काठमाडौँ – हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार ९ बजेतिर हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले घरको दोस्रो तलामा कोठाभित्र टाउको चोट लागेको अवस्थामा गुडिया मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दासलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको हो । राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।