काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले कम ब्याक जित निकाल्दै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । महत्त्वपूर्ण खेलमा शानदार कम ब्याक गर्दै बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई ४–२ ले हराएको हो । सो खेलमा भ्रमणकारी टोली बार्सिलोनालाई जित दिलाउने क्रममा इन्जुरी समयमा लामिन यमाल र फेरान टोरेसले गोल गरे ।
जीतपछि रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिको तेस्रो स्थानमा यथावतै छ । खेलमा २० मिनेट बाँकी रहँदासम्म एट्लेटिको २–० ले अघि थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा जुलियन अल्भारेजले म्याड्रिडलाई अग्रता दिलाएका थिए । ७० औँ मिनेटमा अलेक्जेन्डर सोर्लोथले म्याड्रिडका लागि अर्को गोल गरे ।
रोबर्ट लेवान्डोस्कीले ७२ औँ मिनेटमा गोल गरेको सो खेलमा बार्सिलोनाका लागि ७८ औँ मिनेटमा टोरसले बराबरी गोल गरे । बराबरीकै सकिने सम्भावना रहेको खेलमा यमालले बार्सिलोनालाई इन्जुरी समयमा अग्रता दिलाएका थिए । इन्जुरी समयमा नै टोरेसले अर्को गोल गरे ।
स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएका अन्य खेलमा एटलेटिक क्लबले सेभियालाई १–० ले र गेटाफेले ओसासुनालाई २–१ ले हराए । रियल बेटिसले लेगानेसलाई ३–२ ले हरायो । रायो भल्कानो र रियल सोसिडाडबिचको खेलमा २–२ गोलको बराबरी भयो । बार्सिलोना र रियल म्याड्रिड दुवैको ६० अङ्क भए पनि बार्सिलोना पहिलो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।