बिबिसी : बिहारको खजुराहो मानिने नेपाली मन्दिरको मर्मतसम्भार नहुँदा भत्कने स्थितिमा पुगेको छ । प्रायः सुनसान रहने मन्दिर परिसरमा कोही झुल टाँगेर सुतेका छन् भने कसैले आफ्नो कार पार्किङ गर्ने ग्यारेज बनाएका छन्।
प्रवेशद्वारमा नै राखिएको वैधानिक सूचना पाटीमा मन्दिर बिहार राज्य सरकारद्वारा संरक्षित स्मारक भएको उल्लेख भए पनि परिसरभित्र केही मानिस तास खेलिरहेका छन्।
हाजीपुरको कौनहारा घाटमा निर्मित ‘बिहारको खजुराहो’ वा ‘मिनी खजुराहो’का रुपमा प्रसिद्ध नेपाली मन्दिरको कुरा हो यो। सुन्दर काष्ठकलाले सिंगारिएको भगवान शिवको यो मन्दिरमा कामकलाका विविध आसन चित्रित छन्।
‘हामीरू पुराना कलाकारले बनाएका अनुपम काष्ठकला हेर्न आएका हौं,’ बिदुपुरबाट मन्दिर हेर्न गएका १२ औं कक्षाका विद्यार्थी विपिन भन्छन्, ‘यी काष्ठकलाका नमुना नष्ट भए भने अहिलेका कुनै कलाकारले पनि काठमा यस्तो कौशल देखाउन सक्दैनन्।’

मन्दिर हेर्न आएका अन्य व्यक्तिजस्तै विपिन पनि मन्दिरका टुँडालमा निर्मित कामकलाका विभिन्न आसनसम्बन्धमा सोझो रुपमा केही टिप्पणी गर्दैनन्।
‘यो मन्दिरको निर्माण १८औं शताब्दिमा नेपाली सेनाका कमान्डर माथवरसिंह थापाले गराएका थिए,’ पटना संग्रहालयका पूर्वनिर्देशक उमेशचन्द्र द्विवेदी भन्छन्, ‘नेपाली कलाकौशलले सुसज्जित यो मन्दिरका टुँडालमा कामक्रिडाका विभिन्न आसन चित्रित छन् । मन्दिरको उचित संरक्षण हुन नसक्दा उडन प्यानलमा निर्मित इरोटिक सिन पनि नष्ट हुन लागेका छन्।’
मन्दिर माथवरसिंह थापाले निर्माण गराएका थिए । यसैले यो मन्दिर स्थानीयबीच नेपाली छाउनीका रुपमा पनि लोकप्रिय छ।
‘मन्दिरको चारै कुनामा काटिएका हात बनाइएको छ । काठमा यस्ता सुन्दर कलाकृति बनाउने कलाकारको हात काटिदिएको हाम्रा बाउबाजे बताउँथे,’ राजमिस्त्रीको काम गर्ने स्थानीय रामानन्द सिंह मन्दिरको ढोकामा बसेर भन्छन्, ‘तर ती कलाकारलाई खानेबस्ने व्यवस्था नेपाल सरकारले गरेको थियो भन्थे उनीहरू।’
गंगा र गण्डकी नदीको संगममा निर्मित नेपाली मन्दिर स्थानीयबीच अत्यन्त लोकप्रिय छ । ‘यहाँ आएका सबै सरकारी अधिकारीले मन्दिरको जीर्ण अवस्थाबारे जानकारी गराउँदा गराउँदा थाकिसके।

तर सरकार र प्रशासनले सुने पो,’ मन्दिरको सुरक्षामा खटाइएका सुरक्षाकर्मी विजय भन्छन्, ‘ठाउँठाउँबाट मक्किएर काठ खस्छन् । यो कौनहारा घाटमा १३ वटा मन्दिर छन् । यहाँ आउने मान्छेहरू अरु मन्दिर जाउन् नजाउन्, यो मन्दिर भने हेरेरै जान्छन् ।’ उनले दुई वर्षदेखि पारिश्रमिक समेत पाएका छैनन्।
समस्तीपुरको उजियारपुरकी पिंकी आमा र अरु महिला आफन्तसँग कौनहारा घाट आएकी हुन् । उनीहरूको यो समूह मन्दिरभित्र प्रवेश गरेपछि कामक्रिडाका आसन देखेर केहीले लाजले सारीको सप्कोले टाउको र अनुहार छोपे।
तर १२ औं कक्षाकी पिंकी भने यसबारे खुलेर कुरा गर्छिन् । उनी भन्छिन्, ‘दर्शनीय छन् । सबैले हेरिरहेका छन् भने मैले हेर्न किन नहुने ? यसमा लजाउनु पर्ने कुरै के छ र!’
पूजा गर्न पतिसँग आएकी प्रीतिको भनाइ भने फरक छ । ‘ऐतिहासिक रुपमा सबै कुरा ठिक हो, खजुराहोमा पनि हामी यस्तै मूर्ति देख्छौं,’ उनी भन्छिन्, ‘तर यी मूर्ति हेरेर मानिसहरू घिनलाग्दा इसारा÷संकेत गर्दा भने अचम्म लाग्छ।’
कौनहारा घाटमा श्राद्ध गर्न आउनेहरूले मन्दिर परिसरलाई श्राद्ध गर्ने ठाउँ बनाएका छन् भने केही स्थानीयले मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्छ भनेर राम्रोसँग बुझेका छन् ।
राज्य सरकारको बेवास्ता
‘सरकारले बेवास्ता गरेको छ । सरकारले यो ठाउँलाई पर्यटकीय स्थलका रुपमा विकास गरे स्थानीयले रोजगारी पाउँथे र यो ठाउँ समृद्ध हुन्थ्यो,’ स्थानीय अवधेश श्रीवास्तव भन्छन्, ‘नभए यो ठाउँ यस्तै मान्छेले भरिनेछ।’
मन्दिरको संरक्षणबारे बिहारको पुरातात्विक निर्देशनालयका निर्देशक अतुलकुमार वर्माले भने, ‘नेपाली मन्दिरको संरक्षण गर्न सरकार गम्भीर छ र हामीले इन्टेक (इन्डियन नेसनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज)सँग सम्पर्क गरेका छौं । दुई महिनाभित्र संरक्षणसम्बन्धी काम सुरु हुने अपेक्षा छ ।’ वर्माले भनेजस्तै सरकारले मन्दिरको संरक्षण गरे बिहारमा पर्यटन बढाउन कौनहारा घाटस्थित नेपाली मन्दिरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।