हजुरबा हाम्रो घरमा बिपी कोइराला जस्तो हुनुहुन्थ्यो। बा अहिलेका नेताजस्तो भैजानु भो। म कार्यकर्ता जस्तो छु। घर देशजस्तो छ। अन्ततः भाँडभैलो छ।
हजुरलाई लाग्न सक्छ, यो कांग्रेस रहेछ। तर त्यस्तो हैन। म ‘कम निष्ठ’ हुँ। मलाई राजनीतिमा कुनै निष्ठा छैन।
OOO
‘हिन्, च्या खान जाम्’, भन्छ राजु।
मेरो उहाँसँग लामो समयदेखि ‘गृह’युद्ध चलिरहेछ। हुन त ‘गृह’युद्ध हैन, ऊ घरवाली हुन युद्ध नै गर्दिनँ मसँग। गर्दथी भने म आफ्नो सरकार आफैं ढलाइदिन्थेँ। सरकार सुम्पन तयार थेँ। विडम्बना, ऊ वार्तामा आउनै चाहन्ने। ममाथि आतंककारी हमला भैरहन्छ। तर, ऊ आतंककारीभन्दा नि खतरनाक छे। हमला गर्छे, तर हमलाको जिम्मा लिन्ने।
प्रिय,
तिमीभन्दा त ‘बोको हराम’का कार्यकता नै ठिक! कम्तीमा हमलाको जिम्मा त लिन्छन्।
OOO
जाडो छ। घामले आफूलाई तातो बनाउन एक बिहान लगाउँछ। अल्छी घाम अचेल अलिक अबेर गरी उठ्छ। हुस्सुको ब्लाङ्केट ओढेर डाँडामाथि आइइपुग्छ। आँखा मिच्छ। कचेरा फाल्छ। आङ तान्छ। हाई काढ्छ। उसलाई पनि त जाडो हुँदो हो।
विचरा घाम!
मसँग पुरानो सिरक छ। डल्लाडल्ला परेको छ उसको छाती। पुरानो सिरक घामलाई दिउँ पनि लाग्छ। तर म दिन्न!
राजुले चिया खान जाम् भनेको छ।
म भन्छु, 'छोड्दे यार! जाडो छ। मुटु चिसो हुन्छ बाहिर निस्किँदा।'
ऊ भन्छ, 'च्याको पैसा म तिर्छु। मुटु चिसो नबनाइहाल्।'
फिस्स हाँस्छु। मेरो लागि त्यतिबेला हाँस्नु नै एक मात्र विकल्प थियो।
आङमा स्वेटर टाँस्छु। धोती मिलाउँदै खाटबाट निस्किन्छु र चियापानका लागि तयार हुन्छु।
प्यारो स्वेटर थियो मेरो। कुन्नि कता हरायो। तर, स्वेटरसँगै सम्झना भने हराएको छैन। हराएको धेरै दिनसम्म म पिरमा परेँ। सुनाइहालूँ क्यारे।
कुनै बिहान उहाँ सोध्नुहुन्छ, ‘तिम्रो फेबरेट कलर कुन हो?’
मलाई ‘फेबरेट–सेबरेट’ केही थाहा थिएन। भनेँ, ‘जुन देख्यो त्यही मन पर्छ।’
फेरि भन्नुहुन्छ, ‘भन न कुन कलर मन पर्छ?’
सवालजवाफ पालो पुनः मैतर्फ फर्किन्छ। भन्छु, ‘भनिसकेँ त। जून देख्यो त्यही मन पर्छ, घाम देख्यो त्यही मन पर्छ।’
अबको पालो मेरो थियो, ‘हजुरलाई कुन कलर मन पर्छ?’
–कलेजी कलर।
–कलेजी कलर कस्तो हुन्छ?
