काठमाडौं– ब्रेन्ट दिमित्रुक आफूलाई 'भूकम्प पूर्वानुमानकर्ता'का रूपमा चिनाउँछन्।
मध्यअक्टोबरतिर उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्यालिफोर्नियामा भूकम्प आउने भविष्यवाणी गरे। सानो तटीय सहर यूरेकाको दक्षिणी भागमा अवस्थित क्यालिफोर्नियाको सबैभन्दा पश्चिमी बिन्दुमा भूकम्प जाने उनको दाबी थियो।
त्यसको दुई महिनापछि उत्तरी क्यालिफोर्नियामा ७.३ म्याग्निट्यूडको भूकम्प गयो। त्यस बेला लाखौँ मानिसहरू सुनामीको जोखिममा पनि परे।
उक्त भूकम्पपछि सामाजिक सञ्जालमा दिमित्रुकलाई 'फलो' गर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्यो। मानिसहरू उनले गर्ने पूर्वानुमानको प्रतीक्षामा हुन्थे।
"मैले गरिरहेको काम नपत्याउनेले भनिदिनुहोस् कि यो कसरी संयोग मात्रै हुन सक्छ? भूकम्प कहाँ जान्छ भनेर पत्ता लगाउन निकै गम्भीर सीप चाहिन्छ," नयाँ वर्षको पूर्वसन्ध्यामा उनले भने।
तर भूकम्पबारे अध्ययन गरिरहेका वैज्ञानिकहरू भूकम्प पूर्वानुमान गर्न नसकिने बताउँछन्। पूर्वानुमान गर्न नसकिने भएकैले भूकम्प चिन्ताको विषय हो।
उत्तरी अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा बसोबास गरिरहेका दशौँ लाख मानिसहरू "महाभूकम्प" आउन सक्ने डरमा छन्। त्यस्तो भूकम्पका कारण सो क्षेत्रना असङ्ख्य मानिस र दृश्यावली प्रभावित हुने चिन्ता छ।
विनाशकारी भूकम्प मिलाउन कठिन
तीन दशकभन्दा लामो समय अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसमा काम गरेकी र 'द विग वन्स' पुस्तककी लेखक तथा वैज्ञानिक लुसी जोन्सले आफ्नो अनुसन्धानको अधिकांश समय भूकम्पको जोखिमको अध्ययनमा बिताएकी छन्। उनले यस्ता प्रलयकारी घटनाको सामना गर्ने क्षमता विकास र सुधारमा आफ्नो समय खर्चिएकी छन्।
उनका अनुसार ठूलो भूकम्प कहाँ र कहिले ठूलो जान्छ भन्ने प्रश्नको उत्तर आफूले पत्ता लगाइसकेको दाबी गर्ने धेरै मानिसहरू थिए।
"मानिसहरू डराउनु एकदमै सामान्य हो। तर भूकम्प पूर्वानुमान गर्न सकिने सामर्थ्य छैन," उनी भन्छिन्।
हरेक वर्ष विश्वभरिमा एक लाखवटा भूकम्पहरू महसुस हुने यूएसजीएसले जनाएको छ। त्यसैले पनि मानिसहरू भूकम्पबारे पूर्वचेतावनी पाइयोस् भन्ने चाहन्छन्।
डिसेम्बरमा भूकम्प गएको सान फ्रान्सिस्कोभन्दा ४३४ किलोमिटर उत्तरमा रहेको यूरेकाको तटीय क्षेत्रमा गत वर्ष मात्रै ७०० वटा भूकम्प गएको तथ्याङ्कमा देखिन्छ। तीमध्ये १० वटा त एक साताभित्रै गएका थिए।
दिमित्रुकले भूकम्प जान्छ भनेर भविष्यवाणी मिलाएको ठाउँ अमेरिकामा "भूकम्पको सक्रिय क्षेत्र" मध्येमा पर्ने यूएसजीएसले जनाएको छ। तीनवटा टेक्टोनिक प्लेटहरूको मिलन हुने स्थान भएका कारणले यो क्षेत्रलाई 'मेन्डोसिनो ट्रिपल जङ्शन' भनिन्छ।
जमिनमुनि रहेका टेक्टोनिक प्लेटहरू माथिल्लो वा तल्लो भागमा वा दायाँबायाँ सर्दा तनाव उत्पन्न हुन्छ र त्यो तनाव निष्कासन हुँदा भूकम्प जान्छ।
