा थपियो उनलाई, जब छोरीले आत्महत्या गरिन्। बुवा गुमाउनु परेको पीडाले आत्महत्या गरेकी थिइन् छोरीले।
न्याय पाइएला त?
‘आशा त गनुपर्यो,’ यत्ति छ, यसमा उनको जवाफ।
यसरी भएको थियो त्यो घटना
पोकली गाउँका व्यापारी जगतदास श्रेष्ठका छोरा थिए, उज्जन र गणेश। उज्जनमाथि बहुविवाह र युवतीलाई दुव्र्यवहार गरेका अरोप लागेका थिए।
यसैलाई देखाउँदै गाउँ नछाडे ‘जनकारबाही’ गर्ने धम्कीसमेत आएको थियो भूमिगत माओवादीबाट।
गाउँमा जगतदासको पारिवारिक पानीघट्ट थियो।
त्यसको समान बिग्रिएपछि दुई भरिया लिएर उज्जन घट्ट मर्मतका लागि छिमेकी जिल्ला रामेछापको धोबीहाट जाँदै थिए।
१० असार ०५५ को बिहानै ४ बजे उनलाई माओवादीले गोलि हाने। परिवारले शव भेट्टाएनन्, तर रगतले लत्पतिएको घटनास्थल देखे। प्रत्यक्षदर्शीले बिभत्स ढंगले उज्जनको हत्या गरेर खोलामा बगाइदिएको बताएका थिए।
भाइको हत्याविरुद्ध दाइ गणेशकुमारले बालकृष्ण ढुंगेल, पुष्कर गौतम लगायत १५ जना विरुद्ध प्रहरीमा जाहेरी दिए। धानखेतमै काम गरिरहेका बेला ६ मंसिर ०५९ मा गणेशको पनि हत्या भयो।
त्यो घटनापछि प्रहरीबाट गाउँमा पक्राउ र धरपकडका धेरै घटना भए।
उज्जन हत्याको मुख्य अभियुक्तका रुपमा २१ वैशाख ०६१ मा ढुंगेल र गौतमलाई जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्म कैदको फैसला सुनायो।
तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र कृष्ण ढुंगेलले गोली हानेको अभियोग थियो।
गौतम बालकृष्णका राजनीतिक सहयात्री थिए। पुष्करले बालकृष्णसँगै जनमोर्चा नेपालबाट राजनीति प्रवेश गरेका थिए।
जिल्ला अदालत ओखलढुंगाको फैसलापछि पक्राउ परेका ढुंगेल पुनरावेदन अदालत राजविराजले ११ असार ०६३ मा फैसला उल्टाएपछि रिहा भए।
तर, सर्वाेच्च अदालतले १९ पुस ०६६ मा जिल्ला अदालतकै फैसला सदर गर्यो। ढुंगेलले आफूविरुद्ध फैसला गर्ने ‘न्यायाधीशको तिघ्रा चिर्ने’ धम्कीसमेत थिए। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अबहेलना मुद्दा दर्ता गराए।
३१ चैतमा सात दिनभित्र पक्राउ गरी प्रतिवेदन दिन प्रहरी महानिरीक्षकको नाममा सर्वोच्चबाट आदेश भएपछि उनी १५ कार्तिक ०७४ मा पक्राउ परेका थिए।
त्यसको ६ महिनापछि सकारले ‘असल चालचलन’ भएको भन्दै १५ जेठ २०७५ मा गणतन्त्र दिवसका दिन ढुंगेललाई आममाफी दियो। माफी नपाएको भए ढुंगेल ५ वैशाख ०८७ सम्म जेलमै रहनुपर्दथ्यो।
तर, एउटै मुद्दामा कैदमा रहेका अर्का पूर्वमाओवादी नेता गौतमलाई भने सरकारले आममाफी दिएन। उनी भने अहिले पनि केन्द्रीय कारागारमै सजाय काटिरहेका छन्।
सबै तस्बिरः निमेषजंग राई/नेपाल लाइभ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।