काठमाडौं। स्पेनका विश्वकप विजेता कप्तान रोड्री बार्सिलोना जाने तयारीमा छन्।
म्यानचेस्टर सिटी र बार्सिलोनाबीच रोड्रीको स्थानान्तरणका लागि ७६.५ मिलियन युरोमा सहमति भएको हो। ३० वर्षीय रोड्रीले गत महिना सम्पन्न विश्वकपमा स्पेनलाई उपाधि दिलाउने क्रममा रोड्री टोलीका महत्त्वपूर्ण खेलाडी थिए र उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा ‘गोल्डेन बल’ समेत जितेका थिए।
सन् २०१९ मा एट्लेटिको मड्रिडबाट उनी सिटी पुगेका थिए। उनले सन् २०२३ मा इन्टर मिलानविरुद्धको च्याम्पियन्स लिग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यसको अर्को वर्ष उनले बालोन डी’ओर जित्दै विश्वकै उत्कृष्ट खेलाडीको उपाधि हासिल गरेका थिए। त्यतिबेला उनी स्पेनको युरोपियन च्याम्पियनसिप विजेता टोलीका पनि महत्वपूर्ण सदस्य थिए।
रोड्रीको सिटीसँगको सम्झौतामा अब एक वर्ष मात्र बाँकी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।