–तिम्रो स्वेटरजस्तो।
म आङको स्वेटर हेर्छु। मलाई कलेजी कलर थाहा हुन्छ। साच्चिँकै जिन्दगीमा एकथान मायालु हुने हो भने धेरै कुरा थाहा हुँदो रहेछ।
उहाँ फेरि भन्नुहुन्छ, ‘आजबाट तिम्रो फेवरेट कलर नि कलेजी है।’
मलाई मेरो ‘फेवरेट कलर’ कलेजी हो भन्ने पनि थाहा हुन्छ।
म ङिच्च परेको इमो पठाउँछु।
(तपाईंलाई यतिबेला थाहा भइसक्यो कि हामीबीचको संवाद कुनै सामाजिक सञ्जालको भित्तामा सीमित छ, न कि आमने–सामने।)
मेरो ‘फेवरेट कलर’ घोषणा हुन्छ। त्यही दिनबाट त्यो स्वेटर खुब मन पर्छ मलाई।
कलेजी कलर मन पर्छ भन्नेले कलेजीमा ठाउँ पाइसकेकी हुन्छे। तर, अचानक एकदिन स्वेटर हराउँछ। मेरो कलेजी कलरको स्वेटर हराउनु, मेरो कलेजीमा बसेकी मान्छे हराउनु, अनि मेरो कलेजी नै हराउनु एकैपटक जस्तो हुन्छ।
फेरि पछि कुनै दिन कलेजी कलर मन पर्ने मान्छे भेटिन्छे। मेरो कलेजी पनि भेटिन्छ अलिक पुरानो भएर। तर, मेरो कलेजी कलरको स्वेटर भेटिन्न।
प्रिय स्वेटर, आई मिस यू। कलेजीमा बस्नेलाई जस्तो, कलेजीमा बस्नेले जस्तो झुठ बोल्दिन म तिमीसँग। प्यारी स्वेटर, साच्चिँकै मिस यू। सत्य।
लुकाउनैपर्यो च्यातिएको मन लगायो हिँड्यो।
अरु के सकियो र? कमिजका बटन लगायो हिँड्यो।
तिमीले दिएको गलबन्दी देखे मुटु चिसो हुन्छ, आमाले उनिदिएका स्वेटर छन् लगायो हिँड्यो।
OOO
म खासमा चियाको विकासवादबारे केही लेख्छु भनिरहेछु। तर, दिमागभरि मायालु भरिएर म उता जान सकिरहेको छैन। म अब जान्छु। शुभयात्रा भनिदिनुस् त।
ट्राभलिङ टू चियावाद।
सोध्नुहोला– चियावाद कहाँ पर्छ?
ठाउँ चाहिएको हो भने चियावाद जिन्दावादभन्दा अलिक उता र धन्यवादभन्दा अलिक अगाडि पर्छ।
दिनभर कसैको पछि लागेर जिन्दावाद भनिसकेपछि चियावाद आउँछ र अन्त्यमा धन्यवादमा पुगेर सकिन्छ यात्रा।
चियासँग मेरो लगाबबारे म केही भन्छु अब।
हजुरबा बिपी जस्तै हुनुहुन्थ्यो। जसरी कांग्रेसले बिपीको नाम बेच्छ। आजसम्म पनि बेची नै रहेको छ।
(यो मेरो व्यक्तिगत बुझाइ हो।)
उसै गरेर मैले चिया पसलमा हजुरबाको नाम बेच्छु। साउनी चिया बेच्छिन्। हामी हरेक कुरा बेचिरहेका हुन्छौं। यहाँ जे पनि बिक्छ। मरेका मान्छेका कपडादेखि ज्युँदा मान्छेका अस्मितासम्म बिक्छ।
बस्, बेच्न जान्नुपर्छ।
आँसु बिक्छ सस्तोमा। म बेच्छु। प्रेम कहानी बिक्छ। म बेच्छु। तर, बेचिरहँदा आफूले किनेको चीज पुरानो भैसक्दो रहेछ। चिसो भैसक्दो रहेछ।
एकछिन ल। मेरो चिया चिसो भो।
OOO
हजुरबा बितेको वर्ष दिन पूरा भो अस्ति दसैंताका। बाल्यकालमा हजुरबाको खास प्यारो मान्छे हैन म। हुन त अन्तिम समयमा पनि खासै प्यारोमा परिन।
खैर, दौरा सुरवालमाथि सेतो, मैलो खास्टो ओढेर खाटमाथि बसेका हजुरबा सम्झिन्छु म। अचेल पनि आकासमा हेर्दा बादलको खास्टो ओढेर बसिरहेको आकाश हजुरबा जस्तै लाग्छ मलाई। हजुरबा तगारोबाट भित्र पसेपछि मेरो सातो जान्थ्यो। चकचक गर्दा कैयौंपटक जिम्मालको घरमाथिसम्म हजुरबाले लखेटेको याद छ। म बाटोमै चप्पल छोडेर भाग्थें। फर्किंदा चप्पल खोज्नको हैरान।
म अचानक गुरुकुलमा पढ्न आएँ। अनि त घर जाँदा हजुरबाको उधुम प्यारो नातिमा परेँ। तर, भाइ जति प्यारो भने हैन। गुरुकुल फर्किंदा खुसुक्क पैसा दिनुहुन्थ्यो। म खुसी भैजान्थेँ। एक्कासी खुसीको बाक्लोपनको तह बढ्थ्यो। बिहान अबेरसम्म हजुरबा गीता पाठ गर्नुहुन्थ्यो, मृगको छालामाथि बसेर।
आँखा कम देख्न थालेपछि अलिक ठूलो अक्षर भएको गीता किनेर लगिदिएँ। यही नै हो मैले नाति भएर किन्न सकेको हजुरबाको नाममा। अब पनि खासै ठूलो लक्ष्य छैन, आफ्नै पैसाले बालाई एक प्याकेट देउराली चुरोट किनदिन सक्ने हुनु छ।
तर, हजुरबाले मेरा लागि एउटा परिचय नै किनिदिनुभएको रहेछ। कतै जाँदा मान्छेहरू सोध्ने गर्छन्- कसको छोरो होस्?
