फागुन असिनो बड्डो, चैत काफल झड्डो
आइगयो बड्डी खोज, यो अछामी बड्डो
अहिले धेरै देउडाप्रेमीको जिब्रोमा झुन्डिरहेको गीत हो यो। देउडाको परम्परागत लय र संगीत, देउडा गीतमा बढी भेटिने ख्यालठट्टा र भिडियोमा परम्परागत ‘खेल’ (नाच) देखाइएको यो गीत देउडाप्रेमी माझ जँचेको छ।
यो गीत हिट मात्रै भएन, २०६२/०६३ पछि हराएको परम्परागत देउडा गीतको माहोलसमेत फर्काइदियो। पुरानै तरिकाका शब्द, लय र खेललाई समेटेर देउडा गीत बजारमा ल्याउने होडबाजी पछिल्ला वर्षहरुमा एकाएक बढेको छ।
परम्परागत देउडा गीत संकलन र लेखनमा चर्चित राजेन्द्र शाह बिपीलाई अचेल हप्तामा एउटा गीत लेख्नुपर्ने ‘प्रेसर’ छ। उनको शब्द संकलनमा रहेको ‘अछामी बड्डो’ले देउडाप्रेमीको दिलदिमागमा राज गरेपछि नयाँपुराना पुस्ताका गायकमा देउडा बजारमा ल्याउने लहर चलेको छ।
केही समय लेखनबाटै विश्राम लिइसकेका यी सर्जक मात्रै अहिले पुनः सक्रिय भएका छैनन्। झन्डै एक दशक गीतसंगीतबाट ओझेल परेका गायक लालबहादुर धामीको व्यस्ततासमेत बढेको छ। सुदूर–कर्णाली क्षेत्रमा मात्रै होइन, यो क्षेत्रका बासिन्दा रहने विदेशी भूमिमा समेत स्टेज कार्यक्रमका लागि उनलाई निम्त्याउन थालिएको छ।
गीतलाई देउडाको परम्परागत स्वादमै सुनिने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् भने भिडियोलाई देउडा जस्तै देखाउने भूमिका भीम थापाको छ।
सुदूरपश्चिमका यी सर्जकहरुको सहकार्यमा त्यसपछि पनि दर्जनौं गीत सार्वजनिक भइसकेका छन्। प्राय: गीत हिट पनि छन्। गीतकार शाह यसलाई परम्परागत देउडा गीतको माहोल फर्केको रुपमा अर्थ्याउँछन्। ‘संगीतको मौलिक स्वादका पारखी फर्किएका छन्,’ उनको बुझाइ छ।
देउडा गीत सुनिने क्षेत्रमा समेत यसको प्रभाव घटेको समयमा समेत ‘देउडा जीवित’ राख्न विनोद बाजुराली सक्रिय थिए। देउडा भनेपछि नाक खुम्च्याउने पुस्तालाई सुन्न पल्काउन उनले गीतमा केही प्रयोग गरे। ‘हुन्यावाली जीवनसाथी’ यसैको एउटा उदाहरण हो। परम्परागत देउडा लय र गीत, आधुनिक प्रविधि र बिम्बसमेत मिसाए उनले।
लोकसंगीतमा अत्यधिक रुचाइएकी गायिका विष्णु माझीका साथमा र आफ्नो स्वरमा उनले यो गीत रेकर्ड गराए भने लोकगीतमै चम्किएका शंकर बिसी र पार्वती राईलाई म्युजिक भिडियोमा नृत्य गराए। जसले देउडाप्रेमीमा देउडा मोह बढायो भने गैर-देउडाप्रेमीलाई पनि आकर्षिक गर्यो। त्यसपछि उनले यही शैलीको निरन्तरता स्वरुप ‘घर त मेरो प्रदेश नं ७’ बजारमा ल्याए।
देउडा गीतको माहोल फर्काउन विनोद बाजुराली, राजेन्द्र शाह बिपी, लालबहादुर धामी यतिबेला सामूहिक रुपमै सक्रिय छन्। करिअरको सुरुवातदेखि नै एकअर्कासँग जोडिइरहेका उनीहरुले पछिल्लो समय देउडाको मौलिकतामाथि भइरहेको प्रहारविरुद्ध ढालका रुपमा ‘टिमअप’ गरेका हुन्।
धामी २०५५ सालदेखि देउडा गायनमा सक्रिय छन्। ‘मायाजाल’ एल्बमबाट देउडा गाउन थालेका उनी गीतकार शाहसँग भने २०५९ सालदेखि जोडिए। ‘दुई स्वास्नीको घर’ एल्बममा शाह र धामी एकसाथ देखिए। २०५६ सालमा ‘टलपलाएका आँशु’ नामक एल्बम बजारमा ल्याएर शाह देउडा गीत लेखनमा सक्रिय भएका थिए। २०५९ मै ‘आँशुको नासो’ गीति एल्बम बजारमा ल्याउने क्रममा बाजुराली र गीतकार शाहको सहकार्य भएको थियो।
त्यसपछि केही वर्ष आ–आफ्नै तरिकाले तिनै देउडा संगीतमा सक्रिय रहे।
पुराना कलाकारले ‘कमब्याक’
प्रविधिको विकास देउडाका लागि बाधक भइदियो। टेपरिकर्डको ठाउँ मोबाइलले लिँदा एल्बम बिक्न छाडे। क्यासेट किनेर भन्दा मेमोरी कार्डमा गीत सारेर सुन्न थालिएपछि देउडा गीतलाई करिअर बनाइरहेकाहरु लाखापाखा लाग्न बाध्य भए।
