भक्तपुर – राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक समेत थिए । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहेका उनी हाल गणेशमान सिंह स्मृति बाटिकाको समेत अध्यक्ष थिए ।
पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहेका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिएका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । उनी २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त भएका थिए । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।