जनकपुर – जनकपुरमा सम्पन्न सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनले क्यान्सर उपचारमा समान पहुँच हुनुपर्नेमा जोड दिइएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सम्मेलनमा अमेरिका, चिन, नेपाल र भारतका क्यान्सर रोगका विशेषज्ञ चिकित्सकहरु सहभागी थिए ।
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा. विनय शाहका अनुसार क्यान्सरको पहिचान र उपचार पद्धति र प्रविधिको विकास तीव्र गतिमा भएपनि उपचारमा असमानता कायम छ । ‘हामीले सम्मेलनमा विभिन्न चिकित्सकका अनुसन्धान, अनुवभ र कार्यपत्रमाथि छलफल गर्यौंप । उपचार प्रविधि र पद्धतिका विषयमा पनि कुरा गर्यौ र साथै क्यान्सर पहिचान र उपचारमा विभेद रहेकाले समानताका पक्षमा वकालत गर्ने निष्कर्ष समेत निकालेका छौं।’ जनकपुरमा नै उक्त सम्मेलन गरिरहनुको उद्देश्य पनि मधेश प्रदेशमा क्यान्सर पहिचान र उपचारको अभावलाई उजागर गर्नु रहेको बताए ।
सम्मेलनको चेयर समेत रहेका नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. कपेन्द्रशेखर अमात्यले यस्ता सम्मेलन र छलफलले आमजनमा जनचेतना फैलाउनुका साथै चिकित्सा अभ्यासमा थप निखारता ल्याउने बताए। उनले भने, ‘सम्मेलनमा क्यान्सर उपचारका विषयमा विश्वका चिकित्सकले अभ्यास गरिरहेका नवीनतम उपचार प्रविधि, पद्धति र अनुभवका छलफल भएको छ ।’ विभिन्न देश र अस्पतालहरुमा रहेका उपचार गरिरहेका चिकित्सक र अध्येताले एकअर्काबाट ज्ञान आदान–प्रदान गर्न यसको आयोजना गरिएको उनले बताए ।
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा. मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भएको उल्लेख गरे । उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ ।’
शुक्रबार सुरु भएको सम्मेलनको सुरुवाती प्रस्तुति हेड एन्ड नेक क्यान्सरका विषयमा रहेको थियो । जहाँ सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एन्ड क्यान्सर’का विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए । डा. बजरङ्ग साहले अध्यक्षता गरेको सेसनमा अमेरिकाको माय सेन्ट जोनमा कार्यरत चिकित्सक डा. दिनेश क्षेत्रीले केसमा(आधारित छलफल चलाएका थिए ।
दिउसो ३ देखि ४ बजेसम्म अब्स्ट्र्याक्ट प्रिजेन्टेसन सेसन रहेको थियो । जहाँ डा. रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने विभिन्न अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए ।
‘हेमाटोलोजी मेलिग्न्यान्स (रक्तक्यान्सरको जटिल अवस्था)’ विषयमा पनि वैज्ञानिक छलफल भएको थियो। जहाँ डा. सजिन राजभण्डारी र अमित श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।
डा. श्रेष्ठले रिसेन्ट एडभान्स इन द म्यानेजमेन्ट अफ डीएलबीसीएलका आफ्नो प्रस्तुति राखेका थिए भने हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिकाबाट आएका डा. श्रीनिवास के तन्त्रावाहीले एक्युट ल्युकेमियामा तार्गेटेड थेरापीका विषयमा आफ्नो विज्ञता र अनुभव साझा गरेका थिए ।
शुक्रबारको अन्तिम सेसनका रुपमा ‘ट्युमरबोर्ड–स्टाइल डिसकसन–च्यालेन्जिङ केसेस’ रहेको थियो । जहाँ स्टेनफोर्ड हेल्थकेयर, अमेरिकाका डा. मार्क पेग्रामले चेयर गरेका थिए । जहाँ डा. रजनी झा, डा. सारदा खड्का, डा. कपेन्द्रशेखर अमात्य, डा. पेग्राम र डा. राजीव झाले आफ्ना केसहरु प्रस्तुत गरेका थिए । ती केसमाथि चिकित्सकीय दृष्टिकोणबाट छलफल भएको थियो ।
शनिबार गाइनोक्लोजी क्यान्सरका विषयमा छलफलबाट सम्मेलन सुरु गरिएको थियो । जसको सेसन चेयरका रुपमा डा. जितेन्द्र परियार रहेका थिए भने अमेरिकाबाट आएका क्यान्सर रोग विशेषज्ञ डा. यिङ लियुले सर्भाइकल क्यान्सर स्क्रिनिङका विषयमा प्रस्तुति राखेकी थिइन् । डा. रमेश श्रेष्ठको केस–बेस्ड प्रस्तुति रहेको थियो । डा. विवेक घोषसहित प्यानल डिस्कसन भएको थियो ।
दोस्रो ब्रेस्ट क्यान्सरका विषयमा थियो जहाँ डा. पेग्रामले सेसनको चेयर गर्नुका साथै सिस्टम थेरापीका विषयमा अपडेट गरेका थिए । डा. विप्लव यादवले युवा बिरामीमा ब्रेस्ट क्यान्सर पहिचानका जोखिमबारे प्रस्तुति दिएका थिए । त्यस्तै डा. सुजिता हिराचन, डा. रञ्जना कर्माचार्य, डा. रमिला शिल्पाकरले केस–बेस्ड प्रिजेन्टेसन गरेका थिए ।
अर्को सेसन फोक्सोको क्यान्सरका विषयमा थिए । जहाँ डा. अस्मिता रायमाझीले सेसन चेयर गरेकी थिइन् । डा. सुदिप श्रेष्ठले ‘अपडेट्स इन द म्यानेजमेन्ट अफ एनएससीएलसी’ शिर्षकमा र डा. विवेक घोषले केस–बेस्ड प्रस्तुति दिएका थिए । डा. सत्यदीप भट्टाचार्य चेयर रहो अर्को सेसनमा डा. पुन्यराम खर्बुजा र डा. अस्मिता रायमाझीको प्रस्तुति रहेको थियो ।
डा. सञ्जय कपुर चेयर रहेको अर्को सेसनमा ुसर्पोर्टिभ केयरु शिर्षकमा छलफल भएको थियो भने डा. विवेक घोष चेयर रहेको सेसनमा डा. राजी शर्मा, डा. विवेक घोष र डा उमेश नेपालले विभिन्न क्यान्सरका विषयमा छलफल गरेका थिए ।
क्यान्सर सम्मेलनको आयोजक विनयतारा फाउन्डेसन हो । जुन अमेरिकामा दर्ता भएको गैरनाफामुखी संस्था हो । फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । फाउन्डेसनले अमेरिकामा क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।