काठमाडौँ –लेखक तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालाको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो । कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो ।
पत्रकार किशोर श्रेष्ठका अनुसार केही दिनअघि घरमै लडेर अचेत भएका थिए । कोइरालालाई तत्कालै अस्पताल लगिएको थियो । उपचारकै क्रममा आइतबार राति ९ बजे कोइरालाको निधन भएको हो ।
१९९५ वैशाखमा विराटनगरमा जन्मिएका कोइराला एक प्रखर लेखक तथा राजनीतिज्ञका रूपमा चिनिन्छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका कोइराला परिवारमा जन्मिएर पनि वामपन्थी विचार बोक्ने कोइरालाले राजनीतिमा जेलनेल र कठोर दिन व्यतीत गरेका थिए ।
छापा पत्रकारितामा लामो समय सक्रिय वरिष्ठ पत्रकार कोइरालाले २०४७ सालपछि दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गरेका थिए । त्यस समय विचारका हिसाबले ‘दृष्टि साप्ताहिक’ नेकपा एमाले निकट छापा माध्यम थियो । उनले लामो समय ‘साँघु साप्ताहिक’ मा स्तम्भ लेखनको कामसमेत गरेका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लाबाट निर्वाचित भएका कोइराला तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूतका रहेका थिए । सरल, मृदुभाषी र हास्यचेतसमेत राख्ने कोइरालाले एक सिद्धहस्त लेखक, पत्रकार, राजनीतिकर्मी र कूटनीतिक व्यक्तित्वका रूपमा योगदान गरेका थिए ।
स्वर्गीय कोइरालाका एक छोरा र एक छोरी छ्न् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।