काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको बताएका छन्।
सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुस्तौंदेखि अनवरत रुपमा लोकतन्त्रका निम्ति भएको संघर्षले नै नेपाली समाज संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा आइपुगेको उल्लेख गरेका छन्।
राणा शासनविरुद्ध १९९७ सालमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताएका छन्।
'राजनीतिक संक्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौं,' सन्देशमा भनिएको छ, 'त्यसैले वर्तमान सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको ध्येय सम्पूर्ण राष्ट्रको साझा लक्ष्य बन्न पुगेको छ।'
दशकौंअघि क्रान्तिवीरहरुले देखेको राजनीतिक अधिकार प्राप्तिको सपना साकार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
'देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपुतहरुप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गर्दछु,' प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।