काठमाडौं– संघीय निजामती सेवा सम्बन्धी विधेयक संसदीय उपसमितिबाट पारित भएको छ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडू नेतृत्वको उपसमितिले विधेयकको प्रतिवेदन पारित गरेर मूल समितिमा बुझाएको छ।
बिहीबार सिंहदरवारस्थित समितिको सभाकक्षमा उपसमितिका संयोजक बडूले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई विधेयकको प्रतिवेदन बुझाएका हुन्।
विधेयकका अधिकांश विषयमा सहमति जुटाएको उपसमितिले अवकाश लगत्तै संवैधानिक नियुक्ति र परामर्शदाताको रुपमा काम गर्नका लागि निश्चित समय नपाउने (कुलिङ पिरियड) प्रावधानमा थप छलफल गर्न मूल समितिलाई सिफारिस गरेको छ।
उपसमितिले भने संवैधानिक निकायमा नियुक्तिका लागि १ वर्ष र अन्य संस्थामा परामर्शदाताको रूपमा काम गर्न २ वर्ष कुलिङ पिरियड राख्न उपयुक्त हुने प्रतिवेदनमा लेखेको छ।
अवकाशको उमेर ६० वर्ष बनाउनेमा सहमति छ। तर, ६० वर्ष उमेरको प्रावधान एकै पटकमा लागु गर्ने कि ५९ हुँदै ६० वर्ष पुर्याउने भन्ने प्रक्रियामा सहमति जुटेको छैन। यो विषयमा पनि मूल समितिमा थप छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।