काठमाडौं– सरकारले तोकेको मापदण्ड पूरा नगरी उत्पादन गरिएको सिमेन्ट बिक्री–वितरणका लागि पठाउन पाइँदैन। त्यस्तो अवस्थामा सिमेन्ट जफत गरी प्रतिबन्ध लगाउन सक्ने ऐनमा व्यवस्था छ। तर, कतिपय उद्योगले गुणस्तरहीन सिमेन्ट उत्पादन गरिरहे पनि नियमनकारी निकाय मौन छ। जसका कारण भौतिक संरचना निर्माणका लागि अत्यावश्यक सिमेन्ट खरिद गर्ने उपभोक्ता ठगिइरहेका छन्।
अहिले चर्चामा रहेका अर्घाखाँची, होङ्सी शिवम्, सगरमाथा र सर्वोत्तम सिमेन्टले डेढ वर्षदेखि गुणस्तरहीन सिमेन्ट उत्पादन गरिरहेको खुलेको छ। गुणस्तर मापन गर्ने सरकारी निकायले नै उत्पादनमा कमजोरी फेला पारे पनि ती उद्योगमाथि कारबाही हुन सकेको छैन। सरकारी लापरबाहीका कारण उपभोक्ताले गुणस्तरहीन सिमेन्ट प्रयोग गर्नुपर्ने बाध्यता छ।
अधिकांश उद्योगको सिमेन्टमा कुनकुनै लटको उत्पादनमा समस्या आउँछ। तर, यी चार सिमेन्टको उत्पादनमा लामो सयमदेखि समस्या देखिए पनि सरकारले कारबाही अघि बढाएको पाइएन।
नियमनकारी निकाय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नै कतिपय सिमेन्टको गुणस्तरमा प्रश्न खडा भएका स्वीकार गर्छन्। एक–डेढ वर्षदेखि नै विशेषतः चार वटा उद्योगका सिमेन्टमा समस्या आएको उनको भनाइ छ। ‘अर्घाखाँची, होङ्सी, सगरमाथा र सर्वोत्तम सिमेन्टको गुणस्तरको समस्या आएको छ,’ महानिर्देशक पुडासैनी भन्छन्, ‘यी उद्योगले उत्पादन गर्ने सिमेन्ट नेपाल सरकारले तोकेको मापदण्ड अनुसार छैन। सिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा बढी देखिएको छ।’
गुणस्तर तथा नापतौल ऐनमा सिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा ५ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ। तर, यी उद्योगका उत्पादनमा बारम्बार ‘म्याग्नेसिएम अक्साइड’को मात्र ६ प्रतिशतको हाराहारीमा रहेको पाइएको छ। ‘सिमेन्ट उत्पादनमा प्रयोग हुने चुनढुंगा र क्लिङ्करमा समस्या आउँदा ‘म्याग्नेसियम अक्साइड’को मात्र बढी हुन्छ,’ पुडासैनीले भने, ‘यस्तो समस्या देखिएपछि हामीले उद्योगको नियमित अनुगमन गरेर सुधार गर्न निर्देशन दिइसकेका छौं।’ निर्देशन अनुसार सुधार नगरे उत्पादक कम्पनीको इजाजतपत्र समेत खारेज गर्ने उनी बताउँछन्।
पुडासैनीका अनुसार सिमेन्टमा ‘म्याग्नेसियम अक्साइड’को मात्रा २/३ प्रतिशत मात्रै हुनुलाई निकै राम्रो गुणस्तर मानिन्छ। ५ सम्म हुँदा खासै समस्या देखिन्न। तर ६ पुग्नासाथ त्यो गुणस्तहीन नै देखिने उनको भनाइ छ।
उत्पादन मिति नै खुलाउँदैनन् उद्योगी
सिमेन्ट उद्योगले उपभोक्ताले प्रत्यक्ष रूपमा थाहा पाउने गरी उत्पादन मितिसमेत राख्दैनन्।
बोरामा वर्षको ५२ हप्ता अनुसार ५२ वटै ब्याच नम्बर राखिएको हुन्छ। जस्तैः २०७५ बैसाख १ गतेदेखि ७ गतेसम्म उत्पादन गरिएको सिमेन्टका बोरामा २०७५/१ लेखिएको हुन्छ। बोरामा २०७५/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७५ चैतको अन्तिम हप्ता उत्पादन गरिएको हो भनी बुझ्नुपर्छ।
सिमेन्ट पनि खाद्य सामग्री जस्तै उत्पादन भएको निश्चित अवधिभित्र उपयोग गरिसक्नुपर्छ। नत्र ‘डेट एक्सपायर्ड’ हुन्छ र निर्माण कच्चा हुन जान्छ। सिमेन्ट सही तरिकाले स्टोर गरिएको छ भने ६ महिनाभित्र प्रयोग गर्न सकिने गुणस्तर विभागले जनाएको छ।
नेपालमा अहिले ६१ वटा सिमेन्ट उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न प्रमाणपत्र लिएका छन्। यसबाहेक भारतीय ८ वटा सिमेन्टले पनि प्रमाणपत्र लिएका छन्। एनएस प्राप्त सबै नेपाली सिमेन्टलाई विभागले ३३ ग्रेडको मान्यता प्राप्त प्रमाणपत्र पनि दिने गरेको छ। तर कतिपय उद्योगले बढी ग्रेडको प्रचार गर्ने गर्दै उपभोक्तालाई झुक्याइरहेका छन्।
नेपाली सिमेन्ट उद्योगको दैनिक क्षमता ३० हजार टन उत्पादन छ। यी उद्योगले हाल दैनिक ७ लाख बोरा उत्पादन गर्ने गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।