काठमाडौं- परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको सन् २०१७/१८ को वार्षिक प्रतिवेदनमा मेसिन रिड-एबल पासपोर्ट (एमआरपी) लिनेको संख्या घटेको पाइएको छ। गत वर्षका तुलनामा यस वर्ष पासपोर्ट लिने नेपालीको संख्या करिब २८ हजारले कमी आएको देखिएको छ।
अघिल्लो वर्ष (२०१६ जुलाई १६ देखि २०१७ जुलाई १५)सम्म परराष्ट्र मन्त्रालयले गरेका कामको प्रगति विवरण समेटिएको उक्त प्रतिवेदनमा ५ लाख ५७ हजार १ सय ८८ जनाले एमआरपी पासपोर्ट लिएको उल्लेख छ। गत वर्ष (२०१७ जुलाई १६ देखि २०१८ जुलाई १५) मा एमआरपी पासपोर्ट लिनेको संख्या २८ हजारले कमी आएर घटेर ५ लाख २९ हजार चार सय ६० मा पुगेको हो।
परराष्ट्र मन्त्रालय राहदानी विभागका प्रमुख रामकाजी खड्का भने एमआरपी पासपोर्ट लिनेको संख्यामा कमी आएको स्वीकार गर्न तयार छैनन्। ‘एमआरपी पासपोर्ट लिनेको संख्या घट्ने होइन, यो संख्या बढ्ने देखिन्छ,’ खड्काले भने,‘तर, केही श्रम रोजगार क्षेत्रका देशसँग यस अवधिमा समस्या देखिएका कारण एमआरपी पासपोर्ट लिनेको संख्या घटेको हुन सक्छ।’
मलेसिया जाने कामदारमाथि आर्थिक शोषण गरेको भन्दै गत आर्थिक वर्षका दुई महिना (जेठ र असार) त्यहाँ जाने कामदारका सबै प्रक्रिया बन्द भएका थिए। अहिले नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी भए पनि कामदार जाने प्रक्रिया सुरु हुन सकेको छैन। अन्य श्रम रोजगार गन्तव्य राष्ट्रमा नियमित रुपमा नेपाली कामदार विदेश जाने प्रक्रिया प्रभावित भएको छैन।
नेपाल सरकारले २०६७ पुस ११ बाट एमआरपी पासपोर्ट वितरण गर्न थालेको थियो। कुल ७० लाख एमआइपी पासपोर्ट मुद्रण गरेको परराष्ट्र मन्त्रालयको राहदानी विभागले हालसम्म करिब ५७ लाखभन्दा बढी एमआरपी पासपोर्ट वितरण गरिसकेको छ।
यस्तै परराष्ट्र मन्त्रालय राहदानी विभागले इ-पासपोर्ट मुद्रणको प्रक्रिया पनि थालनी गरेको छ। सन् २०२० भित्र इ-पासपोर्ट लागू गर्ने सरकारको तयारी छ। इ-पासपोर्टमा के कस्ता सूचना समावेश गर्ने भन्ने विषय निर्क्योल गर्न राहादानी विभाग अन्तर्गत एक प्राविधिक समिति समेत गठन गरिएको छ। समितिले बुझाउने प्रतिवेदनपछि छिट्टै इ-पासपोर्ट मुद्रणको प्रक्रिया सुरु गरिने विभागका प्रमुख खड्काले जानकारी दिए। सन् २०८७ बाट एमआरपी पासपोर्ट प्रचलनबाट हट्ने भएकाले सरकार इ-पासपोर्ट मुद्रणको प्रक्रियामा जान लागेको हो।
हाल विश्वका १ सय १३ भन्दा बढी देशले इ-पासपोर्ट प्रचलनमा ल्याइसकेका छन्। दक्षिण एसियामा श्रीलंका र पाकिस्तानले इ-पासपार्ट लागू गरिसकेका छन् भने बंलादेश इ-पासपोर्ट लागू गर्ने प्रक्रिया छ।
इ-पासपोर्टमा बायोमेट्रिक प्रणाली लागू हुने भएकाले हाल यस्तो प्रकृतिको पासपोर्ट प्रचलनमा रहेको छ। एमआरपी पासपोर्टभन्दा यो पासपोर्ट बढी सुरक्षित मानिन्छ। बायोमेट्रिक प्रणालीमा आँखाको नानी र तीनपुस्ते विवरण राख्न मिल्ने भएकाले यो पासपोर्ट दुरुप्रयोग हुने सम्भावना न्यून हुने विश्वास गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।