काठमाडौँ – विश्वकप २०२६ दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियामाथि २–१ को नाटकीय जित हासिल गरेको छ । पाँचपल्टको विश्वकप च्याम्पियन ब्राजिलले ब्राजिलियामा भएको खेलको छैटौं मिनेटमा नै अग्रता लिएको थियो । राफिन्हाको पेनाल्टी गोलबाट ब्राजिलले अग्रता लिएको हो । तर, ४१औं मिनेटमा लुइज डियाजको गोलबाट कोलम्बिया खेलमा फर्किन सफल रह्यो ।
दोस्रो हाफमा निकै दबाब सामना गरे पनि कोलम्बिया खेल समाल्न सफल भइरहेको थियो । तर, रियाल मड्रिडका विंगर भिनिसियस नाटकीय गोल गर्न सफल भए । यो जितसँगै ब्राजिल १० देश सम्मिलित दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा उक्लिन सफल भयो । यस क्षेत्रबाट ६ राष्ट्रले आगामी वर्ष क्यानडा, अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा हुने विश्वकपमा स्थान बनाउनेछन् । ब्राजिलका प्रशिक्षक डोरिभल जुनियरका लागि यो जितले दबाब केही मात्रामा कम भएको छ ।
किनकि अब ब्राजिलले आगामी खेल लियोनल स्कालोनीको अर्जेन्टिनासँग खेल्नेछ । यी दुई दक्षिण अमेरिकी पावर हाउस पछिल्लोपल्ट सन् २०२३ मा रियो दि जेनेरियोमा भेट भएका थिए । जुन नतिजा १–० ले अर्जेन्टिनाको पक्षमा रहेको थियो । अर्जेन्टिना ब्राजिलभन्दा अंकतालिकामा बलियो स्थिति र सन् २०२६ को विश्वकपनजिक पनि छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।