काठमाडौं – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टिम उरुग्वेलाई १–० ले हराएको छ । केहीबेरअघि उरुग्वेको रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीलाई हराउँदै विश्वविजेता अर्जेन्टिनाले संघर्षपूर्ण जित हात परेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । घरेलु टोली उरुग्वेको तुलनामा पोस्ट अटेम्प्टमा निकै अघि देखिएको अर्जेन्टिनाले पहिलो हाफमा राम्रा अवसर बनाएको भएपनि गोलमा सफल हुन सकेन । उरुग्वेका पनि पाँच प्रहार खेर गएका थिए ।
डार्बिन नुनेजले लिड गरेको उरुग्वेको अग्रपंतिले पनि अट्याकिङ थर्डमा राम्रो प्रभाव जमाउन नसक्दा प्रशिक्षक मार्सेलो बिएल्साले उनलाई ७२ मिनेटमा प्रतिस्थापित गरे । यता, दोस्रो हाफको ६८औं मिनेटमा अर्जेन्टिनाले डेडलक तोड्यो । जुलियन अल्वारेजले मिलाइदिएको पासमा थियागो अल्माडाले गोल गरे ।
त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा अर्जेन्टिना विजयी भएको हो । खेलको इन्ज्युरी समयमा निकोलस गोन्जालेजले रातो कार्ड ब्यहोरेपछि अर्जेन्टिना केही समयको लागि १० खेलाडीमा समेटिएको थियो । दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपकपमा छनोट हुनेछन् । अहिले अर्जेन्टिना शीर्षस्थानमा छ। उसले १३ खेलबाट २८ अंक जोडेको छ । आजको खेलमा स्टार फुटबलर लियोनल मेस्सीले भने खेलेका थिएनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।