एजेन्सी –साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत ब्राजिल विरुद्धको खेलमा ४–१ को सानदार जित निकालेको छ । घरेलु मैदानमा अर्जेन्टिना एकतर्फी जित दिलाउन जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले सान्त्वना गोल फर्काए ।
चौथो मिनेटमा अल्भारेजको गोलमा अर्जेन्टिनाले अग्रता लिएकाे थियाे । १२औं मिनेटमा नै फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर बनाए । २६औं मिनेटमा चुन्हाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने कोशिस गरे । ३७ औं मिनेटमा एलेस्टरले तेस्रो गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना ३–१ को अग्रता बनायो ।
खेलको ७१औं मिनेटमा सिमिवनको गोलमा अर्जेन्टिनाले ४–१ को सहज जित दर्ता गर्यो । दक्षिण अमेरिकाबाट विश्व कपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ । गएराति राति दक्षिण अमेरिकी छनोटमा उरुग्वे र बोलिभियाले गोलरहित बराबरी खेलेपछि शीर्ष स्थानको अर्जेन्टिना विश्वकपमा स्थान बनाइसकेको हो । शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अंक पुगेको छ । ब्राजिल १४ खेलमा २१ अंकका साथ चौथो स्थानमा छ ।
शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको अर्जेन्टिनाले अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकी टिम बनेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले अघिल्लो पटक फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो । साथै कोपा अमेरिकाको उपाधि पनि जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।