पोखरा– स्वदेशी तथा विदेशी लेखकको उपस्थितिले साहित्यप्रेमीको ध्यान यतिबेला पोखरामा केन्द्रित छ। बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको ‘नेपाल लिटरेचर फेस्टिबल’मा भइरहेका विभिन्न संवाद तथा ‘सेसन’मा लेखक, विज्ञ, साहित्यप्रेमी तथा पाठकको उल्लेख्य उपस्थिति देख्न सकिन्छ।
महोत्सवको तेस्रो दिन सोमबार दोस्रो सेसनका रुपमा ‘संस्मरण विस्मरण’ संवाद सम्पन्न भयो।
संस्मरण लेखनीका क्रममा लेखकले देखाउने इमानदारिता र त्यसले पार्ने प्रभावबारे पत्रकार दीपक सापकोटासँग अन्तरसंवादमा जोडिए अग्रज पत्रकार युवराज घिमिरे, लेखक तथा पटकथाकार ब्रजेश र समीक्षक अर्चना थापा।
महोत्सवको सुरुवाती विद्धत प्रवचन दिँदै पूर्वप्रधान्यायाधीश सुशीला कार्कीले नेपालको न्यायिक शासन प्रणाली नै गलत भएको तर्क राखेकी थिइन्। त्यस कुरालाई खण्डन गर्दै पत्रकार घिमिरेले न्यायिक शासन प्रणाली गलत हुनुमा मुख्य व्यक्तिनै पहिलो जिम्मेवार हुने दाबी गरे। उनले भने, ‘तपाईं जुन संस्थाको हेड हुनुहुन्छ। त्यसको सम्पूर्ण जिम्मा तपाईं आफै लिनुपर्छ।’
उनी कुनै पनि संस्थामा जागिरे भइसकेर पछि कार्यभारबाट हट्दा त्यसबारे लेख्ने कि नलेख्ने भन्ने कुरा संस्थाकै गोप्यताका हिसाबले चल्नुपर्ने बताउँछन्। ‘गोप्य कुरा बाहिर ल्याउँदा त्यसले देशको अवस्था र बाह्य मुलुकसँगको सम्बन्धलाई कत्तिको प्रभाव पार्छ। त्यसलाई पनि ध्यान दिनुपर्छ,’ घिमिरेको बुझाइ छ।
लेखक अर्चना थापा संस्मरण लेख्दा ‘म छु र त ब्रह्माण्ड छ’ भन्ने अहम पालेर लेखिने गरेको आरोप लगाउँछिन्। लेखक ब्रजेश संस्मरण लेख्दा अरु न्यायाधीश र आफू वकिल बनेर लेखिने गरेको बताउँछन्।
संस्मरण लेख्नु आफ्नै विगतलाई हुवहु वर्तमान समयमा आएर सम्झनु पनि हो। आफू र नजिकका पात्रहरुले भोगेका र देखेका कुरा लेखिनु हो। तर, पत्रकार घिमिरेले नेपाली संस्मरण लेखनीमा लेखकले इमान्दारिता नदेखाएको टिप्पणी राखे। उनी प्रश्न गर्छन्, ‘जम्मै आएका संस्मरणमा लेखक हिरो हुन्छ। यति धेरै हिरो भएको देश किन जिरो छ?’ लेखकले आफूलाई उत्कृष्टताको मानक भिराएरमात्रै संस्मरण लेख्ने गलत परिपाटी बसेको उनको आरोप थियो।
अर्की वक्ता अर्चना थापाले पनि घिमिरेकै कुरामा सहमति जनाइन्। ‘अहिले आत्मकथा लेख्ने बाढी नै आएको छ। सबैमा आफूलाई हिरोका रुपमा प्रस्तुत गरिन्छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि धनी र एकदमै सफल व्यक्तिका मात्रै आत्मकथा आउँछन्।’ संस्मरण अनुभूति भएकाले जसले पनि लेख्नसक्ने उनको मत छ।
‘बाटोदेखि राष्ट्रपति र जिरोदेखि बिलिनियर्ससम्म पुगेको पात्रहरुको मात्रै संस्मरण हुँदैन। अनुभूति सामान्य मान्छेको पनि हुन्छ। उनीहरुले पनि लेख्न सक्छन्,’ थापाले भनिन्। उनले सामान्य मान्छेले आफूले भोगेको भोगाइलाई सामान्य रुपमै हेर्दा संस्मरणमा समेट्न नसकेको तर्क राखिन्।
संस्मरणमा लेखकले आफूलाई हिरो देखाउने बहस भइरहँदा अर्का वक्ता ब्रजेशले आफूले ‘साइड हिरो’ कै कुरा लेखेको दाबी गरे। भने, ‘म अरुका कारण हिरो नभएको होइन। आफ्नै कारणले हो। त्यसक्रममा मेरा के–के कमजोरी छन्। तिनै कुरा केलाउन संस्मरण लेखेको हुँ।’ उनले संस्मरण आफैंलाई प्रस्तुत गर्ने भएकाले अरुको कमजोरी देखाउन र केलाउन लेख्न नहुने बताए।
‘स्व–अस्तित्व’ पुस्तक कि लेखिका अर्चना थापाले संस्मरणमा महिलाको उपस्थिति कम भएकोमा चिन्ता व्यक्त गरिन् । ‘म को ठाउँमा म चिनिने गरी महिलाहरु अझै संस्मरणमा आएकै छैनन्,’ उनले भनिन्। थापा नेपाली साहित्य इतिहासमा महिला साहित्यको उदय नै धेरै ढिलो भएकोले पनि यो समस्या हुनसक्ने तर्क राख्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।