काठमाडौं- लेख्दा प्रस्ट भएन भने व्यंग्य स्वरुप 'चिकित्सकीय भाषा' भन्ने गरिएको छ। बिरामीलाई औषधि सिफारिस गर्दा चिकित्सकको लेखाइ नबुझिने भएपछि नेपाल मेडिकल काउन्सिलले 'गुड क्लिनिकल प्य्राक्टिस' गाइडलाइन नै बनाएको छ।
उक्त गाइडलाइनमा प्रेस्क्रिप्सन लेखनलाई लिएर केही बुँदा उल्लेख छ। जसको अन्तिम बुँदामा भनिएको छ- १. स्पष्ट र पढ्न सकिने रूपमा लेखिनुपर्छ, र उचित मात्रा (डोज) सम्बन्धी निर्देशन स्पष्ट रूपमा उल्लेख गरिनुपर्छ।
२. औषधि लेख्नुअघि कार्यगत निदान (वर्किंग डाइग्नोसिस) अनिवार्य रूपमा गर्नुपर्छ।
३. जेनेरिक नाम लेख्न जोड दिइन्छ।
४. औषधि लेख्ने चिकित्सकको स्पष्ट पहिचान (पूरा नाम र एनएमसी नम्बर) अनिवार्य रूपमा उल्लेख गरिनुपर्छ।
काउन्सिलले यस विषयलाई लिएर पटक-पटक सचेत गराएपनि केही चिकित्सकले भने 'नानीदेखिको बानी' कायम राखेको पाइन्छ। त्यसको पछिल्लो उदाहरण यो प्रेस्क्रिप्सन हो।
प्रेस्क्रिप्सनमा उल्लेख नाम फार्मेसीमा समेत नबुझिएपछि स्वास्थ्यखबरलाई 'बिज्ञबाट नाम थाहा पाइदिन' लेखिपठाइएको हो। नारायणी अस्पतालको ओपीडी कार्ड रहेकाले त्यहीँ कार्यरत चिकित्सकले यस्तो अक्षरमा प्रेस्क्रिप्सन लेखेको देखिन्छ।
काउन्सिलले उल्लेख गरेअनुसार प्रेस्क्राइबकर्ताको नाम, एनएमसी नम्बर केही उल्लेख छैन। ओपीडी कार्डमा चिकित्सकको नामको ठाउँमा 'ओपीडी डाक्टर' उल्लेख छ। जसले यस्तो अक्षरमा औषधि लेख्ने चिकित्सक फेरि भेट्न समेत ती बिरामीलाई सकस हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।