एजेन्सी : के तपाईं आफ्नो मोबाइलको ब्ल्युटुथ सधैं अन राख्नुहुन्छ ? यसो गर्नुहुन्छ भने बेलैमा सावधान भइहाल्नुहोस्, तपाईंको मोबाइलमा भाइरस आक्रमण हुनसक्छ।
साइबर सेक्युरिटी कम्पनी आर्मिसका अनुसन्धानकर्ताहरूले यस्तो मलवेयर (भाइरस प्रोग्राम) पत्ता लगाए, जसले ब्ल्युटुथ अन रहेको वा जोडिएको डिभाइसमा आक्रमण गर्छ।
स्मार्टफोनमा मात्र नभएर स्मार्ट टिभी, ट्याबलेट, ल्यापटप र कारमा समेत आक्रमण गर्न सक्ने यो मलवेयरको नाम ब्ल्युबर्न हो।
एउटा अनुमान अनुसार विश्वभर ५.३ अर्ब डिभाइसले ब्ल्युटुथ प्रयोग गर्छन् । यो मलवेयर उपयोग गरेर ह्याकरले ब्ल्युटुथ अन भइरहने डिभाइसलाई आफ्नो नियन्त्रणमा लिन सक्छन् । र, मोबाइलको सबै डाटा सजिलै चोर्न सक्छन्।
आर्मिसले ब्ल्युटुथ डिभाइससँग जोडिएका अरु यस्ता कैयौं पहिचान हुन बाँकी मलवेयर हुन सक्ने जनाएको छ ।
ब्ल्युबगिङ
ब्ल्युटुथबाट हुने गम्भीर आक्रमण हुन सक्छ । यस्ता बग ब्ल्युटुथ अन भएको फाइदा उठाएर डिभाइसमा आक्रमण गर्छन्। ब्ल्युबर्न पनि यस्तै मलवेयर हो।
ह्याकरहरूले यसबाट तपाईंको डिभाइस÷मोबाइलमा भाइरस पठाएर तपाईंको सबै डाटा चोर्न सक्छन्।
ब्ल्युबर्न मलवेयरलाई डिभाइस प्रयोगकर्ताको सहमति÷स्वीकृति चाहिँदैन र यसले कुनै लिंकमा क्लिक गर्न पनि भन्दैन । यसले कुनै मोबाइल वा डिभाइसलाई १० सेकेन्डमै आफ्नो नियन्त्रणमा लिइसक्छ।
आर्मिसले कुनै डिभाइस वा मोबाइल यस्ता बग वा मलवेयरबाट सुरक्षित भए÷नभएको पत्ता लगाउने एप्लिकेसन निर्माण गरेको छ । ब्ल्युबर्न भल्नेरेबिलिटी स्क्यानर नामको यो एप गुगलको अनलाइन स्टोरमा उपलब्ध छ।
ब्ल्युज्याकिङ
मोबाइलमा ब्ल्युटुथ अन भइरहँदाको अर्को खतरा ब्ल्युज्याकिङको हुन्छ । यसले ब्ल्युटुथ अन भएका कैयौं डिभाइसमा एकैसाथ स्पाम पठाउन सक्छ । यसले पर्सनल इलेक्ट्रोनिक कार्डबाट म्यासेज पठाउँछ, जुन नोट वा सम्पर्क नम्बरको रुपमा हुन्छ।
ब्ल्युस्नार्फिङ
ब्ल्युज्याकिङभन्दा पनि ब्ल्युस्नार्फिङ धेरै खतरनाक हुन्छ । जानकारी÷सूचना चोर्न ह्याकरले यसको प्रयोग गर्छन्, खासगरी फोनबुक र डाटा चोर्न बढी प्रयोग गरिन्छ।
यसबाट व्यक्तिगत म्यासेज र तस्बिर पनि चोर्न सकिन्छ । तर यसका लागि भने ह्याकर मोबाइल÷डिभाइस प्रयोगकर्ताको १० मिटरभित्र हुनुपर्छ।
कसरी जोगिने ?
– माइक्रोसफ्ट, गुगल र लिनक्सले ब्ल्युबर्नबाट आफ्ना प्रयोगकर्तालाई जोगाउन रिलिज गरेको प्याच इन्स्टल गर्ने।
– मोबाइललगायत आधुनिक उपकरणमा ब्ल्युटुथ कनेक्टिभिटीका लागि कन्फर्मेसन कोड आवश्यक पर्छ, कोड प्रयोग गर्ने।
– बढी सुरक्षित भएकाले मोड २ ब्ल्युटुथ प्रयोग गर्ने।
– आफ्नो डिभाइसको ब्ल्युटुथ नामलाई हिडन मोडमा राख्ने।
– प्रयोग गर्नुपर्दा मात्र ब्ल्युटुथ अन गर्ने र अरुबेला अफ गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।