काठमाडौं– वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ।
शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगन्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।
प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ।
मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो।
प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।