काठमाडौं –विभिन्न क्षेत्रबाट खसीबोका ल्याएर काठमाडौं आउँदै गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार राति काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै खसीबोका बोकेको प्र३–०१–०२४ च ८३२२ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुनेमा गोरखाको भीमसेनथापा गाउँपालिका–४ घर भएका का ५० वर्षीय गोकुल पाण्डे रहेका छन् । उनलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
धादिङबाट काठमाडौं आउँदै गरेको गाडी विपरीत दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी, एसपी अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा गाडी चालक गोरखाको भीमसेनथापा–४ का ४१ वर्षीय जमालुदिन मियाँ र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् । एसपी बोहराका अनुसार भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकल र चालक मियाँको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।