भन्न त मन लाग्छ हजुरबाको नाति हुँ।
फेरि उनैसँग प्रश्न गर्न मन लाग्छ- कसको नाति होस् भनेर किन सोध्नुहुन्न?
बाको नाम भन्छु (फलानोको छोरो हुँ। चिने पो। फेरि भन्छु-अग्निधरको नाति हुँ।
–ए हो र! खुब रसिला छन् बा।
फलानाको छोरो हुँ भन्दा ‘ए’ भन्दा अरु केही शब्द बोल्दैनन्। तर जब ‘अग्निधरको नाति हुँ’ भन्छु, त्यसपछि थप १०/१२ ओटा प्रश्न बढी सोधिन्छन् ममाथि, केही समय लम्बिन्छ वार्तालाप। लाग्छ, यी प्रश्न मेरा बलबुताले पाएको हैन, हजुरबाका प्रश्न हुन्।
अनि मलाई हम्मेहम्मे पर्छ हजुरबाको साख जोगाउन।
कसैले ‘तँ को होस्?’ भनेर प्रश्न गर्दा ‘म फलानोको नाति हुँ’ भनेर उत्तर दिँदा कसैले चिन्छ भने यो भन्दा ठूलो कुरा अरु के हुन सक्छ?
मलाई मेरो परिचय पनि हजुरबाले बनाइदिनुभएको रहेछ। म नाति जसले एउटा गीताको पौस्तक (हजुरबा पुस्तकलाई पौस्तक भन्नुहुन्थ्यो) बाहेक केही किनिदिन सकिनँ।
OOO
पहिले काँसको कचौरामा अगाडि चिया राखेर खाटमा बस्नुभएको हजुरबा सम्झिन्छु, जब म चिया देख्छु, भेट्छु, खान्छु कतै।
म सानै हुँदा गाउँ डुलेर जब हजुरबा घर आउनुहुन्थ्यो, छोइछिटा गरिदिनुपर्थ्यो। पानी छर्किदिनुपर्थ्यो। गाउँमा सबै हजुरबाहरू कांग्रेस थिए, तर हजुरबा हुनुहुन्थेन। सूचीकार, ताम्राकार सबैसँग छोइने हुनाले कांग्रेसीहरू हजुरबालाई खास मान्दैनथे। जो साना मान्छे थिए उनीहरू सबैले हजुरबालाई मान्थे। तर पनि हजुरबा बिपीजस्तै हुनुहुन्थ्यो।
उहाँ कांग्रेसी हुनुहुन्थेन, कम्युनिस्टप्रति उहाँको कम निष्ठा थियो। माओवाद त हजुरबाका निम्ति ‘चल्ला’ थियो। उहाँको निष्ठा केवल चियामा थियो। खुब पिउनुहुन्थ्यो चिया। त्यसैले उहाँ ‘च्यावादी’ हुनुहुन्थ्यो।
गाउँ डुलेर आएपछि ढोकानेरको भित्तामा घँगारुको लौरो अड्याएर दाइने खुट्टाले देब्रे खुट्टाको जुत्ता फुकाल्दै भन्नुहुन्थ्यो- बुढी च्या बना त।
OOO
मैले जान्दा हाम्रो घरमा घोडा थियो। रातो मैलो रङको घोडा। घाँटीमा एउटा सानो घन्टी थियो। पुच्छर ‘मङ्गोलियन’ हरफको कविताजस्तो ‘सिल्की’ थियो। पुच्छर हल्लाइरहन्थ्यो। कहिल्यै नहल्लिएको देखिन मैले पुच्छर।
आमा भन्नुहुन्थ्यो, ‘घोडा कहिल्यै बस्दैन। बस्यो भने अलच्छिन हुन्च।’
चौरमा चर्न जाँदा नि कहिल्यै बसेको देखिन मैले। पल्टिएर ढाड कन्याउथ्यो चौरमा। तर गाई गोरुजस्तो बसेको कहिल्यै देखिन।
म सोध्थेँ, ‘राति पनि सुत्दैन आमा घोडा?