त्यस कारण सो क्षेत्रमा भूकम्प जान्छ भन्नु सहज नभएको जोन्स बताउँछिन्। यद्यपि उनका अनुसार म्याग्निटयूड ७.० को भूकम्प निकै दुर्लभ हो।
यूएसजीएसका अनुसार सन् १९०० यता त्यो स्तर वा त्योभन्दा ठूला ११ वटा मात्रै भूकम्प सो क्षेत्रमा गएका छन्। तीमध्ये एउटाको पूर्वानुमान मिलेको हो। दिमित्रुकको अनुमान मिले पनि जोन्सले ठूला र विनाशकारी भूकम्प ठ्याक्कै मिलाउन कठिन रहेको बीबीसीले बताइन्।
उनका अनुसार भूकम्प निम्त्याउने भूगर्भीय कारकहरू निकै जटिल र "परिवर्तनशील" हुन्छन्। भूकम्पको म्याग्निट्यूड भूकम्प जान सुरु भएपछि मात्रै विकास हुन सक्ने उनको दाबी छ।
ठूलो भूकम्प कहिले जान्छ
वैज्ञानिकहरूलाई भूकम्प किन जान्छ भन्ने चाहिँ थाहा छ। त्यो भनेको 'फल्ट लाइन'हरूमा हुने हलचल हो। तर यूएसजीएस यसको पूर्वानुमान गर्न नसकिने बताउँछ।
"कुन समयमा र कसरी भूकम्प जान्छ भन्ने हामी निकट भविष्यमा पनि थाहा पाउने आशा गर्दैनौँ," यूएसजीएसले भनेको छ।
यद्यपि निश्चित वर्षहरूभित्र निश्चित क्षेत्रमा भूकम्प जान सक्ने सम्भावनाको हिसाब लगाउन सकिने उनको भनाइ छ।
भौगर्भिक अभिलेखहरूले "ठूला खालका" भूकम्पहरू आउने क्रम नियमित जस्तो हुने देखाएका छन्। 'क्यास्केडिआ सब्डक्शन जोन' प्रत्येक ३०० देखि ५०० वर्षको बीचमा सर्ने गरेको छ। परिणामस्वरूप उत्तरपश्चिमी प्रशान्त तटीय क्षेत्रमा १०० फिट अग्ला ठूला सुनामीहरू आउँछन्।
दक्षिणी क्यालिफोर्नियाको सान एन्ड्रिआस फल्ट पनि "ठूला भूकम्प"को अर्को कारक हो।
त्यहाँ पनि हरेक २०० देखि ३०० वर्षको अन्तरमा विनाशकारी भूकम्पहरू आउँछन्। सो क्षेत्रमा जुनसुकै समयमा पनि ठूला भूकम्प जान सक्ने विज्ञहरू बताउँछन्।
भूकम्प जाने भविष्यवाणी किन मिल्दैन
भूकम्पविद् जोन्स आफूले काम गर्ने क्रममा हजारौँ मानिसहरूले ठूला भूकम्पको पूर्वानुमान गर्दै आफूलाई सचेत गराएको बताउँछिन्। सन् ११९०को दशकमा पनि भूकम्पबारे मानिसहरूलाई सचेत गराइदिन आग्रह गर्दै कैयौँ फ्याक्सहरू आफ्नो कार्यालयमा आएका उनले बताइन्।
"हरेक साता भविष्यवाणी भइरहँदा कोही न कोहीले त मिलाउन सक्छ हैन त?" उनी भन्छिन्। "त्यसपछि उनीहरू हौसिएर अरू १० वटा भूकम्पको पूर्वानुमान गर्छन् र ती कुनै पनि मिल्दैनन्।"
दिमित्रुक वैज्ञानिक हैनन्। उनले पछि गरेका धेरै पूर्वानुमानहरू मिलेनन्।
उनले धेरै अगाडि दक्षिण पश्चिमी अलास्का टापु वा न्यूजील्यान्डको तटीय क्षेत्रमा १०.३ म्याग्निट्यूडको निकै ठूलो भूकम्प जाने र त्यसले विश्वव्यापी व्यापारमै असर पुग्ने सक्ने भविष्यवाणी गरेका थिए।
यूएसजीएसले कुनै पनि भूकम्पको भविष्यवाणी उपयोगी हुनका लागि तीनवटा कुरा हुनुपर्ने भनेको छ।
ती कुरा मिति र समय, भूकम्प जाने स्थान र भूकम्पको म्याग्निट्यूड हुन्।
तर दिमित्रीले तोक्ने समय परिवर्तन भइरहन्छ।
