काठमाडौँ – सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुङ्ग्याउने काम प्रयास भइरहेको बताएका छन्।
आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुङ्गो लगाउने काममा लागिरहेको बताए।
उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा प्रयोग गर्न सक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताए। सभामुख घिमिरेले सङ्घीय निजामती सेवा ऐनको अभावले प्रशासनिक सङ्घीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताए।
‘संसदमा विचाराधीन निजामतिसँगै प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक शिघ्र टुंग्याउने प्रयासमा हामी लागिरहेका छौँ,’ सभामुख घिमिरेले भने, ‘त्यसले केही हदसम्म बाटो खोल्ने कुरामा हामी आशावादी छौँ। यसलाई छिट्टै पूरा गर्न सबैको सहयोगको अपेक्षा गर्दछु। वित्तीय संघीयताको पक्ष सन्तोषजनक छ।’
संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको भन्दै उनले योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु सङ्घीयताको मर्मअनुसार नभएको बताए। सङ्घीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरूलाई क्रियाशील बनाउन जरुरी रहेको बताए।
उनले सङ्घीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र सङ्घीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले वित्तीय सङ्घीयताको पक्ष सन्तोषजनक रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।