काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ।
बुधबार राति सम्पन्न खेलमा ख्विचा क्वारात्स्खेलिया र डिजिरे डुएले गोल गर्दै पीएसजीलाई उपाधि दिलाएका हुन्। लगातार दुई पटक च्याम्पियन्स लिग जितेको पीएसजीले २०औं मिनेटमा क्वारात्स्खेलियाको सानदार गोलमार्फत अग्रता लिएको थियो।
उनले डिफेन्डर माटी क्यासलाई छलाउँदै उत्कृष्ट प्रहार गरेका थिए। तर‚ खेलको पहिलो हाफ सकिन केही सेकेन्डअघि एस्टन भिल्लाका १७ वर्षीय ब्रायन माड्जोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। जोन म्याकगिनको क्रसमा माड्जोले विलियन पाचोको दबाबबीच उत्कृष्ट भली प्रहार गर्दै बललाई जाली चुमाए।
योसँगै माड्जो यूईएफए सुपर कपमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने। जनवरीमा मेट्जबाट भिल्लामा आबद्ध भएका उनलाई फिफासँगको दर्ता विवादका कारण खेल्न अनुमति दिइएको थिएन। तर‚ खेलकुद मध्यस्थता अदालत (सीएसएस) ले भिल्लाको अपिल स्वीकार गरेपछि गत साता उनलाई खेल्ने अनुमति मिलेको थियो।
दोस्रो हाफको ६१औं मिनेटमा डुएले पीएसजीलाई पुनः अग्रता दिलाए। उस्मान डेम्बेलेको थ्रु बलमा तीव्र गतिमा अघि बढेका डुएले उत्कृष्ट ढंगले बललाई टाढाको कुनामा प्रहार गरे। सुरुमा अफसाइडको संकेत गरिएको भए पनि भीएआर समीक्षापछि गोललाई मान्यता दिइयो।
खेलपछि डुएले पीएसजीको महत्वाकांक्षा अझै ठूलो रहेको बताए। उनले टोलीले च्याम्पियन्स लिग जितेपछि पनि थप उपाधि जित्ने लक्ष्य राखेको र यो सिजन सबै उपाधि जित्न चाहेको बताएका छन्।
विश्वकपबाट धेरै खेलाडी हालै मात्र फर्किए पनि प्रशिक्षक लुइस एनरिकेले च्याम्पियन्स लिगको फाइनल जितेको टोलीका नौ खेलाडीलाई सुरुआती ११ मा राखेका थिए।
एस्टन भिल्लाले खेलको अन्त्यतिर बलमा राम्रो नियन्त्रण बनाए पनि पीएसजीले बलियो रक्षात्मक प्रदर्शन गर्दै दोस्रो बराबरी गोल हुन दिएन। यससँगै पीएसजी यूईएफए सुपर कप लगातार रक्षा गर्ने एसी मिलान र रियल मड्रिडपछि तेस्रो टोली बनेको छ। गत वर्ष टोटनह्याम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पीएसजीले पहिलो पटक सुपर कप जितेको थियो।
सन् २०२३ मा पीएसजीको प्रशिक्षक बनेयता लुइस एनरिकेको यो १३औं उपाधि हो। अर्कोतर्फ, एस्टन भिल्लाका प्रशिक्षक उनाइ एमरीले यूईएफए सुपर कपमा खेलेका चारवटै खेलमा हार बेहोरेका छन्।
पीएसजीले अब आइतबार लेन्सविरुद्ध फ्रेन्च सुपर कप खेल्दै नयाँ सिजनको अर्को उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।