आमा भन्नुहुन्थ्यो, ‘नाइँ, सुत्दैन।’
म राति सुत्नुअघि सुसु गर्न आमासँग निक्लिदा हेर्थें। घोडा उभिएकै हुन्थ्यो। बिहान म उठ्दा पनि घोडा उभिएकै हुन्थ्यो।
हाम्रो घरमा दुहुनो भैंसी थिएन। बाहिरबाट ल्याएको दूधले पुर्याउनुपर्थ्यो। खानामा पनि दूध थोरै पाइन्थ्यो। दूधका निम्ति म बिरालोजस्तै थिएँ। दूध नभए भातै नखाने।
एकदिन साँझ हजुरबाले अर्को घोडा लिएर आउनु भो। घोडा सेतो थियो। पहिलेको भन्दा अझै ठूलो पनि। बिहान जाँदा त हजुरबाले हाम्रो घोडा लिएर जानु भएको थियो। हजुरबा घोडाबाट ओर्लेपछि नजिकै पुगेर सोधें मैले, ‘हजुल बा! हजुल बा!! यल्ले दुत दिन्च?’
मेरो कुरा सुनेपछि घोडाको लगाम छोडेर मेरो टाउकोमा हजुरबाले मुसार्नु भो। मैले दौराको फेद समातेर हजुरबाको मुखमा हेरिरहेँ।
अर्को दिन बिहानै घोडा चढेर निस्किनु भएको हजुरबा साँझ भैंसी लिएर आउनु भो। अगाडि–अगाडि चार जना मान्छेले भैंसी लिएर आएका थिए। साथमा सानो पाडी पनि थियो। भैंसी पछाडि फर्किँदै पाडीलाई हेर्दै अगाडि बढ्दै हाम्रो घरको आगँन पुग्ने तगारोबाट भित्र पस्यो। पछिपछि हिंड्दै हजुरबा पनि आउनु भो। मैले फेरि हजुरबा आँगनमा पुगेपछि दौराको फेद समातेर सोधेँ, ‘हजुल बा! हजुल बा! घोला खै?
हजुरबाले केही उत्तर दिनुभएन।
साँझबाट घरमा दूध प्रशस्त भो। मैले चाहेजति दूध खान पाउन थालेँ। तर, त्यसदिनपछि हजुरबाले घोडा चढेको मैले कहिल्यै देखिनँ।
OOO
अघिल्लो दसैंमा हजुरबा नराम्रोसँग बिरामी पर्नु भो। द्वादशीको दिन साँझ हजुरबालाई तुलसी मठमा सारियो। मैले हजुरबाको मृत्यु सहज होस् भनेर सिराननिर बसी गीता पढ्न थालें। म गीता पाठ गर्दै सोह्रौं अध्यायमा पुगिसकेको थिएँ। आमाले भन्नु भो, ‘हजुरबालाई पानी ख्वा!’
मैले ख्वाएँ पानी। हजुरबाले घुटुक्क निल्नु भो। त्यसपछि अरुले ख्वाएको पानी भने निल्नुभएन। म गीताको श्लोक पढिरहेको थिएँ, अल्मलिरहेको थिएँ, पढेछु- ‘सर्वस्य चायं हृदिसन्निविष्टो!’
तर पुस्तकमा रहेछ- ‘सर्वस्य चाहं हृदिसन्निविष्टो।’
हजुरबा,
हो हजुर सबैको हृदयमा नै बस्नुभएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।