सात सयभन्दा बढी गीत लेखिसकेका शाह भन्छन्, ‘देउडा गीत गाउन चाहनेहरु नभएपछि मैले पनि पाँच वर्ष यो क्षेत्रबाट विश्राम लिएँ।’
देउडा गायनमा चर्चित भइसकेका धामीले पनि लत्तो छाडे। उनी पढाइ, व्यवसाय र अन्य काममा सक्रिय भए।
देउडा गायकका रुपमा करिअर बनाउने लक्ष्य लिएका बाजुरालीले भने यहीबीच अध्ययन र संगीत संयोजनतिर आफूलाई सक्रिय बनाए। सुदूरपश्चिम छाडेर पोखरा आइपुगेका उनी लोकदोहोरी गीतको संगीत संयोजन, गायन र लेखनमा अघि बढे। त्यसपछि काठमाडौं आएर उनले आफूलाई चर्चित संगीत संयोजक मात्रै बनाएनन्, रेकर्डिङ स्टुडियो पनि खोले। त्यसपछि देउडा गीतको भोक पनि सँगसँगै मेटाउँदै गए। बजारले नमागे पनि आफ्ना चाहनाले हरेक वर्ष उनले एउटा देउडा गीत बजारमा ल्याइरहेका छन्।
संगीत संयोजकका रुपमा बाजुरालीको दक्षता र स्टुडियो मालश्रीको रेकर्डिङ गुणस्तरले देउडालाई पुनर्जीवन दिन सघाएको गीतकार शाहको बुझाइ छ। उनी भन्छन्, ‘केही समय देउडा पछि पर्नुको कारण प्रविधिलाई राम्ररी उपयोग गर्न नसक्नु हो। प्रविधिको उपयोग गर्न नसक्दा गुणस्तरीय देउडा गीत आएन। स्रोताले रुचाएनन्।’
काठमाडौंको पुतलीसडकस्थित मालश्री रेकर्डिङ स्टुडियो देउडाप्रेमी सर्जकहरु एकीकृत गर्ने नयाँ थलोका रुपमा विकास भएको छ। जसका कारण देउडालाई नयाँ उचाइ दिन उनीहरुको समूह सफल भएको छ।
देउडाको दम फर्किएको नयाँ माहोलमा केही पुराना कलाकारले ‘कमब्याक’को प्रयास गरिरहेका छन्। नयाँ गायक/गायिका पनि लोभिएका छन्।
आधुनिक संगीतमा चर्चित रामचन्द्र काफ्लेले पनि लामो समयदेखि देउडा गाइरहेका छन्। प्रमोद खरेलले समेत अघिल्लो वर्षमात्रै आफ्नो स्वरमा देउडा भाका रेकर्ड गराए। फिल्म ‘सायद’, ‘छक्कापञ्जा’, ‘मी भर्जिन’लगायतमा पनि देउडालाई समेट्न खोजिएको छ।
परम्परागत देउडा गीतमै आफूलाई समाहित गरिरहेका नयाँ गायक/गायिकामा सूर्य विरही साउँद, शोभा थापा, चक्र बम, दीपक संगम बिसी, टेकबहादुर बोगटी, पुष्पा बोहरा, सुरेश शाही, टंक तिमिल्सिना र रेखा जोशी लगायत छन्। यीमध्ये गायिका थापाले विशेष डिजिटल रेकर्डिङ स्टुडियोमार्फत देउडामा पहिचान बनाउन खोज्ने कलाकारलाई सघाइरहेकी छिन्।
पहिल्यै चर्चित भइसकेका कलाकारहरु प्रकाश थापा, भुवन दाहाल, महेश औजी, संगीता शाह, हर्क खडायत, ध्वज महरा लगायत कलाकार पनि देउडामा आफ्नो विरासत फर्काउन लागिपरेका छन्।
परम्परागत देउडा झल्किने गीत संकलन गर्न सक्नेको भने अभाव छ। शाहबाहेक अहिले लक्ष्मण अधिकारी र सुशील बोहरा मात्रै परम्परागत देउडा गीत लेखनमा सक्रिय देखिएका छन्।
देउडा गीतको भन्दा सुदूर र कर्णाली क्षेत्रको भाषामा आधारित गीत बनाउनेहरुको होड पनि चलेको छ। मूलधारका संगीतकर्मी र फिल्मकर्मीले त्यहाँ भाषा र संगीतको अंश लिएर गीत बनाइरहेका छन्। तर, त्यो देउडा नभएको गीतकार शाह बताउँछन्। देउडा हुन निश्चित नियम र परिधिभित्र बस्नुपर्छ।
देउडा संगीतको मूलधारमा आइरहँदा गायक धामीलाई खुसी लागेको छ। ‘केही वर्षअघि मात्रै हो। देउडा मात्रै सुनिने क्षेत्रमा पनि अन्य गीतले कब्जा गरेका थिए। अहिले मूलधारमा समेत देउडाले हिस्सा खोजेको छ,’ उनको बुझाइ छ।
आधुनिक संगीतमा चर्चित रामचन्द्र काफ्लेले पनि लामो समयदेखि देउडा गाइरहेका छन्। प्रमोद खरेलले पनि अघिल्लो वर्षमात्रै आफ्नो स्वरमा देउडा भाका रेकर्ड गराए। फिल्म ‘सायद’, ‘छक्कापञ्जा’, ‘मी भर्जिन’लगायतमा पनि देउडालाई समेट्न खोजिएको छ।
के लोक गायक, के आधुनिक गायक; बाजुरालीलाई भेट्नेले देउडा गीत गाउन रुचि भएको बताउन थालेका छन्। उनी भन्छन्, ‘मौलिक संगीत फैलावट जरुरी छ तर मौलिकता नमर्ने गरी फैलिनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।