एकताका उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि वा कार्यकाल सुरु भएलगत्तै उक्त भूकम्प आउने दाबी गरेका थिए।
त्यसपछि उनले भविष्यवाणीको समय सार्दै सन् २०३० भन्दा अगाडि त्यस्तो भूकम्प आउने बताए।
दिमित्रुकले भविष्यवाणी गरेजत्रो भूकम्प अहिलेसम्म पृथ्वीमा मापन भएको छैन। तर उनले आफ्नो भविष्यवाणी कायमै राखेका छन्।
"मलाई संयोगले मात्रै मिलेको भन्ने लाग्दैन," दिमित्रुक आफ्नो भविष्यवाणीबारे बीबीसीसँग भन्छन्। "यो मनपरी भनिएको वा संयोगले मिलेको होइन।"
तर भूकम्पका हकमा धेरै मानिसहरूमा मानिसहरूमा यस्तो सोचाइ हुने जोन्सको दाबी छ।
"जथाभाबी आउने भूकम्पहरूमा पनि एउटा प्रवृत्तिजस्तो देखिन्छ। हामी तारामण्डलमा पनि नक्षत्रहरू देख्छौँ," उनी भन्छिन्।
"भूकम्पसँग धेरै मानिसहरू त्रसित हुन्छन्। त्यसको सामना गर्ने एउटा तरिका भविष्यवाणी पनि हो।"
अनिश्चित भूकम्पका लागि कस्तो तयारी
पूर्वानुमान गर्न नसकिने विषयलाई भूकम्पको पूर्वतयारी नगरी बस्नु ठिक हो भन्ने अर्थमा बुझ्न नहुने विज्ञहरू बताउँछन्।
दशौँ लाख अमेरिकीहरू प्रत्येक वर्ष अक्टोबरको तेस्रो मङ्गलवार विश्वकै सबैभन्दा ठूलो भूकम्प पूर्वतयारी अभ्यासमा सहभागी हुन्छन्। त्यसलाई 'द ग्रेट शेक आउट' भनिन्छ।
यसको आयोजना जोन्स सहितको समूहले स्थापना गरेको सदर्न क्यालिफोर्निया अर्थक्वेक सेन्टरले गर्दै आएको छ।
उक्त अभ्यासमा मानिसहरूले 'ड्रप, कभर र होल्ड' अर्थात् घुँडा टेकेर निहुरिने, टेबलजस्ता सामानमुनि लुक्ने र एक मिनेट त्यहीँ अडिनेजस्ता क्रियाकलाप गर्छन्।
यो अभ्यास निकै लोकप्रिय छ। भूकम्पको जोखिममा रहेको तटीय क्षेत्रबाट सुरु भएको यस्तो पूर्वाभ्यास अहिले अमेरिकाकै अन्य राज्य सहित विभिन्न देशमा पनि फैलिसकेको छ।
घरबाहिर रहेको अवस्थामा चाहिँ मानिसहरूलाई सकेसम्म रूख, घर वा विद्युत् प्रसारण लाइनहरू नभएको खुला ठाउँमा रहन सुझाव दिइएको छ।
समुद्री तटमा रहेका मानिसहरूलाई चाहिँ भूकम्प रोकिएपछि सम्भावित सुनामीबाट बच्न उच्च भूभागतर्फ भाग्ने अभ्यास गराइन्छ।
"जमिन कम्पन नभएको र नआत्तिएको समय अभ्यास गर्नका लागि सबैभन्दा उपयुक्त अवस्था हो," वाशिङ्टन स्टेट इमर्जन्सी डिभिजनका कार्यक्रम व्यवस्थापक ब्रायन टर्बुश भन्छन्।
र्वाभ्यासबाहेक पश्चिमी तटीय क्षेत्रमा पर्ने राज्यका बासिन्दाहरूले यूएसजीएसले उपलब्ध गराएको 'शेक अलर्ट' भनिने फोनमा चेतावनी जारी गरिने प्रणालीको पनि अभ्यास गर्छन्।
उक्त प्रणालीले भूकम्पका समयमा उत्पन्न हुने तरङ्ग पहिचान गरेर मानिसहरूलाई सतर्क गराउने काम गर्छ। यसले भूकम्प आउने समयबारे भविष्यवाणी गर्न नसके पनि भूकम्प आएको केही सेकेन्डमै त्यसले चेतावनी जारी गर्ने हुँदा त्यो जीवन बचाउन उपयोगी हुन सक्छ।
यो नै हालसम्म आविष्कार भएको भूकम्पको "भविष्यवाणी" गर्ने उपाय हो। बीबीसी नेपाली सेवाबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।