काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकार हत्याको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको छ।
महासंघको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा थप आन्दोलनका कार्यक्रम तय गरेको हो।
बैठकले शनिबार क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन र घाइते सञ्चारकर्मी र सञ्चार सामग्रीको विवरण संकलन गर्ने, आइतबार कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने, सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाउने र मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गर्ने निर्णयसमेत गरेको छ।
यस्तै मारिएका पत्रकार सुरेश रजक सम्बद्ध सञ्चारगृह, उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली सदस्य रहेको समिति गठन गर्दै आन्दोलनका थप कार्यक्रम अवस्थाको विश्लेषणपछि तय गर्ने उल्लेख गरेको छ।
हिजो राजावादीको नाममा भएको आन्दोलनमा सहभागी अराजक समुहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न मिडिया हाउसमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चाार सामग्री हराएको घटनाको विरोधमा महासंघले आज देशव्यापी विरोध प्रदर्शन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।