काठमाडौं– युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ।
आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो।
नेपालले सिरिजमा युगाण्डा र हङकङसँग समान १ जित र हार बेहोरेको थियो । नामिबियासँग भने दुवै खेलमा पराजित भएको थियो । उता, हङकङ भने नेपाल, नामिबिया र युगाण्डासँग समान १ पटक विजयी र पराजित भएको थियो ।
लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हासिल गरेको थियो । लिग चरणमा नै भएको पहिलो भेटमा भने हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।
सिरिजको उपाधिका लागि आजै आयोजक युगाण्डा र नामिबियाबीच खेल हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।